काठमाडौं- कीर्तिपुर अस्पतालको बर्न सेन्टरको विकास र विस्तारका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले एक करोड ३० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनले बर्न सेन्टरका लागि भन्दै उक्त रकम नेपालमा ट्रान्सफर गरिसकेको छ।
फाउन्डेसनका अध्यक्ष डा विनोद खड्काका अनुसार नेपालमा जलनका बिरामीले सहज रुपमा उपचार सेवा पाउन सकुन भनेर बर्न सेन्टरको प्रस्ताव अनुसार सहयोग रकम पठाइएको हो। 'बर्न सेन्टरको विस्तारका लागि फाउन्डेसनमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई हामी विशेष धन्यवाद भन्न चाहन्छौं', अध्यक्ष डा खड्काले भने, 'उहाँहरुकै साथ र सहयोगका कारण हामीले कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उहाँहरुको प्रस्ताव अनुसार रकम पठाउन सकेका हौं।'
बर्न सेन्टरले सेवा विस्तारका लागि रकम आवश्यक परेको भन्दै एएनएमएफसँग सहयोगका लागि प्रस्ताव गरेको थियो। एनएनएमएफले उक्त प्रस्तावलाई स्वीकार गर्दै सहयोग रकम पठाएको हो।
कीर्तिपुर अस्पतालले उक्त रकम बर्न सेन्टरको विकास र विस्तारमा खर्च गर्ने जनाएको छ। अस्पतालका अनुसार बर्न सेन्टरको आइसीयू, भेन्टीलेटर, मोनिटर, लगायतका उपकरण तथा सामग्रीमा उक्त रकम खर्च हुने छ।
नेपालमा जलका घटना बढ्दो क्रममा रहेको र उनीहरुको उपचारका लागि उच्चस्तरीय सेवासहितको सेन्टरको कमी रहेका कारण अस्पतालले जलनका गम्भीर बिरामीको समेत उपचार हुने गरी सेन्टरलाई विस्तार गर्न लागेको हो।
अस्पतालमा एक वर्षमा ६ सयभन्दा बढी जलनका बिरामी उपचारका लागि आउने गरेका छन्। गम्भीर अवस्थाका बिरामीलाई उपचार सेवा दिन समस्या हुँदा भर्ना भएकामध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने गरेको छ। अस्पतालले ती बिरामीको मृत्युदर कम गर्न बर्न सेन्टरलाई विस्तार गर्दै अगाडि बढ्न खोजेको हो।
सन् १९९७ बाट सुरुवात भएको यस अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ। यसले शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ।
फाउन्डेसनको यस वर्षको वार्षिक सम्मेलन सिकागोमा हुने छ। अंग्रेजी क्यालेन्डर अनुसार जुन ७ देखि ९ तारिखसम्म हुने उक्त सम्मेलनमा सहभागी हुन फाउन्डेसनले आग्रह गरेको छ। सम्मेलनका विषयमा जानकारी लिन यहाँ क्लिक [२८औं सम्मेलन] गर्नुहोस्।