बाग्लुङ- बाग्लुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थान स्वास्थ्य चौकीले अनलाइन डिजिटल खोप काई प्रयोगमा ल्याएको छ। वडामा रहेका सबै १५ महिनादेखि ५९ महिनाका १८० जना बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएकाले वडालाई पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गर्ने कार्यक्रमको सन्दर्भमा पारेर डिजिटल खोप कार्डको शुभारम्भ गरिएको हो।
सरकारले जारी गरेको खोप कार्डकै डिजाइनमा संस्थाले तयार गरेको परिवार स्वास्थ्य प्रोफाइलको सफ्ट्वेरबाट अटो जनरेट हुने गरि उक्त खोप कार्ड प्रयोगमा ल्याइएको संस्थाका प्रमुख ऋषिराम शर्माले जानकारी दिए। वैदेशिक रोजगारीमा जाने प्रचलनमा पुराना खोप कार्ड खोज्दै आउने समस्या बढेपछि विकल्पका रूपमा हराउने, च्यातिने लगाएतका समस्यालाई सम्बोधन गर्नका लागी अनलाइनमा राख्ने व्यवस्था गरिएको शर्माले बताए।
बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा स्तरीय प्रोफाइल अन्तर्गत स्वास्थ्य प्रोफाइलबाट अनलाइन डिजिटल खोप कार्ड प्रिन्ट गरेर कार्यक्रमको उद्घाटन गरे। उनले वडा र स्वास्थ्य चौकीले तयार पारेको अनलाइन वडा प्रोफाइल सफ्टवेयर स्थानीय तहको तथ्याङ्क व्यवस्थापन गर्न उत्कृष्ट भएको र हालसम्म नेपाल सरकारले पनि स्थानीय तहका तथ्याङ्क व्यवस्थापन गर्ने सफ्टवेयर प्रणाली प्रयोगमा नल्याएको र जनगणनाको तथ्याङ्कमा भर पर्नुको विकल्प नरहेकाले यो प्रणालीलाई पालिकाले बिस्तारै अन्य वार्डमा पनि अगाडि बढाउने बताए।
स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख बाबुराम आचार्यले यो प्रणालीलाई सरकारले थप विकास गर्दै सबै ठाँउमा लागु गरे टार्गेट कुरेर बस्न नपर्ने र बास्तविक तथ्यमा टेकेर समुदाय स्तरका काम गर्न सकिने धारण राखे।
स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले तयार गरेको परिवार स्वास्थ्य प्रोफाइल भन्दा एक कदम अगाडि बढेर संस्थाले धेरै स्वास्थ्य समस्यालाई हल गर्ने गरि विकास गरेकोमा वडा र स्वास्थ्य चौकीलाई बधाई दिए।
स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले पालिका स्तरमा लागु गर्न पहल गरिने धारणा राखे। स्वास्थ्य कार्यालय बाग्लुङका खोप सुपरभाइजर राजु खत्रीले यस प्रणालीबाट सबै प्रकारका स्वास्थ्यका विवरणहरू र लाइन लिस्टिङ गर्न सकिने भएकाले टार्गेट सेटअपमा समस्या नहुने बताए।