काठमाडौं- क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी गाइडलाइन एडभाइजरी ग्रुप्स कमिटीका सदस्य चुनिएका छन्। उनी आगामी ४ जुनबाट लागु हुनेगरी ४ वर्षका लागि उक्त समूह सदस्यमा चुनिएका हुन्।
गाइडलाइन सल्लाहकार समूहले उक्त सोसाइटीको एभिडेन्समा आधारित चिकित्सा कमिटीलाई गाइडलाइन बनाउन विषयहरूको पहिचान र प्राथमिकताहरु सिफारिस गर्ने गर्छ। यसैगरी सोसाइटीले क्लिनिकल अभ्यासका लागि निर्माण गरेको गाइडलाइन समिक्षा गर्ने वा संयुक्त रुपमा गाइडलाइन बनाउने कार्यसमेत यसले गर्दछ। विश्वभरीमा क्यान्सर उपचारमा भइरहेका अभ्यासहरुलाई एकीकृत गर्दै नीति निर्माणका साथै नीति निर्मातालाई, स्वास्थ्यका संगठन, उपचारमा संलग्न चिकित्सक र बिरामीहरुलाई जानकारी दिने काम पनि गर्दछ।
डा शाही पाटन अस्पतालमा कार्यरत छन्। नेपालमा रहेर क्यान्सरको उपचारमा सक्रिय उनले यसलाई अवसरका रुपमा लिएका छन्। क्यान्सर उपचारमा भइरहेका विश्वका अभ्यास, प्रयास र सफलता नेपालमा भित्र्याउन सघाउनुका साथै नेपालको अभ्यास विश्वमाझ पुर्याउने मञ्चको रुपमा आफूले यो अवसरलाई लिएको उनले बताए।
उनले भने, 'हामीले नेपाल जस्ता विकासोन्मुख देशका अभ्यास र अनुभव पनि यस्ता फोरमहरुमा सुनिनुपर्छ भनेर विगतदेखि नै भन्दै आएका थियौं। यसपल्ट सुनुवाइ भएको छ।'