काठमाडौं–स्वास्थ्य बीमा बोर्डका सेवाग्राहीले यही असार मसान्तभित्र नवीकरण गर्नुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ।
बोर्डले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ। विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ।
बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन्।