काठमाडौं- नेपाल चिकित्सक संघद्वारा आयोजित चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनका लागि ७ वटा विषय तय गरिएका छन्। आगामी मंसिर २८ र २९ (डिसेम्बर १३ र १४, २०२४) मा कार्की ब्यांकेट, बबरमहलमा आयोजना हुने सम्मेलनको मुख्य थिम हेल्थ बियोन्ड हेल्थ रहेको छ।
सम्मेलनमा छलफल हुने विषयहरुमा 'प्रतिबद्धताबाट कार्यान्वयनसम्मः तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन घोषणापत्रका प्रगति, चुनौती र अनुभवहरू, परिवर्तनकारी स्वास्थ्य प्रणाली र युनिभर्सल हेल्थ कभरेज, अनुसन्धान, अध्ययन र सहकार्यको क्षमता निर्माण, स्वास्थ्य संकट र महामारीका लागि पूर्वतयारी, चिकित्सा शिक्षा सुधार र नवप्रवर्तन, स्वास्थ्यमा सञ्चार माध्यम, जनचेतना र उत्तरदायी पत्रकारिता र संक्रामक रोग, व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी, सरसफाइ र पोषणको प्रभाव रहेका छन्।
सम्मेलनले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध र दिगो बनाउन नीतिगत सुझावहरू प्रस्तुत गर्न मुख्य भूमिका खेल्ने बताइएको छ। 'नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहँदा यसले समग्र जनस्वास्थ्य र सामाजिक कल्याणमा नकारात्मक प्रभाव पार्दै आएको छ,' प्रेस विज्ञप्तिमा भनिएको छ, 'यस समस्याको समाधान केवल स्वास्थ्य सेवा विस्तारमा सीमित नभई, स्वास्थ्य परिणामलाई प्रभाव पार्ने सामाजिक, वातावरणीय, र आर्थिक पक्षहरूलाई समेत समेट्ने गरी व्यापक दृष्टिकोण आवश्यक छ।'
स्वास्थ्यमा समता, दिगोपन र सेवाग्राही केन्द्रित अभ्यासलाई समेटेर मात्र समावेशी समाज निर्माण गर्न सकिने उल्लेख गर्दै यस विषयमा बहस र समाधान खोज्न देश-विदेशका विज्ञ, नीति निर्माता, स्वास्थ्यकर्मी, उद्यमीहरूको उपस्थितिमा छलफल गरिने महासचिव डा सञ्जिव तिवारी हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्यलाई शिक्षा, आवास, रोजगारी र वातावरण संरक्षण जस्ता सबै क्षेत्रसँग जोडेर एकीकृत नीतिका रूपमा प्रस्तुत गर्दै यस सम्मेलनले नेपालको वर्तमान स्वास्थ्य असमानतालाई सम्बोधन गर्ने, स्वास्थ्य प्रणालीलाई सबल बनाउने र भविष्यका स्वास्थ्यसम्बन्धि आवश्यकताहरूको तयारी गर्ने लक्ष्य राखेको बताइएको छ ।