दाङ- दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा क्यान्सर परीक्षण गरिएको छ। प्रतिष्ठानमा अत्याधुनिक प्रविधिको माध्यमबाट क्यान्सर परीक्षण गर्न सुरु गरिएको छ।
प्रतिष्ठानका अनुसार एक हजार बढी बिरामीको क्यान्सर परीक्षण गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले प्रतिष्ठानमा सेवा लिन आएका १ हजार ५९९ जना विरामीहरुको क्यान्सर भए नभएको पत्ता लगाउन परीक्षण गरिएको जानकारी दिए। प्रतिष्ठानमा २०७९ साल फागुनदेखि हिष्टो प्याथोलोजि(वायोप्सी) परीक्षणको सेवा सुरु भएको थियो।
प्रतिष्ठानमा कार्यरत प्याथोलोष्टि डा. मधु सिग्देलले अघिल्लो वर्षको फागुनदेखि हाल चैतसम्म ९५७ जना बिरामीले हिष्टो प्याथोलोजिको सेवा लिएको बताए। बिरामीको अप्रेसन गर्नेक्रममा मासुको सानो भाग निकालेर क्यान्सर भए नभएको पत्ता लगाउन हिष्टो प्याथोलोजि गर्ने गरिन्छ।
त्यस्तै, उनका अनुसार गएको वैशाखदेखि चैत महीनासम्ममा सुइको माध्यमवाट क्यान्सर भए नभएको पत्ता लगाउन ३९८ जना विरामीको वायोप्सी परीक्षण गरिएको छ।
टिचिङ हस्पिटल काठमाडौंबाट प्याथालोजिमा एम डि पास गरेका डा. सिग्देलले गएको वैशाखदेखि चैतसम्म पाठेघरको मुखको क्यान्सर भए नभएको पत्ता लगाउन २४४ जना परीक्षण गरिएको जानकारी दिए। उनीसँगै काठमाडौं मेडिकल कलेजबाट प्याथोलोजिमा एमडि पास गरेका डा. समिर मजगैँया, नर्ससहितको टोलीले बायोप्सी परीक्षण गर्दै आइरहेको छ।