स्याङ्जा- जिल्लाको पुतलीबजार नगरपालिका-१३ मा एक दिने दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग र स्मृति युवा क्लवको स्थानीय सहयोगमा रोटरी क्लब अफ नक्साल शक्तिद्वारा शिविरको आयोजना भएको हो।
शिविरमा २ सय ५३ जनाको डेन्टल परीक्षण तथा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। यसका साथै सबै सहभागीको रक्तचाप र सुगरको जाँच गरिएको मेडिकल कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शिविरमा एक सय २० जनाको दाँत निकालिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तुलसीराम रेग्मीले रोटरी क्लबले जनतालाई लाभान्वित हुने गरी शिविर आयोजना गरेकाप्रति आभार व्यक्त गरे। उनले गण्डकी मेडिकल कलेज र रोटरी क्लबसँग आगामी दिनमा पनि सहकार्य गर्ने बताए।
उपमेयर देवी अर्यालले शिविर आयोजना गरेकोमा रोटरी क्लब अफ नक्साल शक्तिलाई धन्यवाद दिइन्।
कार्यक्रमको अध्यक्ष रोटरी क्लबका संस्थापक अध्यक्ष रोटेरियन डा लुना शर्मा अर्यालले स्वास्थ्य शिविरको महत्वबारे जानकारी दिइन्। उनले रोटरी क्लब अफ नक्साल शक्तिद्वारा प्रदान गरिएको सामुदायिक सेवाहरू बारेमा उल्लेख गरिन्।
उनले दाँतको र सम्पूर्ण स्वास्थ्यको महत्त्व र कसरी स्वस्थ रहँदा मानिसहरूलाई थप उत्पादनशील बनाउन सकिन्छ भनेर सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिन्।
रोटरी क्लब अफ नक्सल शक्तिका पब्लिक इमेज चेयर तथा गण्डकी मेडिकल कलेजका सहप्राध्यापक डा नुवादत्त सुवेदीले स्वागत मन्तव्य राख्दै दाँत तथा समग्र स्वास्थ्यको महत्वका साथै स्यांग्जा जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्दै लैजानुपर्ने आवश्यकतामा प्रकाश पारे।
गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा रवीन्द्रप्रसाद श्रेष्ठले गण्डकी मेडिकल कलेज नगरपालिका र स्वास्थ्य महाशाखासँग सहकार्य गर्न सधैं तत्पर रहेको जानकारी दिए। उनले कलेजले प्रदान गर्ने सेवाका बारेमा पनि प्रकाश पार्दै डेन्टल कलेजमा विभिन्न विशेष विभागहरु रहेको जानकारी दिए।