वीरगंज– नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्कीले मृतकको शवमा लेनदेनको बार्गेनिङ गरी स्वास्थ्य क्षेत्रमा द्वन्द्व सिर्जना गरेको बताएका छन्।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो संसोधनको विषयमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष डा कार्कीले डाक्टरको विभिन्न प्रयासका बावजुद पनि बिरामीलाई बचाउन नसक्दा बिरामीका आफन्तहरु शवलाई राखेर गर्ने बार्गेनिङलाई रोक्नुपर्ने बताए।
उनले भने, ‘डाक्टरलाई भगवानको दर्जा दिइन्छ तर धेरै प्रयासका बावजुद पनि भोली बिरामी ‘एक्सपाएर’ भयो भने डाक्टरलाई दुर्व्यवहार गरिन्छ, कुटपिट गरिन्छ।’
डाक्टरलाई भगवान नभइ उसले गरिरहेको पेशाको रुपमा हेरिदिन उनको आग्रह छ।
स्वास्थ्य क्षेत्रलाई शान्त र सुरक्षित क्षेत्र बनाउन सबै सरोकारवालाहरुले ऐनको प्रचार प्रसारमा जोड दिनुपर्ने उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ऐनले चिकित्सकहरुको हकहितको कुरा गरेपनि उनीहरुको जिम्मेवारीबारे प्रष्ट नपारेको टिप्पणी गरेका छन्।
सरकारी अस्पतालमा समयमा नआउने तर निजी अस्पतालमा गम्भीरताका साथ उपचार गर्ने गर्दा डाक्टर प्रति बिरामी तथा सर्वसाधारणको विश्वास गुम्दै गएको उनको तर्क छ।
उनले भने, सरकारी अस्पतालमा इमन्दारीपूर्वक आफ्नो काम नगर्ने डाक्टरसावहरु निजी अस्पताल र क्लिनिकमा दिनरात मिहिनेत गरिरहेका हुन्छन्, यो यस्तै चल्ने हो भने सरकारी स्वास्थ्य क्षेत्र कसरी सुधार हुन्छ?’
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख इम्तियाज आलमले चिकित्सा पेशा सम्मानको क्षेत्र भएकोले गम्भीरतापूर्वक आफ्नो पेशाको धर्मलाई निर्वाह गर्न आग्रह गरे। कोरोना संक्रमण, भूकम्प तथा राष्ट्रिय विपद्को समयमा स्वास्थ्यकर्मीको भूमिका उल्लेखनीय रहेको भन्दै उपप्रमुख आलमले स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गरे।
अन्तरक्रिया कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशका संयोजक डा निरज कुमार सिंहले पेशागत रुपमा स्वास्थ्य क्षेत्र सुरक्षित नहुँदा स्वास्थ्यकर्मीहरु पलायन भइरहेको बताए।
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनबारे देशैभरी प्रचार प्रसार तथा अन्तरक्रिया र छलफल गर्दैछ।