काठमाडौं- औषधी व्यवस्था विभागले खाद्यपूरक सामाग्रीहरु सिफारिस गर्न रोकेकोमा नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। औषधि व्यवस्था विभागको परिपत्र अनुसार अस्पताल प्रमुखहरुले चिकित्सकलाई खाद्यपुरक सामाग्री सिफारिस नगर्न सूचना जारी गरिरहेका छन्।
'औषधि व्यवस्था विभागको सूचनाको हवाला दिएर विभिन्न अस्पताल प्रमुखहरुबाट चिकित्सकहरुलाई विभिन्न किसिमका औषधी एवं अन्य खाद्यपूरक सामाग्रीहरु सिफारिस नगर्न र गरेमा कानूनी कारवाही हुने भनी धम्कीपूर्ण सूचना सम्प्रेषण भएकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,' महासचिव सन्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
चिकित्सकहरुसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको संघको भनाइ छ। आफूमाथि औषधि व्यवस्था विभागले नभइ मेडिकल काउन्सिलले नियमन गर्ने आशय पनि विज्ञप्तिमा प्रस्तुत गरिएको छ।
'के-कस्ता औषधी सिफारिस गर्ने वा नगर्ने भन्ने कुरा नियमन गर्ने आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिल भएको कुरा पनि स्मरण गराउन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ, 'त्यसैले सूचना जारी गरी चिकित्सकीय सेवामा अनावश्यक दखल पुर्याई चिकित्सकहरुलाई हतोत्साही नगराउन नेपाल चिकित्सक संघ सम्बन्धित सबैलाई आग्रह गर्दछ।'