विराटनगर- इन्ट्रा फाउण्डेसनको सहयोगमा प्राप्त दुई वटा एम्बुलेन्स यहाँस्थित दुई वटा शिविरमा प्रयोग गर्ने गरी पथरी र दमक नगरपालिकाहरुलाई प्रदान गरिएको छ । दमकमा रहेको बेलडागी शिविर र पथरीको शनिश्चरे शिविरलाई आज एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले एम्बुलेन्स हस्तान्तरण गरे।
सो अवसरमा उनले मोरङको पथरी शनिश्चरे–१० मा स्वास्थ्यचौकीको शुभारम्भ समेत गरे। सो स्वास्थ्यचौकी उक्त फाउन्डेसनको सहयोगमा निर्माण भएको हो । भुटानबाट नेपाल हुँदै तेस्रो मलुक पुनःस्थापनाका क्रममा छुटेका भुटानी शरणार्थीलाई लक्षित गर्दै स्वास्थ्य चौकी सुरु गरिएको हो । इन्ट्रा फाउण्डेशन र फाउन्डेसनका संस्थापक डिल्ली अधिकारीको सामुदायिक परियोजनाअन्तर्गत शिविरमा पाँच शय्याको स्वास्थ्य चौकी सुरु गरिएको जनाइएको छ ।
सोही अवसरमा उक्त फाउन्डेसनको सहयोगमा निर्माण भएको इन्ट्रा भवनको पनि उहाँहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए। सो भवन सामुदायिक सेवाका लागि बहुउपयोग गर्न सकिने बताइएको छ ।
त्यसअवसरमा मुख्यमन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली लगानीकर्ताका लागि कोशी प्रदेशमा लगानी गर्न आह्वान गरे । उनले कोशी प्रदेशमा लगानी गर्न आग्रह गर्दै लगानीका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए।
उनले इन्ट्रा फाउन्डेसन र संस्थापक डिल्ली अधिकारीले पुर्याभएको योगदानको चर्चा गर्दै शिविर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिने समेत उल्लेख गरे। साथै मुख्यमन्त्री कार्कीले संसारभरका नेपाली जातीलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नका लागि सो फाउन्डेसनल र त्यसमार्फत अधिकारीले गरेको पहलको पनि प्रशंसा गरे ।
इन्ट्रा फाउण्डेशनका संस्थापक डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकजुट गराउने उद्देश्यका साथ इन्ट्रा फाउण्डेसन अफ अमेरिकाको स्थापना भएको बताए। उनले भने, 'इन्ट्रा फाउण्डेशनले विश्वका जहाँ–जहाँ नेपाली छन् त्यहाँ–त्यहाँ नेपालीको पहिचान र संरक्षणका लागि काम गर्दै आएको छ । यसको मूल उद्देश्य नेपाल र नेपालीको सेवा गर्नु हो।'
सो फाउन्डेसनले पूर्वी नेपालका यी शिविरहरुमा रहेका अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई आर्थिक सहायता पनि उपलब्ध गराउँदै आएको छ ।