स्किन बुस्टर के हो?
स्किन बुस्टर छाला उपचारमा प्रयोग हुने गरेको नयाँ प्रविधि हो। विगत २/३ वर्षदेखि स्किनलाई चम्किलो तथा उज्यालो बनाउनका लागि मोस्चराइजर वा हाइट्रेड गर्ने इन्जेक्सनका रुपमा यसलाई लिइन्छ। स्किन बुस्टर दिँदा छालामा सुइको सहायताले हालिरोनिक एसिड नामक औषधि दिने गरिन्छ। हालिरोनिक एसिड स्किनलाई चम्किलो बनाइरहने एक प्रकारको तत्व हो। जसले मोस्चराइजरको काम गरी स्किनमा आवश्यक मात्रामा पानीको मात्रा बनाइराख्न सहयोग गर्छ।
उमेर ढल्कदै जाँदा छालामा चम्किलोपना तथा चिल्लोपना कम हुँदै जाने समस्याको उपचारका लागि यसको प्रयोग गरिन्छ। उमेर बढ्दै जाँदा घाँटी वरिपरि, आँखाको नजिकको छाला घामले बढी प्रवाह गर्ने ठाउँहरुमा छालाको चम्किलोपना कम हुने तथा चाउरीपना कम हुने गर्छ। जसलाई बढाउनका लागि स्किन बुस्टरको प्रयोग गरिन्छ।
कसरी दिइन्छ स्किन बुस्टर?
छालालाई लाटो बनाउने एक प्रकारको क्रिम लगाएको आधा घन्टापछि इन्जेक्सनको सहायताले स्किन बुस्टर दिने गरिन्छ। सुरुवात गरेको १५/२० मिनेटपछि उपचार सकिन्छ। छालाको चमक बढाउनका लागि यो प्रचलित विधि हो। छालालाई लामो समयसम्म फाइदा गर्ने कोलाजिन जस्ता तत्वहरु समेत समावेश गरिने भएकोले यो प्रभावकारी विधि हो।
स्किन बुस्टरले कसरी काम गर्छ?
जसरी उमेर हुँदै जाँदा गाला स्याप्प हुँदै जाने, आँखा गाडिने, चाउरी पर्ने हुन्छ। सुइको माध्यमबाट हालिरोनिक एसिड दिँदा त्यसले स्याप्प परेको गालालाई उकास्छ। स्किन बुस्टरले छालाको प्राकृतिक स्वरुपलाई परिवर्तन नगरी मोस्चराइजर गर्छ। जसका कारण स्किन बुस्टरका कारण छालाको बनावट भने परिवर्तन हुँदैन।
स्किन बुस्टर दिएको १/२ सातापछि मात्रै छालाको चमक बढ्दै जान्छ। कति समयमा कति पटक स्किन बुस्टर दिने भन्ने निर्धारण व्यक्तिको छालाको प्रकृति अनुसार हुन्छ। सामान्यतया १ महिनाको समयमा २ देखि ३ वटासम्म स्किन बुस्टर दिनु राम्रो मानिन्छ। यो एकदमै महँगो प्रक्रिया हो। विदेशतिर २०/३० वर्षको उमेरमा नै छालामा चमक बढाउनका लागि स्किन बुस्टर दिने प्रचलन छ। विशेषगरी स्किन बुस्टरको काम भनेको छालाको चम्किलोपनालाई जोगाइराख्नु हो।
स्किन बुस्टरका असरहरु
स्किन बुस्टर छाला रोग विशेषज्ञको अलावा विशेष प्रकारको तालिम प्राप्त जनशक्तिले मात्रै दिन सक्छन्। यो अनुभवी चिकित्सकले मात्रै दिन सक्छन्। यसका लागि लाइसेन्सप्राप्त, अनुभवी तथा दक्ष जनशक्तिको आवश्यकता पर्छ। यदि सही रुपमा स्किन बुस्टर दिन सकिएन भने त्यसले रगतका नशाहरुमा समेत असर पर्न सक्छ। सही तरिकाबाट दिन नजानेमा छालामा धाउ हुने, मुख सुन्निने समेत हुन सक्छ।
तालिम प्राप्त जनशक्तिबाट स्किन बुस्टर दिँदा पनि सुई लगाएको ठाउँमा रातो हुने तथा सुन्निने, निलो दाग बस्ने हुनसक्छ। यद्यपि यस्तो समस्या लामो समयसम्म भने रहँदैन।
तालिम प्राप्त चिकित्सकहरुबाट स्किन बुस्टर नदिँदा छालामा दीर्घकालीन असरहरु देखा पर्न सक्छन्। त्यस कारण यसका लागि सही स्थान र व्यक्तिको छनोट आवश्यक हुन्छ। कतिपयले ब्युटिपार्लरमा गएर स्किन बुस्टर दिने गरेको पाइन्छ। यो एकदमै गलत हो। जसले छालालाई दीर्घकालीन रुपमा असर समेत गर्न सक्छ। स्किन बुस्टर दिनका लागि छाला रोग विशेषज्ञको अलावा भिन्ने प्रकारको तालिमको समेत आवश्यकता पर्छ।
(डा भट्टराई छालारोग विशेषज्ञ हुन्।)