काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप यादवले काठमाडौँस्थित दुई महत्त्वपूर्ण स्वास्थ्य केन्द्रहरूको अनुगमन गरेका छन्।
यादवले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्दै विभिन्न कर्मचारीहरूसँग छलफल गरे।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुगमनको क्रममा माननीय मन्त्री यादवले केन्द्रले हालसम्म गरेको कार्य प्रगतिको विवरण लिँदै चिकित्सक तथा अन्य कर्मचारीहरूले भोगिरहेका चुनौती र कठिनाइहरूको बारेमा जानकारी लिए।
छलफलका क्रममा केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले निर्माण सम्पन्न भए पनि सङ्गठन तथा व्यवस्थापन सर्भे गरी आवश्यक पर्ने जनशक्तिको दरबन्दी यकिन र बजेट व्यवस्थापन नहुँदा केन्द्र मातहतमा रहेको छातीरोग अस्पताल सञ्चालन गर्न नसिएको बताए।
त्यस्तै डा श्रेष्ठले केन्द्रसँग औषधि तथा कार्तेजमा वफरस्टोकको लागि पर्याप्त बजेट नभएको, प्रत्येक प्रदेशमा डिआर रेफरल सेन्टर स्थापना तथा सञ्चालनको लागि पर्याप्त बजेट नभएको दुखेसो पोखे
मन्त्री यादवले छातीरोग अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरर्। ‘बाकी रहेका कामहरू सम्पन्न गर्दै अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्नुहोस्,’ यादवले भने , ‘बजेट व्यवस्थापन मेरो जिम्मामा छ। त्यो जहाँबाट भए पनि म लिएर आउँछु।’
त्यसै गरी उनले आइतबार नै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरे। उनले त्यहाँ पनि उपचाररत बिरामी, कुरुवासँगै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूसँग छलफल गरे।
छलफलका क्रममा अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले केन्द्रले गरेको वार्षिक कार्यको बारेमा माननीय मन्त्रीज्यूलाई जानकारी गराए। उनले साँघुरो भवन हुँदा अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न नसकिएको बताए।
यादवले केन्द्रले गरिरहेको कार्य प्रशंसनीय रहेको बताउँदै, प्रत्यारोपण केन्द्र साँघुरो ठाउँबाट सञ्चालन हुँदा आइरहेका समस्याहरू समाधान गर्न मन्त्रालय स्तरबाट आवश्यक कदम चाल्ने निर्देशन दिए। उनले आवश्यक बजेट व्यवस्थापनमा पनि मन्त्रालयको प्रतिबद्धता रहेको उल्लेख गरे।
अनुगमनका क्रममा उनले दुई केन्द्रमा भएका पूर्वाधार र अन्य प्राविधिक आवश्यकताहरू पूरा गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए।