काठमाडौं- सामान्यतया बिरामीहरु अस्पताल धाइरहेका हुन्छन्। तर, धुलिखेल त्यस्तो अस्पताल बनेको छ, जो बिरामीकहाँ धाइरहेको छ। विभिन्न चार प्रदेशका १८ ठाउँमा अस्पताल आफैं पुगेको छ। अर्थात् त्यति ठाउँमा अस्पतालको 'आउटरिच' छन्। विभिन्न जिल्लाका ग्रामीण भेगमा रहेका आउटरिचमार्फत् अस्पतालले विशेषज्ञ सेवा दिइरहेको छ।
२८ वर्षदेखि काभ्रेको धुलिखेलमा रहेर देशकै अग्रणी स्वास्थ्य सेवा प्रदायकका रुपमा स्थापित उक्त संस्थाले दूरदराजमा पनि आफूलाई विस्तार गरिरहेको छ। त्यहाँ उसले अस्पताल मात्रै सञ्चालन गरेको छैन, समुदायसँग जोडिन सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ।
अस्पतालका संस्थापक तथा निर्देशक रामकण्ठ मकाजु भन्छन्- 'ग्रामिण क्षेत्रका स्वास्थ्यमा पहुँच नभएकाका लागि अस्पताल खोलिएको हो। म २०५३ सालमा यहाँ अस्पताल खोल्न आउँदा ९० प्रतिशतले चप्पल लगाउँदैनथे।'
झन्डै तीन दशकको यो समायान्तरमा धेरै परिवर्तन भएका छन्। डा मकाजुले गाउँ भनेर खोलेको धुलिखेल अस्पतालसम्मै सहर पुगेको छ। अष्ट्रियाबाट सिधै गाउँमा सेवा दिन आइपुगेका उनको रहरको ठाउँ सहर होइन। त्यसैले उनी फेरि गाउँ पस्ने उपायतिर लागे। धुलिखेल अस्पताल छाडेर गाउँ पस्न सम्भव थिएन। उनले 'आउटरिच' भन्दै बरु धुलिखेल अस्पताललाई नै गाउँतिर पठाए।
गाउँसँग उनको बढ्तै प्रेम हुनुका अनेक कारण होलान्। त्यससँग जोडिएर उनीसँग प्रश्न सोध्दा आउने अनेक उत्तर आउलान्। केही दिनअघि स्टाफमिटिङका क्रममा अर्कै प्रसंगमा उनले दुईटा महत्वपूर्ण कुरा बताए।
पहिलो थियो- सवैको पहुँचमा स्वास्थ्य मात्रै होइन, गुणस्तरीय स्वास्थ्य हुनुपर्छ। किड्नीको ढुंगाले गरिब-धनी भन्दैन। गरिब र धनीका अंगहरु फरक हुँदैनन्।
अर्को थियो- मैले त्यस्तो नेपाली भेटेको छैन। जसलाई केही दिँदा उसले केही न केही नफर्काओस्।
उनी झन्डै तीन दशकदेखि गाउँको पहुँचमा गुणस्तरीय स्वास्थ्य पुर्याउने प्रयासमा छन्। गाउँले पनि उनलाई एउटा सेवी चिकित्सकको पहिचान दिएको छ।
बरु उनलाई कहीँ न कहीँ त्रास भइरहदो रहेछ- कतै गाउँ भन्दा छुट्टै पो देखिन्छु कि? शब्दमा उनले यसरी प्रस्तुत गरेनन्। उनले आफ्नो कार्यकक्ष देखाउने क्रममा त्यो झल्कियो। नेपालका धेरै अस्पतालमा देखिने 'निर्देशकको कार्यकक्ष'को मापदण्ड पूरा गर्न सफल थिएन।
नजिकै एउटा कागज टाँसिएको थियो। जहाँ उल्लेख अंग्रेजी भनाइको आशय थियो, 'त्यसका लागि काम गर्नुहोस्, जसका कारण तपाईंले आफ्नो परिचय दिइरहन नपरोस्।'
डा मकाजुले अब आफ्नो परिचय दिनुपर्ने अवस्था छैन। उनको परिचय, पहिचान र जीवन नै धुलिखेल अस्पताल हो। तर, उनी काम गरिरहेका छन्। किनभने त्यसको माथि गउर गोपाल दासको भनाइ छ- 'एक्सनबिनाको भिजन दिवास्वप्न हो। भिजनबिनाको एक्सन रात्रीकालिन सपना हो।'
केही दिनअघि उनलाई लागेछ- सबैथोक सहर पसेको छ। पत्रकारिता पनि सहरतिरै पो पस्यो कि? स्वास्थ्य उपचारमा रहेको आफ्नो ज्ञानलाई सञ्चारमाध्यमबाट आमजनसम्म पुर्याउनुपर्छ भन्ने मान्यता राख्ने सोही अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा सुमनराज ताम्राकारलाई अघि लगाएर काठमाडौंका केही स्वास्थ्य पत्रकारलाई गाउँतिर पठाए। दोलखाको चरिकोट र किर्नेटारमा रहेका आफ्ना आउटरिचहरुको अवलोकन गरुन् भन्ने भित्री उद्देश्य रहेछ। स्वास्थ्य पत्रकार मञ्च नामक संस्थासँग मिलेर ग्रामिण स्वास्थ्य र पत्रकारिता सम्बन्धी दुईदिने कार्यशाला थियो।
अहिले सर्ने र नसर्ने दुबै रोग गाउँ पसेका छन्। जीवनशैली परिवर्तन भएको छ। जलवायु परिवर्तनको असर छँदैछ । पहाडमा समेत लामखुट्टेबाट सर्ने रोग पुगेका छन्। तारेभीरको पेटमा खोस्रीरहेको डोजरसँगै गाउँ पुगेका गाडीमोटर, त्यसैमा चढेर पुगेका जंकफुडले नसर्ने रोग पुर्याएको छ। स्वास्थ्य सेवा गाउँतिर बामे सरिरहेको छ।
स्वास्थ्य शिक्षा अझै पुग्नु पर्ने जसरी गाउँमा पुगेको छैन। त्यसैले स्वास्थ्य पत्रकारका लागि विषय नै विषय छन्। चिकित्सा विज्ञका तर्फबाट आफ्नो प्रस्तुति राखेका डा ताम्राकार र पत्रकारका तर्फबाट 'पावर-प्वाइन्ट' बनाएका स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकाल दुबैले यस्तै साझा निष्कर्ष निकाले। अर्थात् चार्ल्स ए डाना स्वास्थ्य पत्रकारितमा अप्रासांगिक भएका छन्- अब कुकुरले मान्छेलाई टोक्यो भने पनि समाचार बन्छ। त्यसले निम्त्याउने रेबिज र सर्वसुलभ नबनेको रेबिजको सुइ समाचारका विषय हुन्।
धुलिखेल अस्पतालले दोलखाको चरिकोटमा रहेको अस्पतालको बैठक हलमा यति निष्कर्ष निस्केपछि अस्पताल भ्रमण थियो। जहाँ धुलिखेलले विशेषज्ञ सेवासहितको उपचार सेवा दिइरहेको छ। अस्पतालका इन्चार्ज डा शैलेस श्रेष्ठले आफूले त्यहाँ दिइरहेको स्वास्थ्य सेवाका विषयमा विस्तृतमा बुझाए।
त्यसैमा जोडेको रहेछ- 'समुदाय स्वास्थ्य सहयोग' कार्यक्रम। गैरसरकारी संस्था सम्भव (पोसिवल)की कार्यक्रम संयोजक लक्ष्मी भट्टराईले चारवटा गाउँपालिकामा उक्त कार्यक्रम रहेको बताइन्। जसको लक्ष्य हो, रोग लाग्न नदिने र सुरक्षित प्रसुति सेवाका लागि सहजीकरण र सहयोग। जसका लागि ४४ जना पूर्णकालीन 'कम्युनिटी हेल्थ वर्कर' खटाइएको भट्टराईले बताइन्। जहाँ प्रविधिको प्रयोगबाट समेत स्वास्थ्यमा सहजिकरण भइरहेको उनको भनाइ थियो। जसका कारण संस्थागत सुत्केरी ३० प्रतिशत बढाएको तथ्यांक उनीहरुसँग छ। सामाजिक स्वास्थ्य कार्यकर्तासँग विश्वास र निकटताका स-साना स्वास्थ्य समस्यामा पनि उनीहरु सचेत हुन थालेका छन्।
अस्पतालले समुदायको आय-आर्जनका लागि 'माइक्रो फाइनान्सिङ' गरिरहेको छ। जहाँ उनीहरुले २५ हजार रुपैयाँसम्म जम्मा ४ प्रतिशत ब्याजमा पाउँछन्। त्यसबाट उनीहरुले पशुपालन, माछापालन, तरकारी खेती र कपडा उत्पादन गर्ने गरेको डा ताम्राकार बताउँछन्।
अस्पताललाई यस्ता आइडियामा विभिन्न संघ-संस्थाले सघाएका छन्। ग्रामिण स्वास्थ्यका लागि निरन्तर सक्रिय मात्रै होइन, मानव स्वास्थ्यमा संकटमा धुलिखेल अस्पतालले आफूलाई प्रमाणित गरेको छ। डा श्रेया श्रेष्ठले जसलाई भिडियोमार्फत् देखाइन्। बिरामीकै घरदैलोमा उपचार सेवा पुर्याउने मोडल अहिले नेपालका लागि प्रभावकारी देखिएको छ। गंगालाल अस्पताल, पाटन अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले पनि यसलाई अपनाइरहेका छन्।