काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै लाग्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी आग्रह गरे। उनले भने, ‘नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु।’
‘विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ’, उनले भनेका छन् ।