सप्तरी- भक्तपुर क्यान्सर अस्पताल र सप्तरीको बोदेबरसाइन नगरपालिकाको संयुक्त आइजनामा दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ।
वैशाख २० र २१ गते आयोजित नि:शुल्क शिविरमा एक हजारभन्दा बढीले सेवा पाएको भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा उज्वल चालिसेले जानकारी दिए। उनका अनुसार शिविरमा स्वास्थ्य जाँच गरिएकामध्ये तीन सय महिलाको क्यान्सर जाँचका लागि प्याप स्मेयर परीक्षण गरिएको थियो भने २ सय जनाको एनपिएल परीक्षण गरिएको थियो।
यस्तै शिविरमा चार सयभन्दा बढीको अल्ट्रासाउन्ड गरिएको थियो। शिविरमा सहभागीमध्ये ४० जनामा क्यान्सर आशंका गरेर थप परीक्षण गर्दा १२ जनामा क्यान्सर भेटिएको थियो।
शिविरमा स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई क्यान्सर सम्वन्धी सचेतना तथा आफ्नो स्तन आँफै जाच गर्ने तरिका बारे प्रशिक्षण समेत दिइएको थियो। शिविरमा ६ सय जनालाई आवश्यक निःशुल्क औषधी वितरण गरिएको थियो।
शिविरमा क्यान्सर रोग विशेषज्ञ, स्त्री क्यान्सर रोग विशेषज्ञ, नाक, कान, घाँटीको क्यान्सर विशेषज्ञ, प्यालिएटिभ केयर विशेषज्ञसहित आठ जना विशेषज्ञ चिकित्सक र १६ जना पारामेडिक्सले सेवा दिएका थिए।