काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी र विद्यार्थीका लागि हात स्वच्छता सचेतना कार्यक्रम आयोजना गरिएको छ।
इन्फेक्सन कन्ट्रोल सोसाइटी एण्ड नेपालको आयोजनामा सम्पूर्ण स्वास्थ्यकर्मीले हात धुने बानी बसाल्ने उदेश्यले सो सचेतना कार्यक्रम आयोजना गरिएको सोसाइटीकी अध्यक्ष सृजना भोमीले जानकारी दिइन्।
विश्व हात स्वच्छता दिवसको सन्दर्शमा सो सचेतना कार्यक्रम आयोजना गरिएको हो।
सोसाइटीकी अध्यक्ष भोमीका अनुसार स्वास्थ्य संस्थामा उपचारका क्रममा स्वास्थ्य संस्थाकै जटिल संक्रमणका कारण बिरामीको अस्पताल बसाईलाई लम्ब्याएको छ।
यस्तै संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्नुका साथै बढी मात्रामा एन्टिबायोटिकको प्रयोग गर्दा एन्टिबायोटिक रसिस्टेन्ट भई औषधि चयन गर्न गाह्रो भएको छ। यी समस्याको निकारणका लागि उचित समयमा उचित तरिकाले प्रत्येक व्यक्ति र स्वास्थ्यकर्मीले हातको सरसफाइलाई दिनचर्याको रुपमा समावेश गर्दै आफ्नो जीवन रक्षा गर्नुपर्ने उनको तर्क छ।
पानीले हात भिजाउँदैमा वा स्यानिटाइजर हातमा दल्दैमा उचित हातको सरसफाई नहुने भन्दै उनले स्यानिटाइजर भए २० देखि ३० सेकेन्ड र साबुनपानीले ४९ देखि ६० सेकेन्ड लगाई हत्केलाको सबैतिर, कुनाकाप्चा सम्म मिचिमिचि धुनुपर्ने उनको भनाइ छ।