काठमाडौं- उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा नेतृत्वको फरच्युना हेल्थ केयरले नेपालमै सिरिन्ज उत्पािदन थालेको छ। कम्पनीले बिहिबार आफ्नो उत्पादन बजारमा आएको औपचारिक घोषणा गरेको हो।
'स्वस्थ जीवन, समृद्ध नेपाल' मुख्य थिम बनाएको उक्त कम्पनीका उत्पादनहरुलाई उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक कार्यक्रमबीच सार्वजनिक गरेका छन्।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा सिरिन्जमा देशको अर्बौं बिदेशिरहेको बताउँदै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले नेपालमै उत्पादन हुन थालेकोमा खुशी ब्यक्त गरे। उनले भने, 'सुई नलगाएको मान्छे कोही यो कार्यक्रममा उपस्थित छैन होला। सवैले जीवनमा एकपल्ट प्रयोग गरेको र मानव स्वास्थ्यका लागि अभिन्त बनेको सुईको उत्पादन नेपालमै हुन थालेको छ। यसले अहिले विदेशिरहेको नेपाली मुद्रा समेत रोक्न सघाउनेछ।'
आर्थिक गतिविधिका हिसाबले असहज समयमा कम्पनी स्थापना गरेर बजारको हौसला बढाएकोमा आभार प्रकट गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र नाफाका लागि मात्रै लगानी गरिरहेको भ्रम तोड्न यस्ता कम्पनीले सघाउने बताए। देशलाई समृद्ध बनाउनुका साथै सेवाका लागि पनि लगानी गरिने उनले बताए।
अर्थतन्त्रको वर्तमान अवस्था बन्नुमा सरोकारवाला निकायले आफ्नो 'प्रेस्क्रिप्सन'लाई गम्भीर रुपमा नलिनु रहेको उनको भनाइ थियो। उनले थपे, 'डाक्टरसाबहरु यहाँ हुनुहुन्छ। उहाँहरुले बिरामीलाई औषधिका लागि प्रेस्क्रिप्सन दिएजस्तै हामीले सरकारलाई अर्थतन्त्र जोगाउने प्रेस्क्रिप्सन दिएकै थियौं। तर गम्भीर रुपमा लिइएन।'
औषधि व्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमै सिरिन्ज उत्पादन खुशी विषय रहेको बताउँदै गुणस्तरमा ध्यान दिन सचेत गराए।
फरच्युना हेल्थ केयरकी अध्यक्ष भवानी राणाले सिरिन्ज उत्पादन गर्न नेपाल सक्षम रहेको दर्शाउनुका साथै गुणस्तरीय उत्पादनमा जोड दिने उल्लेख गरिन्। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यासलाई आत्मसाथ गरिने उनले प्रतिबद्धता व्यक्त गरिन्।
उनले भनिन्, 'स्वास्थ्य क्षेत्रमा सेवा, व्यापार घाटामा न्युनिकरण र स्वेदशमै रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हो।' कम्पनीले आईभी क्यानुला, उच्चस्तरीय ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आईभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आईपी, गज, आईभी सेट, यूरिन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको प्रबन्ध निर्देशक ईश्वर जिसीले बताएका छन्।