आधारभूत स्वास्थ्य सेवामा खोप कार्यक्रम
आधारभूत स्वास्थ्य सेवामा खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकताप्राप्त लागत प्रभावकारी जनस्वास्थ्यको अत्यन्तै सफल कार्यक्रमको रूपमा लिइन्छ। यस कार्यक्रमले लाखौंलाख बालबालिकालाई खोप प्रदान गरेर खोपबाट बच्चाहरुलाई बचाउन सकिने रोगहरुबाट हुने बिरामी दर, अपांगता र शिशु तथा बाल मृत्युदर समेतमा उल्लेख्य रूपमा कमी ल्याउनु, खोप कार्यक्रमले आफ्नो मुख्य लक्ष्य निर्धारण गरी सफलतापूर्वक कार्यक्रम सञ्चालित रहेको पाइन्छ।
यस राष्ट्रिय खोप कार्यक्रमबाट हाल नेपालमा ५ वर्षमुनिका सबै बालबालिकाहरु र गर्भवती महिलाको लागि निशुल्क खोप सेवा प्रदान गरी उल्लेखनीय सफलताहरु हासिल गरी हालसम्मको स्वास्थ्य क्षेत्रमै उच्चस्तरको कार्यक्रम भएको प्रमाणित भएको कुरासँग कोहीको पनि असहमति नहोला।
खोप कार्यक्रममार्फत १३ किसिमका सरुवा रोगहरु जस्तैः क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुषटङ्कार, हेपाटाइटिस बी, इन्फ्लुएन्जा र टाइफाइड विरुद्धको खोप र गर्भवती महिलाहरूको लागि टेटानस तथा भ्यागुते रोग विरुद्धको खोप (टीडी) सेवा देशभरिका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको करीब १६००० खोप केन्द्रहरु, पहाडी/हिमाली जिल्लाहरुमा घुम्ती खोप सेवाको साथै शहरी क्षेत्रमा निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुले समेत यस खोप सेवालाई प्राथमिकतामा राखी निर्बाध रूपमा सेवा उपलब्ध गराइरहेको पाइन्छ।
यसले नेपालमा खोपबाट बचाउन सक्ने रोगहरुलाई शून्य अवस्थामा ल्याउन राष्ट्रिय खोप कार्यक्रममार्फत लिएका उद्देश्यहरु निम्नानुसार रहेको देखिन्छ:
१. खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मुलन कार्यलाई निरन्तरता दिँदै सोको दिगोपन कायम राख्ने
२. प्रत्येक बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित गर्ने
३. संघीय, प्रादेशिक तथा स्थानीय स्तरका सबै वडाहरुमा सबै खोपको कभरेज ९५ प्रतिशतभन्दा माथि पुर्याउने र दिगोपन कायम राख्ने
४. गुणस्तरीय खोप सेवाको लागि दिगो वित्तीय व्यवस्थापन सुनिश्चित गर्ने र
५. खोप कार्यक्रमको अनुसन्धानलाई प्रबर्द्धन गर्ने र नयाँ कार्यक्रम विस्तार गर्ने।
नेपाल सरकारले खोप कार्यक्रम प्रभावकारी रुफमा सञ्चालन तथा व्यवस्थापनका लागि खोप ऎन २०७२ समेत जारी गरी बालबालिकाको खोप पाउने अधिकार सुनिश्चित गरेको देखिन्छ। दिगो विकास लक्ष्य र समृद्धि हासिल गर्न खोप र आधारभूत स्वास्थ्य सेवालाई स्थानीय सरकारले उच्च प्राथमिकता दिई आफ्नो तर्फबाट जनताको संवैधानिक मौलिक हकहित संरक्षकत्वको अतिरिक्त विगतमा स्वास्थ्य क्षेत्रले हासिल गरेको एतिहासिक उपलब्धिहरुलाई समेत जगेर्ना गर्दै लानुपर्नेमा कतिपय स्थानीय सरकारले आधारभूत स्वास्थ्य सेवालाई आफ्नो प्राथमिकताभन्दा अन्य विकास निर्माणका कार्यक्रममा तल्लीन भएको देखिन्छ।
स्वास्थ्य क्षेत्रले हालसम्म हासिल गरेका मुख्य उपलब्धि
१. बिफर उन्मुलन (सन् १९८० मे ८),
२. पोलियो रोग सन् २०१० देखि हालसम्म शून्य,
३. नेपालबाट कुष्ठरोग, नवजात शिशुको धनुष्टंकार जस्ता रोगहरु निवारण भएको,
४. बाल मृत्युदर तथा मातृ मृत्युदरमा उल्लेखनीय कम भएकोमा अन्तर्राष्ट्रिय स्तरमै नेपाल पुरस्कृत भएको,
५. नेपालीको औसत बाँच्ने उमेर ६९.२ वर्ष पुगेको।
पोलियो रोग शून्य भएको, मलेरिया, कालाजार, दादुरा र जापानिज इन्सेफलाइटिस जस्ता रोगहरु नियन्त्रणमा रहेको अवस्थामा पुगेको।
यी उपलब्धिहरुलाई निरन्तरता दिन र स्वास्थ्य क्षेत्रमा थप उपलब्धि हासिल गर्न स्थानीय सरकारको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ। किनभने, नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ।
त्यस्तै राष्ट्रिय स्वास्थ्य नीति अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने राज्यको दायित्व हो। संघीय कानुनले तोके बमोजिमको आधारभूत स्वास्थ्य सेवाहरु स्थानीय सरकारले प्रवाह गर्नुपर्छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ को बुँदा नम्बर ६.५ मा स्वास्थ्यमा सर्बव्यापी पहुँचको अवधारणा अनुरुप प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवालाई एकीकृत रूपमा विकास तथा विस्तार गरिनेछ भनी स्पष्ट रूपमा उल्लेख गरिएको छ।
कम लगानीमा बढी प्रतिफल दिने आधारभूत स्वास्थ्य सेवा, खोप सेवा, सुरक्षित मात्रृत्व सेवा आदिलाई प्रमुख प्राथमिकता प्राप्त स्वास्थ्य सेवाहरुमा स्थानीय सरकारको लगानी वृद्धि गरी स्वस्थ्य र उत्पादनशील नागरिक बनाई गरिबी न्यूनीकरण गरी समृद्ध समाजको विकासमा आफ्नो सम्पूर्ण स्रोत परिचालन गरी बाल मृत्युदर, मातृ मृत्युदरमा कमी ल्याई आमनागरिकको जीवनस्तर माथि उठाउनुपर्ने क्रियाकलाप गरी प्रतिव्यक्ति आयमा वृद्धि गरी समृद्धितर्फ उन्मुख भई देशको जनताको स्वास्थ्य अवस्थामा क्रमिक सुधारको बाटोमा अघि लाग्नुपर्नेमा केही वर्ष यताको स्वास्थ्य क्षेत्रमा भएको लगानी समृद्धि र विकासको मुद्दाले विगतमा हासिल भएको स्वास्थ्य क्षेत्रको उपलब्धिहरु समेत कत्तै हामी गुमाउनेतिर त उन्न्मुख छैनौं भन्ने ठूलो डर र त्रासको स्थिति पैदा भएको अनुभुति भइरहेको देखिन्छ।
यसै वर्ष मात्रै विगतमा नियन्त्रण भइसकेका केही सरुवा तथा किट जन्यरोगहरु जस्तै: जापानिज इन्सेफालिटिस, डेंगु, मलेरिया, कुष्ठरोग र दादुराका नयाँ रोगीहरु भेटिनु राम्रो संकेत मान्न सकिँदैन।
जापानिज इन्सेफलाइटिस रोग त देशको करिब आधा भागमा आफ्नो अधिपत्य जमाएर सयौं मानिसहरुलाई अक्रान्त पारी २०-३० जनाको जीवन नै समाप्त पार्न सफल भएको र बाँकी सयौं मानिस बिकलांग भई आफ्नो जीवन जिउन बाध्य भएको कुरा त कसैबाट लुकेको छैन।
त्यस्तै विगतमा नियन्त्रणमा आइसकेका अन्य रोगहरुले पनि बेला बखत आफ्नो उपस्थितिको जानकारी हामीलाई गराइरहेको अवस्थामा यसको नियन्त्रणका लागि सबै बालबालिकाहरुलाई तोकिएको खोपको सबै मात्रा अनिवार्य रूपमा तोकिएकै समयसम्म लगाउनका लागि स्थानीय सरकारले आफ्नो दायित्व पूरा गर्नु आवश्यक देखिन्छ। साथै अन्य जिम्मेवार निकायहरू संघीय, प्रादेशिक र स्थानीय सरकारबीच समन्वय, सहयोग र सहकार्यको अत्यन्तै जरुरी देखिन्छ।
त्यसको अतिरिक्त यस अवस्थालाई बेलामा नै नियन्त्रण लिन जिम्मेवार सहयोगी गैरसरकारी संस्था, दातृ निकाय र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु समेतले सरकारलाई प्राविधिक राय, सल्लाह, सुझाव र अतिरिक्त सहयोग गरी भविष्यमा हुनसक्ने ठूलो क्षति र जनस्वास्थ्यको समस्या समाधान गरी विगतमा स्वास्थ्य क्षेत्रले हासिल गरेको उपलब्धिको जगेर्ना गर्न जरुरी देखिन्छ।