पहिले पनि रेबिज बिरुद्धको खोप लगाएको छ? यो मेरो प्रश्नको उत्तरमा घाइतेका आफन्तले 'खै याद भइरहेको छैन डासाब' भन्दै उत्तर दिए। तुरुन्त काठमाडौँको टेकु अस्पतालमा गएर घाउमा लगाउने खोप लगाउनुपर्छ भने लगत्तै रात्री बस मार्फत् यहाँसम्म आइपुगें र राम्ररी नसुतेकोले सोच्न पनि सकिरहेको छैन।
काठमाडौं बाहिरबाट रातारात टेकु अस्पताल यही खोपको लागि आउनुपर्ने बाध्यता, मानसिक तनाव र आर्थिक पक्षबाट पनि खर्चालु (कतिपय त होटेलमा बस्नुपर्ने बाध्यता) जस्ता बाध्यता सर्बसाधारणले वर्षौंदेखि सामना गर्दै आइरहेको मेरो अनुभव छ। काठमाडौँ बाहिरबाट मात्र होइन, काठमाडौँ वरिपरिका अस्पताल वा स्वास्थ्य केन्द्रहरुबाट पनि जीवनरक्षक मानिने 'रेबिज इम्युनोग्लोबुलिन' खोप लगाउन टेकु अस्पताल नै जान सल्लाह दिने गरेको पाहिन्छ। यसबाट घाइते र उसको परिवार सदस्यले पूरै दिन यही खोप लगाउनको लागि छुट्याउनुपर्ने बाध्यता देखिन्छ। तर, चाखलाग्दो कुरा के हो भने रेबिज बिरुद्धको खोप भने घाइते पहिले जहाँ पुग्दछ। त्यही लगाएको देखिन्छ।
'रेबिज इम्युनोग्लोबुलिन' खोप लागि भने काठमाडौंसम्म नै आउनुपर्ने बाध्यता किन रह्यो? यसको उत्तर खोजेर सम्बोधन गर्नुपर्ने आजको आवश्यकता भइसकेको छ। जनावरले टोकेमा रेबिज बिरुद्धको सुइ र 'रेबिज इम्युनोग्लोबुलिन' गरी दुई प्रकारका खोपहरु लगाउने गरिन्छ। 'रेबिज इम्युनोग्लोबुलिन' भने टोकाईको प्रकृति हेरी स्वास्थकर्मीहरुले लगाउन सल्लाह दिने गर्दछन्। टेकु अस्पतालमा दैनिक दर्जन भन्दा बढी जनावरको टोकाइबाट घाइते भएकाहरु यही खोपको लागि सिफारिस भएर (काठमाडौं बाहिरबाट) वा सिधै अस्पतालमा आउने गर्दछ। टेकु अस्पताललाई हाल 'शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल' भन्ने गरिन्छ। वर्षेनी औषतमा २०-२५ जना रेबिजको कारणले अस्पतालमा मृत्युवरण गर्नुपरेको देखिन्छ।
'रेबिज इम्युनोग्लोबुलिन' किन आवश्यक हुन्छ?
जनावरहरुले टोकेपछि घाइतेहरुमा घाउहरुको अवस्था/प्रकृति पनि फरक-फरक हुने गर्दछन्। कतिपयमा छाला मात्र कोतरिएको हुन्छन् भने कतिपयमा गहिरा घाउहरु हुने गर्दछन्। गहिरा घाउहरु भए रेबिज भाइरस तीव्र गतिमा नशामा पुगी छोटो समयमा स्नायु प्रणालीमा असर गरि रेबिज रोग बिकसित हुने गर्दछ। रेबिज बिरुद्धको खोपलाई काम गर्न कम्तिमा एक हप्ता लाग्ने भएकोले नै भाइरसको फैलावट तत्काल रोक्न 'रेबिज इम्युनोग्लोबुलिन'को प्रयोग घाउमा नै दिएर गरिन्छ। बिगतमा यही 'रेबिज इम्युनोग्लोबुलिन' खोप समयमा नलगाएर वा लगाउन नपाए धेरैले मृत्युबरण गर्नु परेको लेखकको अनुभव छ। घाउको प्रकृति हेरी यसको वर्गीकरण तीन भागमा गरिएको छ। पहिलो र दोस्रो श्रेणी अन्तर्गत पर्ने घाउमा 'रेबिज इम्युनोग्लोबुलिन' लगाउनु पर्दैन। तर तेश्रो श्रेणीमा पर्ने घाउमा भने यो खोपको आवश्यक पर्दछ। यसमा पनि विशेषत घाँटी भन्दा माथि, धेरै अनि गहिरा घाउहरु, हात (विशेषत: हत्केला तथा औंलाहरुमा) तथा संवेदनशील अंगहरुमा टोके 'रेबिज इम्युनोग्लोबुलिन' खोप तुरुन्त लगाउनु पर्दछ।
कस्तो अवस्थामा 'रेबिज इम्युनोग्लोबुलिन' आवश्यक पर्दैन वा लगाइदैन?
रेबिज बिरुद्धको खोप (पूरा डोज) पहिले कुनै समयमा लगाइसकेको अवस्थामा भने यो खोपको आवश्यकता पर्दैन। यस्तो अवस्थामा रेबिज बिरुद्धको खोप पनि दुईपटक लगाए पुग्दछ। त्यस्तै रेबिज बिरुद्ध खोप (पहिलो सुइ/डोज) लगाएको एक हप्ता पार गरिसकेको छ भने पनि 'रेबिज इम्युनोग्लोबुलिन' लगाउनु पर्दैन। तसर्थ स्वास्थकर्मी वा फार्मेसीहरुले घाइतेहरुलाई काठमाडौं जान सुझाब दिनु अगाडी यी दुई कुरा सोध्न अति आवश्यक/अनिवार्य देखिन्छ।
स्थानीय स्वास्थ केन्द्र वा अस्पतालहरुमा 'रेबिज इम्युनोग्लोबुलिन' किन नलगाएको होला?
स्थानीय स्वास्थ केन्द्र वा अस्पतालहरुमा रेबिज बिरुद्ध खोप लगाउने गर्दछ तर 'रेबिज इम्युनोग्लोबुलिन' नलगाउनुमा एक प्रमुख कारण मध्ये यसबाट देखिन सक्ने सम्भावित नकारात्मक असरहरु हुनुपर्दछ। 'रेबिज इम्युनोग्लोबुलिन' सामान्यतया दुई प्रकारको प्रयोग गर्ने गरिन्छ। जसलाई 'एक्विन रेबिज इम्युनोग्लोबुलिन' र 'ह्युमेन रेबिज इम्युनोग्लोबुलिन' भनिन्छ। 'ह्युमेन रेबिज इम्युनोग्लोबुलिन'को नकारात्मक असर नहुने भएता पनि मूल्य भने अति महँगो हुन्छ।
'एक्विन रेबिज इम्युनोग्लोबुलिन' सस्तो हुने भएता पनि कसै कसैलाई कडा एलर्जी (अनाफिलाक्सिस) देखिन सक्दछ। स्थानीय स्वास्थ्य केन्द्र वा अस्पतालहरुमा नलगाउनुको कारणमा सम्भवत यही देखिनसक्ने कडा एलर्जी (अनाफिलाक्सिस) हुनुपर्दछ। तर पछिल्लो समय प्रयोगमा आइरहेका 'एक्विन रेबिज इम्युनोग्लोबुलिन' धेरै सुरक्षित देखिने गरेको अस्पतालमा दैनिक दर्जन भन्दा बढीले लगाउने गरेको र तत्पश्चात समस्याहरु नदेखिनुबाट पनि थाहा हुन्छ। अर्को भनेको स्वास्थ्य संस्था वा अस्पतालहरुमा 'रेबिज इम्युनोग्लोबुलिन' सुइ नै उपलब्ध नहुनु हो। यी दुई खोप बाहेक पछिल्लो समय रेबिज बिरुद्ध 'मोनोक्लोनोल एन्टीबडी' खोपको पनि विकास भइसकेको छ। यो 'ह्युमेन रेबिज इम्युनोग्लोबुलिन' जत्तिकै सुरक्षित, प्रभावकारी तर तुलात्मक रुपमा अत्यन्त सस्तो मानिएको छ। भारतमा 'मोनोक्लोनोल एन्टीबडी' खोप प्रयोगमा आइसकेको भएता पनि नेपालमा भने छैन। यसर्थ 'मोनोक्लोनोल एन्टीबडी' प्रयोगको बारे सम्बन्धित निकायको लागि सोचनीय विषय हुनसक्दछ।
'रेबिज इम्युनोग्लोबुलिन' खोप लगाउन काठमाडौं नै धाउनुपर्ने अवस्था हालसम्म पनि निरन्तर रहनु/हुनु दु:खद् हो। हरेक प्रदेशमा रहेका कुनै अस्पतालमा (जहाँ एन्टी-रेबिज खोप लगाउने गरिन्छ) 'रेबिज इम्युनोग्लोबुलिन' लगाउने सुबिधा/सेवा विस्तार गरिएमा सर्बसाधारण काठमाडौँसम्म आउनुपर्ने अवस्था वा बाध्यता सिर्जना हुने थिएन। यसको लागि रेबिज बिरुद्धको खोप लगाउने स्वास्थ केन्द्र वा अस्पतालमा कार्यरत जनशक्तिलाई 'रेबिज इम्युनोग्लोबुलिन' लगाउने तालिम दिन सकिनेछ।
डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।