काभ्रेपलान्चोक– जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकले खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा स्वास्थ्य शिविर आयोजना गरेको छ। गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको तालढुंगामा शिविर आयोजना गरेको हो ।
एकिकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत विकट क्षेत्रमा विशेषज्ञ सेवा दिने उद्धेश्यले शिविर गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताइन्।
जेठ ८ र ९ गते चल्ने शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, नाक, कान, घाँटी, आँखा, दाँत, स्त्री तथा प्रसुती, छाला रोगसम्बन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरेका थिए।
यस्तै प्रयोगशाला परिक्षण र निशुल्क औषधी वितरण गरिएको कार्यक्रम संयोजक रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका परिवार नियोजन अधिकृत पद्मराज कैनीले जानकारी दिए ।
इन्टरनल मेडिसिनका विशेषज्ञ डादिपक ढकाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा सुविन व्यञ्जनकार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा सिर्जना रावल, बालरोग विशेषज्ञडा लिजा पुरी, नेत्र रोग विशेषज्ञडा राहुल गुप्ता, छालारोग विशेषज्ञ डाअनुराग तिवारी, दन्त रोगविशषज्ञ अल्बिना घिमिरे, जनरल फिजिसियन डा विज्ञान लामिछाने, अप्थाल्मिक असिस्टेन्ट पुजा कार्की, फार्मेसी अधिकृत प्रवेश आचार्य, स्वास्थ्य अधिकृत नविन रेग्मी, जनस्वास्थ्य अधिकृत अनिता खनालसहित खानीखोला गाउँपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख दुतराज थापा मगरसहित तालढुंंगाा स्वास्थ्यचौकीसहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका छन् ।
गाउँमा नै सेवा पाउँदा स्थानीय खुशी भएका छन्। स्वास्थ्य उपचारको लागि धुलिखेल अस्पताल जाने गरेकी इन्द्रकुमारी खुलालले विशेषज्ञ डाक्टर नै गाउँ आएपछि खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘उपचारको लागि बनेपा, धुलिखेलका अस्पताल जाने गरेका थियौं, अहिले डाक्टरहरु नै गाउँ आएपछि धाएर जानुपरेन, निकै खुसी लागेको छ।’