नेपालगञ्ज- नेपालगञ्जमा रहेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले विभिन्न पदमा जनशक्ति माग गरेको छ। कलेजले तीन सय शय्याको अस्पताल र कलेजका विभिन्न कार्यक्रम सञ्चालनका लागि जनशक्ति माग गरेको हो।
कलेजले विभिन्न विभागमा गरेर ८९५ जनालाई रोजगारीको अवसर सिर्जना गरेको छ। कलेजले निकालेको सूचना अनुसार अस्पताल र कलेजका लागि सबैभन्दा धेरै नर्सिङ जनशक्तिको माग भएको छ। कलेजले ४०० जना नर्सका लागि रोजगारी खुला गरेको छ।
कलेजले कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर र फार्मेसी देखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरेको छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि बुटवलामा रहेको थियो। गत साउनमा उक्त कलेज नेपालगन्ज हस्पटिल एन्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालीसँग मर्ज भएको थियो। मर्ज भएपछि कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि भएको र बुटवलबाट नेपालगन्जमा स्थानान्तरण भएको थियो।
'नेपालगन्जमा ३०० बेड अस्पताल सहित कलेज संचालनमा रहेको र उक्त अस्पताल तथा कलेज संचालनका लागि योग्य, अनुभवी तथा प्रतिबद्ध ईच्छुक व्यक्तिहरुको आवश्यकता रहेकोले दरखास्त आह्रवान गरिएको छ,' कलेजको सूचनामा भनिएको छ।
यो कलेज मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालनमा ल्याएका हुन्। अर्यालले केही दिन अघि दाङमा रहेको ५ सय शय्याको अस्पताल सञ्चालनका लागि पनि ८ भन्दा बढी जनशक्ति माग गरेका थिए।
अर्यालले नै दुई वटा कलेजमा गरेर १७ सय जनाभन्दा बढीलाई रोजगारी दिन लागेका हुन्।
जनशक्ति माग भए पनि नेपालमा जनशक्ति उत्पादन कम हुँदै गएको र भएका जनशक्ति पनि विदेशिने क्रम रहेका कारण माग अनुसार दरखास्त नपर्ने भन्दै कलेज तथा अस्पतालहरुले चिन्ता व्यक्त गरेका छन्।
यो पनि
पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी जनशक्ति