काठमाडौं– वायु प्रदुषणका कारण बालबालिका महिला तथा सीमान्तकृत समुदायमा गम्भीर असर परेको सरोकारवालाहरुको निचोड छ।
ट्रिपल मिडियाले सेफ र चिल्ड्रेनको सहकार्यमा वायु प्रदुषणका कारण बालबालिका, महिला तथा सीमान्तकृत वर्गमा परेको असरबारे गरेको सरोकारवाला निकायसँगको अन्र्तक्रिया कार्यक्रममा छलफल पश्चात् उक्त निचोड देखिएको हो।
अन्र्तक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जलवायु परिवर्तन तथा दूषित हावाका कारण किटजन्य तथा श्वासप्रश्वाससम्बन्धि रोगहरुको जोखिम बढ्दै गएको बताए।
विश्वमा ९० प्रतिशत भन्दा बढी मानिसहरु प्रदुषित हावा बस्ने गरेको विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ ।
कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा जगत जीवन घिमिरेका अनुसार बालबालिकामा वायु प्रदुषणका कारण सिओपीडी, निमोनिया लगायतका रोगहरु बढ्दै गएको छ।
त्यस्तै महिलाहरुमा जलवायु परिवर्तनका असरका कारण ३५ प्रतिशतले छाला सम्बन्धि समस्याहरु बढ्दै गएका छन्। वायु प्रदुषणका कारण स्वास्थ्यमा मात्रै नभई जीवन गुणस्तरमा नै समस्या ल्याएको उनको तर्क थियो।
वातावरण विद् भुषण तुलाधरका अनुसार जलवायु परिवर्तनलाई संसारको सबैभन्दा ठूलो वातावरणाीय समस्याका रुपमा विश्व स्वास्थ्य संगठनले लिइसकेको छ।
काठमाडौ विश्वकै प्रदुषित शहरमध्येमा बताउँदै उनले वार्षिक ४८ हजार तथा दैनिक १३० मानिसहरुको नेपालमा वायु प्रदुषणका कारण मृत्यु हुने गरेको हुने गरेको बताए।
‘वायु प्रदुषणका कारण फोक्सोको दीर्घकालीन रोग ६६ प्रतिशत,३४ प्रतिशत मुटु रोग तथा ३७ प्रतिशत मुटु रोग बढेको छ’, उनले भने।
नेपालमा ५१ प्रतिशतले इन्धनका रुपमा दाउरा तथा ३ प्रतिशले गुइठाँको प्रयोग गर्दै आइरहेकोमा सुँधारिएको चुलो प्रयोग गर्न सके ६२ प्रतिशत वायु प्रदुषण घटाउन सकिने उनको तर्क थियो।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोरमैला व्यवस्थापन प्रदुषण नियन्त्रणसँग सम्बन्धित विषय हो।
हाल काठमाडांै महानगरले फोहोर मोहोरमा बदल्ने तथा धुँलोरहित काठमाडौं बनाउने योजना समेत अगाडि सारेको बताइन्।
फोहोरमैला व्यवस्थापन कै शिलशिलामा गत वर्ष महानगरले नेपालभरिका करिब ५० वटा अस्पतालहरुको अनुगमन गरेको थियो। जसमा अस्पतालहरुले मापदण्ड पुरा गरेर फोहोर मैला व्यवस्थापन गरेको छ वा छैन भन्ने परीक्षण गरेको थियो, अनुसन्धानले ६ अस्पतालहरुले मापदण्ड अनुसार फोहोरमैला व्यवस्थापन नगरेको पाइएको राईले बताइन्।
मापदण्ड पुरा नगरी फोहोरमैला व्यवस्थापन गर्ने अस्पतालहरुलाई सचेत गराई १० बुँदे सुझाव दिइएको उनले बताइन् ।