काठमाडौं- मन्त्रिपरिषद्को बिहिबारको बैठकमा उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भने अनुपस्थित रहेका छन्। उनी काठमाडौंमै रहेपनि बैठकमा अनुपस्थित भएका हुन्।
स्वास्थ्य मन्त्रालयको कुनै अजेन्डा नभएको र पार्टीकै काममा व्यस्त हुनुपरेकाले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुन नसकेको मन्त्री यादवको सचिवालयले जनाएको छ। अनुपस्थित रहने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिले नै जानकारी गराइएको बताइएको छ।
यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। विभाजित जनता समाजवादी पार्टीले सरकारलाई समर्थन जारी राख्ने जनाएको छ। राजनीतिक घटनाक्रम फरक रुपमा विकसित भइरहेका बेला मन्त्री परिषद्मा मन्त्री यादवको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।