काठमाडौं- भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मंगलबार दुई थरी तस्बिर देखिएको थियो। पहिलो केन्द्रको १२औं वार्षिकोत्सवको हर्सोल्लास र दोस्रो भने अस्पताल परिसरमा आन्दोलनरत पक्षले प्लेकार्ड सहित लगाएको नारा।
मंगलबार केन्द्रले १२औं वार्षिकोत्सव मनाइरहँदा केन्द्रका निर्देशकसहित केन्द्र प्रशासनविरुद्ध नाराबाजी लागेको थियो। केही स्थानीयले अस्पतालको सेवा सुधार, अस्पताललाई अनियमितताबाट मुक्त राख्नुपर्ने, अस्पतालमा थन्किएका उपकरण प्रयोगमा ल्याउनु पर्ने, प्रशासनिक सुधार लगायतका माग राखेर आन्दोलन गरेका हुन्।
केन्द्र परिसरमा आन्दोलनरत पक्षले प्ले कार्डसहित अस्पताल प्रशासन विरुद्ध नारा लगाएका थिए। उनीहरुले 'भ्रष्टाचार मुक्त अस्पताल बनाउ', 'प्रशासनिक अधिनायकबाद अन्त्य गर', 'सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरु', 'म मुटु रोगबाट पीडित मेरो उपचार भएन', 'म कलेजो रोगबाट पीडित मेरो उपचार भएन', 'म नसा रोगबाट पीडित मेरो उपचार भएन' लगायतका नारा लगाएका थिए।
अस्पताल निर्देशक डा पुकारचन्द्र श्रेष्ठले कमिसनका लागि उपकरण किन्दै थन्काउँदै गरेको उनीहरुको आरोप छ। उनीहरुका अनुसार अस्पतालमा करोडौंका उपकरण नचलाइ थन्किएका छन्। अस्पतालमा इन्ट्रा एरोटिक बलुन पम्प, हर्ट लंग मेसिन, क्याथ ल्याब, एक्मो लगायतका मुटु, कलेजो, नसा लगायतका बिरामीको उपचारमा प्रयोग हुने करोडौंका उपकरण थन्काएर राखेको भन्दै विरोध कार्यक्रम गर्नु परेको आन्दोलनरत पक्षको भनाई छ।
अस्पताल प्रशासनका एक कर्मचारीले निर्देशक डा पुकार चिकित्सकीय रुपमा राम्रो भए पनि प्रशासनिक नेतृत्वमा भने कमजोर रहँदा अस्पतालमा समस्या आएको बताउँछन्। 'उहाँ प्रत्यारोपण सर्जनका रुपमा ठिक छ। तर अस्पताल चलाउने सक्ने नेतृत्वमा हुनुपर्ने क्षमता भने उहाँमा देखिएन। यही कारणले अस्पतालमा सँधै समस्या आइरहेको हो,' ती कर्मचारीले भने।
![hotc ma andolan1.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/hotc ma andolan1.jpg)
![hotc ma andolan2.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/hotc ma andolan2.jpg)
![hotc ma andolan3.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/hotc ma andolan3.jpg)