दोधारा चाँदनी (कञ्चनपुर)- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले भीमदत्त नगरपालिका स्थित महाकाली बाल अनाथालय र महिला तथा वृद्ध सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरेको छ।
आज अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धसेवा केन्द्रमा रहेको ३० जना वृद्धवृद्धा र अनाथालयमा रहेका २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेको हो। महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले भने, “सजह रुपमा स्वास्थ्य सेवा पाउन नसकेका बस्तीमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धसेवा केन्द्र र अनाथालयमा पनि निःशुल्क स्वास्थ्य जाँच एंव औषधि वितरण गरेका हौँ।”
महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका तीस जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले अस्पतालले विकट बस्ती र स्वास्थ्य सेवामा पहुँच नभएका स्थानमा स्वास्थ्य शिविर आयोजना गर्ने गरेको जानकारी दिए। रासस