- ३ महिनाको बच्चा बोकेर जिल्ला अस्पतालको ओपीडीमा आउनुभएकी डोल्पा, त्रिपुरासुन्दरी नगरपालिकाकी आमालाई ‘के समस्या भयो’ भनेर सोध्दा उहाँले जवाफ दिनुभयो- बच्चा कन्छ, रोएको रोयै गर्छ। कहिलेकाहीँ दूध नै बान्ता गर्छ, तर ज्वरो छैन। दूध पनि राम्ररी खान्छ, कोखा हान्दैन, श्वास फेर्न पनि गाह्रो छैन।
यही समस्या लिएर स्थानीय मेडिकल गएर जचाउँदा औषधि दिएछन्। उहाँले मेडिकलबाट दिएको सेफिक्जिम, एमोक्सिसिलिन अनि पारासिटामोल झोलाबाट झिकेर देखाउनुभयो। त्यो औधषि खुवाएको ५ दिनमा पनि कमी नभएपछि यहाँ आउनुभएको रहेछ। ३ महिनाको बच्चालाई आवश्यकता नै नपर्ने २ वटा एन्टिबायोटिक बेचेछन् मेडिकलवालाले, त्यो पनि चाहिनेभन्दा बढी डोजमा।
- डोल्पाकै काइके गाउँपालिका बस्ने वर्ष ३२ को पुरुष २ दिनदेखि कानमा केही हिँडेजस्तो लागेको भन्दै त्यहीँ एक प्राइभेट औषधि पसलमा गएर समस्या राखेछन्। उक्त समस्यामा कान जाँच नगरी, त्यहाँ के छ नहेरी एमोक्सिकल्याभ ६२५ एमजीको अनि कानमा हाल्ने सिप्रोफलोक्सासिन ड्रप दिएछन्।
त्यो २ वटै औषधि प्रयोग गरेको ३ दिनमा पनि कानको समस्या कम नभएपछि उनी अस्पतालमा देखाउन आए। अटोस्कोपले हेर्दा किरा कानमा रहेछ। कान सफा गरेर किरा फालेपछि समस्या कम भयो। बिरामीलाई ३ दिन खाइसकेपछि अब ५ दिनको डोज पूरा गर्नु भनेर पठायौँ।
- ठूलीभेरी- ८ जुफाल बस्ने वर्ष २२ की बहिनीको स्तनमा गाँठो आएको २ महिना भएछ। क्यान्सरको डरले जँचाउन स्थानीय मेडिकलमा जाँदा डल्लो सुकाउने औषधि भनेर क्लकसासिलिन, एजिथ्रोमाइसिन, सिटामोल, प्यान्टप दिएर पठाएछन्। तर ७ दिनसम्म औषधि खाँदा पनि डल्लो नगएपछि जँचाउन उनी दुनै आइन्। करिब ५ मिनेटको काउन्सिलिङ र सामान्य औषधि लगेर उनी विश्वस्त भई घर गइन्। करिब १ महिनापछि उक्त डल्लो कम भयो भन्दै फलोअपमा आइन्। स्थानीय मेडिकलले २ वटा कडा एन्टिबायोटिक यत्तिकै खान लगाए। जुन औषधि उनको समस्यामा पर्दैनथ्यो।
यी माथिका ३ वटा घटना प्रतिनिधि मात्र हुन्। यस्ता घटना गाउँदेखि शहरसम्म क्षेत्रमा उत्तिकै हुने गरेका छन्। तर दुर्गममा अझ बढी छ भन्दा फरक नपर्ला।
एण्टिबायोटिक व्याक्टेरिया भन्ने जीवाणुबाट हुने संक्रमणलाई निको पार्नका लागि प्रयोग गरिने औषधि हो। अझ भनौँ, यो जीवनरक्षक औषधि हो। तर माथिका ३ वटा घटनामा जसरी यसको प्रयोग भइरहँदा प्रतिजैविक प्रतिरोध बढाएको प्रष्ट देखिन्छ। चिकित्सकीय सल्लाह बिना औषधि पसलेहरुले जथाभावी एन्टिबायोटिक बेचिदिनाले विस्तारै एण्टिबायोटिकले पनि काम गर्न छाडेको छ।
चिकित्सक भेट्न जिल्ला अस्पतालमै पुग्नुपर्ने बाध्यतामा रहेका दुर्गमका नागरिकलाई औषधि पसलेहरुले रुघा, खोकी लाग्दा, सामान्य जीउ दुख्दा पनि २/३ वटा एण्टिबायोटिक दिने गरेका छन् भने बिरामीहरु पनि ‘मलाई चट्ट सन्चो हुने कडा औषधि दिनुहोस्’ भन्दै एण्टिबायोटिक किनेर खाने प्रवृत्तिले यस्ता औषधिहरु ब्याक्टेरिया प्रतिरोधी बनिरहेका छन्।
गाउँघरमा त औषधि साट्ने प्रवृत्तिले पनि यसको प्रयोग जथाभावी भइरहेको हामीले देखेका छौँ। एक जनाले ज्वरो आउँदा खाएको एन्टिबायोटिक अर्कोलाई ज्वरो आउँदा दिने प्रवृत्ति दुर्गमतिर निकै देखिन्छ। दुर्गममा काम गरिरहँदा सबैभन्दा बढी दुरुपयोग भइरहेको एण्टिबायोटिक भनेकै एजिथ्रोमाइसिन, एमोक्सिसिलिन जुन औषधि पसलेले भाइरल रुघा खोकीमा पनि दिने गरेको छ भने बिरामीले पनि सामान्य खोकी लाग्दा पनि आफैँले किनेर खाने गरेका छन्। त्यस्तै घाँटी दुख्दा बित्तिकै एमोक्सिकल्याभ बेच्ने औषधि पसले छन्। कडा औषधि दिनुहोस् भनेर माग्ने बिरामी पनि छन्।
विश्व एण्टिबायोटिक जागरुकता सप्ताह शहरमा धुमधामका साथ मनारहँदा दूरदराजका जनतालाई एण्टिबायोटिकको उचित प्रयोगका बारेमा जनचेतना जगाउन हामी चिकित्सकले पनि बिर्सिरहेका छौँ भने यस क्षेत्रमा काम गर्ने संघसंस्थाले पनि बिर्सेका छन्।
नेपालमा आजको दिनसम्म पनि चिकित्सकको प्रेस्किृप्सन बिना एण्टिबायोटिक खरिदबिक्री गर्न पाउने हुनाले पनि यसको जथाभावि हुने प्रयोग रोक्न सकिएको छैन। अबका दिनमा हरेक स्वास्थ्यकर्मीले एण्टिबायोटिकको प्रयोगमा सावधानी अपनाउन बिरामीलाई चेतना दिनैपर्छ। जस्तो कि:
१. चिकित्सकको सल्लाहबिना एण्टिबायोटिकको प्रयोग नगर्न भन्नेर आम सर्वसाधारणलाई बुझाउने।
२. औषधि पसलले प्रेस्क्रिप्सन बिना एण्टिबायोटिक बिक्री गर्न रोक लगाउने जसका लागि स्थानीय सरकार तथा प्रशासनको सहयोग लिने।
३. साना बालबालिकालाई उपचारका लागि औषधि उपयोग गर्दा अभिभावकले सतर्कता अपनाउने।
४. स्वास्थ्यकर्मीले औषधि दिँदा औषधिको बारेमा सोध्न र स्वास्थ्यकर्मीले जानकारी दिन सचेतना जगाउने।
अन्त्यमा, हाल नेपाल जस्तो देशमा स्वास्थ्य सेवामा असमान पहुँच भएकै कारण एण्टिबायोटिकहरुले गलत प्रयोग बढ्दै गएको छ भने नियमनकारी सरकारी संयन्त्र पनि दूरमा पुग्न सकेको छैन। गलत प्रयोगका कारण वर्षेनी एण्टिबायोटिकका विरुद्ध ब्याक्टेरियाले प्रतिरोधी क्षमता विकशित गर्दै गएको छ। तसर्थ यसको गलत प्रयोगलाई रोकेर भविष्यमा देशकै स्वास्थ्य प्रणालीमा आउन सक्ने क्षति कम गर्न शहरमा मात्र नभएर गाउँगाउँमा पनि सही प्रयोगका लागि चेतना जगाउन हरेक क्षेत्रले सहकार्य गर्नै पर्छ।
(डा उपाध्याय डोल्पा जिल्ला अस्पतालका मेडिकल अधिकृत हुन्।)