काठमाडौं- नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा बिरामीले लामो लाइन बस्नुपर्ने बाध्यताका विषयमा संसदमा कुरा उठाएकी छिन्। बिहीबार संसदमा बोल्दै उनले बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटाउन माग गरिन्।
सरकारी अस्पतालका लामा लाइन कम गर्न सरकारको ध्यानाकर्षण गर्दै उनले यस तर्फ सरकारले तत्कालै काम गर्नुपर्नेमा जोड दिइन्।
उनले ओपीडी काउण्टर बढाएर भएपनि बिरामीहरुलाई समयमै उपचार गर्नुपर्ने अवस्था बनाउन माग गरिन्। उनले बिरामी दर्ता, रिपोर्ट बुझ्दा, डाक्टरलाई रिपोर्ट बुझाउँदा बारम्बार लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरिन्।
उनले ९ बजे ओपीडी खुल्ने अस्पतालमा बिहान ५ बजेदेखि नै किन लाइन लाग्नु पर्ने बाध्यता आएको हो भनेर पनि प्रश्न गरेकी छिन्।
‘आज हाम्रा सर्वसाधारण नागरिकहरु सरकारी अस्पतालमा घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ। ९ बजे ओपिडी खुल्छ भने ५ बजेदेखि लाइन बस्ने ति नागरिकहरुका लागि सोच्नुपर्ने अवस्था छ । दुई चार वटा काउण्टर थपेर स्वास्थ्य सेवा सहज बनाउनका लागि अनुरोध गर्दछु । बिरामी दर्ता गर्दा एक पटक लाइन बस्ने, रिपोर्ट लिँदा अर्को पटक लाइन बस्ने, डाक्टरलाई फेरि रिपोर्ट देखाउँदा अर्को पटक लाइन बस्ने, पटक पटक लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । स्वास्थ्य बीमा गरिएका नागरिकहरुले, बिरामीहरुले त्यो बीमा गर्नेकुरा अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिन्छ, यो व्यवहारलाई अन्त्य गर्ने र हाम्रा सरकारी अस्पतालहरुका लाइन छोट्याउने, यो संवेदनशील क्षेत्र र विषयलाई सुझबुझपूर्ण ढंगले सहज र सरलीकरण गर्न सरकारको ध्यानाकर्षण गराउँछु’ संसदमा उनले भनिन्।
उनले स्वास्थ्य बीमा गरेका नागरिकहरुले अर्को दर्जाको नागरिकमा दर्ता हुनु जस्तो गरेर व्यवहार गरिने भन्दै सो व्यवहार अन्त्य गर्न आग्रह गरिन्।