काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघले सुर्खेतको मेहेलकुना अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव दिपकराज भट्टले विज्ञप्ति जारी गर्दै अस्पताल तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीहको मनोवल कमजोर पार्ने खालको हर्कत भएकोमा त्यसको भत्सर्ना गर्दै सरकारी सम्पतिको तोडफोड तथा आगजनि गर्ने कार्य निन्दनिय तथा गैरकानुनी कार्य भएकोले सो कार्य नगर्न अपिल गरेका छन्।
जेठ १२ गते गुर्भाकोट नगरपालिका वडा नं ६ सुर्खेत निवासी ९ वर्षिय अनमोल विक सर्पदंशको उपचार गराउन मेहेलकुना अस्पताल, सुर्खेतमा गएका थिए।
अस्पतालमा केहि परामर्श तथा उपचार पश्चात थप उपचारका लागि प्रदेश अस्पताल कालागाँउ सुर्खेत रेफर गरिएकोमा अनमोल विकको बाटोमा मृत्यु भएको थियो।
तर बालकको मृत्युको कारण चिकित्सक र स्वास्थ्यकर्मीको दोष देखाउँदै अस्पताल तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीहरुलाई काम गर्ने मनोवल कमजोर पार्ने खालको कार्य भएको संघले जनाएको छ।
संघले नियमित रुपमा उपचार प्रकृयालाई इमान्दारी पूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएकोमा बाटोमा भएको मृत्युको घटनालाई लिई चिकित्सक र स्वास्थ्यकर्मी प्रति भएको हातपात तथा तोडफोड गर्ने जस्तो कार्य प्रति गम्भिर आपती प्रकट गरेको छ।
साथै अस्पताल, स्वास्थकर्मी तथा चिकित्सकहरुको सुरक्षाको प्रत्याभुति गराउन नेपाल सरकार समक्ष नेपाल स्वास्थ्यकर्मी संघ माग गरेको छ।