काठमाडौं- वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्वमन्त्री उपेन्द्र यादवको पार्टीको मुद्दा सर्वोच्च अदालतले इजलासमा पठाउन आदेश दिएको छ।
न्यायाधीशहरु हरि फुयाँल र तिलप्राद श्रेष्ठको संयुक्त इजलासले आइतबार मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ। यससँगै मुद्दा लम्बिएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रिट हालेका हुन्। उनले आफ्ना पार्टीका नेताहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले दल दर्ता गर्ने निर्णय संविधान र कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।
जसपा नेपालका ७ संघीय सांसद सहितका नेताहरुले नयाँ दल दर्ताका लागि गत वैशाख २३ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले २४ वैशाखमा नै अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी नाममा नयाँ दल दर्ता गरेको थियो।
नयाँ दलले सरकारलाई समर्थन गरेको छ। प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिरहेका छन्। यसअघि उपेन्द्र यादव उक्त मन्त्रालयको जिम्मेवारीमा थिए।