काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव ६५ दिनपछि सरकारबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री सहितको वरियतामा मन्त्रालयका गत फागुन २७ गते प्रवेश गरेका यादव ६५ औं दिनमा आज सोमबार सरकारबाट बाहिरिएका हुन्।
मन्त्री यादवले मन्त्रालयमा जिम्मेवारी सम्हालेपछि जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्ने बताएका थिए। उनी स्वास्थ्य मन्त्रालयमा दोस्रो पटक मन्त्री भएर आएका हुन्।
मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यको बजेट बढाउन पहल गर्ने बताएका थिए। तर आगामी आर्थिक वर्षको बजेट नआउँदै उनी सरकारबाट बाहिरिएका छन्।
यसबीचमा मन्त्री यादवले मन्त्रीको हैसियतमा अमेरकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिन पुगेका थिए। बैठकमा यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताएका थिए।
उनी अमेरिकामा नै रहेको समयमा उनको नेतृत्वमा रहेको पार्टी फटेको हो। पार्टी फुटेपछि उनको सत्ता यात्राका विषयमा बहस हुँदै आएको थियो। पछिल्लो राजनीतिक घटनाक्रमपछि उनको पार्टी जनता समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
जसपाबाट सरकारमा सहभागी अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका छन्। यस्तै उनको पार्टीबाट सरकारमा राज्यमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्।
दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो। मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन्।