काठमाडौं– सांसद अशोक कुमार चौधरीले १५ बेडको इटहरी अस्पताललाई १०० बेडको बनाउन माग गरेका छन्। बिहीबार संसदमा स्वास्थ्य मन्त्रालयको बजेटको विषयमा आफ्नो धारणा राख्दै सांसद चौधरीले इटहरी अस्पताललाई १०० बेडको अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गरेका हुन्।
उनले इटहरीमा ३ लाख जनसंख्या रहेको भन्दै जनसंख्याको हेरेर स्वास्थ्य सेवालाई पनि विस्तार गर्नुपर्ने बताए।
‘थुप्रै ठाउँहरु छन्। जो पहिला स्वास्थ्य चौकी हुँदै १५ बडेको अस्पताल रहेको र अहिले जनसंख्या बढेकाले दैनिक ६०० बिरामी रहेको ठाउँमा पनि जुन तरिकाले अस्पताल हुनुपर्छ त्यो तरिकाले अस्पताल नभएकोले स्तरउन्नतिको लागि सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’ सांसद चौधरीले संसदमा भने।
उनले थारु जातीमा सिकलसेल एनिमिया सम्बन्धी समस्या विकराल रहेको र त्यसले थारु जातीको वंश नै विनास गर्न सक्ने भन्दै यो रोगको गम्भिरतालाई बुझिदिन पनि आग्रह गरे।
उनले थारु समुदायको बसोबास रहेका क्षेत्रका प्रादेशिक अस्पतालहरुलाई सिकलसेल एनिमियाको सेवाका लागि पनि स्तरोन्नति गर्न आग्रह गरे। सांसद चौधरीले थारु समुदायका महिलाहरुको डिएनए परीक्षण गर्दा १८ देखि २० प्रतिशतमा यो रोगको डिएनए फेला परेको पनि जानकारी गराए।
उनले भने, ‘साढे ६ प्रतिशत जनसंख्या रहेको थारु समुदायको वंश नै विनास गर्न सक्ने यो रोगको गम्भिरतालाई बुझिदिन र त्यस क्षेत्रका प्रादेशिक अस्पताललाई सिकलसेल एनिमिया रोग सेवाको लागि स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रीलाई आग्रह गर्छु।’