काठमाडौं- निसन्तान दम्पतिको उपचारका लागि काठमाडौं नक्सालमा सञ्चालनमा रहेको वात्सल्य आईभीएफले नक्साल बाहेकका स्थानमा वात्सल्यको नाम जोडेर सञ्चालनमा रहेका तथा सञ्चालनको प्रक्रियामा रहेका भनिएका संस्थाहरु आईभीएफ सेन्टर नभएको प्रष्ट पारेको छ।
वात्सल्य तथा संचालकको नाम जोडेर केही अनलाइन संचार माध्यममा प्रकाशित समाचारहरु प्रति ध्यानकर्षण गर्दै वात्सल्यले उक्त जानकारी दिएको हो।
'यस वात्सल्यको नाम जोडेर नेपालगञ्ज, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, चितवन र विराटनगर संचालनमा रहेको तथा संचालनको प्रक्रियामा रहेका भनिएका स्वास्थ्य संस्थाहरु छन्, ती स्वास्थ्य संस्थाहरु आईभीएफ सेन्टर नभएको समेत हामी स्पष्ट पार्न चाहन्छौं,' वात्सल्यद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ।
वात्सल्यले ती स्थानमा खोलिएका स्वास्थ्य संस्थाहरु भिन्न प्रकृतिको स्वास्थ्य संस्था रहेको र ती संस्थाहरु सञ्चालनार्थ जुन जुन निकायबाट अनुमति र इजाजतपत्रहरु आवश्यक पर्छ ती निकायहरुमा दर्ता तथा इजाजत प्राप्त गरी संचालनमा रहेको तथा संचालनको चरणमा रहेको समेत जानकारी दिएको छ।
'हाम्रो यस संस्था अन्तर्गत संचालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सम्पूर्ण सञ्चालन मापदण्ड पुरा गरी विद्यमान नियम कानूनको पूर्ण पालना गरी इजाजत लिनु पर्ने निकायबाट इजाजत लिई वा दर्ता भई संचालनमा रहेको व्यहोरा जानकारी गराउदछौं,' पत्रमा भनिएको छ।
वात्सल्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ ८ गते पठाएको पत्रको पनि जवाफ पठाइसकेको जानकारी दिएको छ। 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर मापन तथा नियमन महाशाखाबाट मापदण्ड पुरा गरी एक स्थानका लागि सञ्चालन ईजाजतपत्र प्राप्त गरेका आईभीएफ सेन्टरहरुले अन्य स्थानहरुमा शाखा स्थापना गरी सेवा सञ्चालन गरेको भनी समाचारहरु आईरहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भनी इजाजतपत्र प्राप्त आईभीएफ सेन्टरहरुलाई सो सम्बन्धमा भएको परिपत्रको सम्बन्धमा इजाजत प्राप्त संस्था कानून बमोजिम संचालन रहेको भनी जवाफ पेश भएको जानकारी गराउदछौं,' वात्सल्यद्वारा जारी पत्रमा भनिएको छ।
यसका साथै वात्सल्यले आफ्ना संचालक र चिकित्सकहरुको नाम जोडेर केही अनलाइन पत्रिकाहरुले स्वतन्त्र पत्रकारिताको आचारसंहिता विपरित झुटो, तथ्यहिन, भ्रामक, कपोकल्पीत र एकोहोरो प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको दाबि पनि गरेको छ।