अहिले वर्षायाम सुरु भएसँगै देशैभर स्क्र्ब टाइफसका बिरामीहरु बढ्दै गएका छन्। यो एक किसिमको संक्रामक रोग हो। यो रोग किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइले मानिसमा सर्ने गर्दछ। यो रोग माइटमा हुने ओरेन्सिया सुसुगामोसी नामक रिकेट्सिएल जिवाणुबाट लाग्दछ। तर मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन।
लक्षणहरु
प्राय गरेर ९-११ दिनको धेरै ज्वरो आउने (काम ज्वरो पनि आउन सक्ने) ;
शरीरमा घाटी वरिपरि गिर्खाहरु बढ्ने
छालामा डाबर देखिने;
असाध्यै टाउको दुख्ने तथा शरीर गल्ने;
पेट दुख्ने,बान्ता हुने;
झाडापखाला चल्ने;
माइट(किरा)ले टोकेको ठाउँमा रातो डाबर आएर पछी कालोनदुख्ने दाग(इस्चार) बस्ने गर्छ;
कसैमा कलेजो तथा फियो सुनिदै जाने गर्छ भने रगतमा प्लेटलेट्स को मात्रा घट्दै जान्छ।
जटिलताहरु
जटिलता बढ्दै गएमा शरीरको हरेक अङ्गमा असर गर्ने गर्दछ। जस्तै फोक्सोमा असर गरी निमोनिया हुने, दिमागमा मेनिङजाइटिस, इन्सेफ्लाइटिस हुने,सिजर्(छारे रोग जस्तो कम्पन) हुने, मुटुमा,कलेजोमा असर गरि जन्डिस बढ्ने,मिर्गौलामा वा शरीरका रक्तकोशिकामा असर गर्ने गर्दछ। अवस्था बिग्रिदै गए सघन कक्ष(आसियु) मा र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने अवस्था पनि आउँछ। र समयमा उपचार नपाए मृत्यु समेत हुने गर्दछ।
बच्ने उपायहरु
खेतबारी, वन जंगल वा झाडीमा जाँदा वा घास काट्न जाँदा पूरा शरीर ढाकिने लुगा लगाउने,सम्भव भए सम्म बुट लगाउने;
चौरमा बस्दा गुन्द्री वा चट्याइ बिछाउने;
सके सम्म भुईंमा नबस्ने, अग्लो स्थान वा खाटमा बस्ने;
विशेष गरेर माइटको टोकाइबाट बच्ने।
उपचार
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ। समयमै उपयुक्त औषधिको प्रयोगले यो रोग निको हुन्छ।
(बालरोग विशेषज्ञ डा बिक कान्तिबाल अस्पतालमा कार्यरत छन्।)