काठमाडौं- नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपालगन्जमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका विषयमा गम्भीर नभएको आरोप लगाएका छन्।
बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेटका विषयमा मन्त्रालय गत छलफलमा बोल्ने क्रममा उनले प्रधानमन्त्रीलाई विगतमा यस विषयमा जानकारी गराउँदा समेत बजेटमा त्यस अनुसार नआएको बताएका हुन्।
उनले हालका स्वास्थ्य मन्त्री प्रदीप यादवलाई यस विषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई भनेको विषयमा जानकारी गराएका हुन्। 'प्रधानमन्त्रीलाई पनि बिचमा भनेको थिएँ। यो विषय एकदमै गम्भीर छ। त्यसलाई हेर्नुपर्छ भनेको थिएँ। तर त्यो देखिएन,' सांसद गौतमले भने।
सांसद गौतमले खजुरामा रहेको क्यान्सर अस्पतालले बजेटम उचित स्थान नपाएको भन्दै दुख व्यक्त गरे।
'खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्थान पाएन । त्यो अस्पताल क्यान्सरको पश्चिम नेपालको केन्द्रका रुपमा रहेको छ। सुदूरपश्चि कर्णाली र लुम्बिनी प्रदेशका अधिकांस जिल्लाहरुको केन्द्रका रुपमा रहेको छ। भौतिक रुपले सम्पूर्ण कुराहरु छन्। तर त्यसको सफल कार्यान्वयनका लागि लाग्नु पर्ने आवश्यक बजेट बिनियोजन भएको छैन। यसले प्राथमिकता पाएको छैन। बजेटमा उदासिन छ। म मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,' गौतमले भने।
सांसद गौतमले स्वास्थ्यमा बजेट पनि निकै कम भएको भन्दै सरकारको आलोचना गरे। उनले कुल बजेटमा स्वास्थ्यमा जम्मा ४ दशमलव ६४ प्रतिशत बजेट मात्र दिएर सरकारले स्वास्थ्यलाई प्राथमिकता निदएको बताए। उनले सरकारको नियत राम्रो नभएको भन्दै आलोचना गरे।
'स्वास्थ्यमा बजेट एकदम न्यून छ। जम्मा ४.६४ प्रतिशत कुल बजेटको। जम्मा ८६ अर्ब रुपैयाँ छ। यो निकै कम हो। स्वास्थ्यलाई जति प्राथमिकता दिनुपर्ने हो त्यति दिइएको छैन। सरकार उदासिन भयो। सरकारको नियत राम्रो भएन,' उनले भने।