आजको समयमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सूची हेर्दा गैर-संक्रामक रोगहरू अग्रस्थानमा छन्। हृदयाघात, मधुमेह, क्यान्सर, उच्च रक्तचाप र मोटोपन जस्ता रोगहरूको वृद्धिदरले स्वास्थ्य प्रणालीलाई चुनौती दिइरहेको छ। यी रोगहरू एकल कारणबाट उत्पन्न हुँदैनन्। बहुक्रियात्मक सिद्धान्तले यी रोगहरूको उत्पत्तिमा जैविक, सामाजिक, आर्थिक र पर्यावरणीय जोखिम कारकहरूको सँगैको प्रभावलाई देखाउँछ।
बहुक्रियात्मक रोग उत्पत्ति: रोगको विकास कसरी हुन्छ?
रोग उत्पत्तिमा एकभन्दा बढी कारकहरूको भूमिका हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार, गैर-संक्रामक रोगहरूको ७० प्रतिशत भन्दा बढी मृत्यु बहुक्रियात्मक कारणहरूको परिणाम हो। केही प्रमुख जोखिम कारकहरूको चर्चा गरौँ:
१. शारीरिक कारकहरू
• अस्वस्थ आहार: अत्यधिक बोसोयुक्त र तारेको परिकार, कम फाइबरयुक्त खाना र चिनीको अत्यधिक सेवन प्रमुख कारक हुन्।
• शारीरिक निष्क्रियता: नियमित व्यायामको अभावले मोटोपन, मधुमेह र हृदयाघातको जोखिम बढाउँछ।
• उमेर र लिङ्ग: ४० वर्षपछि गैर-संक्रामक रोगहरूको जोखिम बढ्छ।
२. व्यवहारजन्य कारकहरू
• धूम्रपान र मद्यपान: धूम्रपानले क्यान्सर र हृदयाघातको जोखिम बढाउँछ भने रक्सीले कलेजो र रक्तवाहिनी प्रणालीमा असर पार्छ।
• तनाव व्यवस्थापनको अभाव: दीर्घकालीन मानसिक तनावले उच्च रक्तचाप र मधुमेहजस्ता रोगहरूको जोखिम बढाउँछ।
३. सामाजिक र पर्यावरणीय कारकहरू
• प्रदूषण: वायु प्रदूषणले श्वास सम्बन्धी रोगहरू र हृदयाघातको जोखिम बढाउँछ।
• आर्थिक असमानता: स्वस्थ आहार र स्वास्थ्य सेवामा पहुँचको अभाव।
हृदयाघातको उदाहरण: रोग उत्पत्तिको ज्वलन्त पाठ
हृदयाघात बहुक्रियात्मक रोग उत्पत्तिको उत्कृष्ट उदाहरण हो। अनुसन्धनले देखाएको छ कि धूम्रपानले हृदयाघातको जोखिम २-४ गुणा बढाउँछ। पारिवारिक इतिहास भएको व्यक्तिमा अन्य जोखिम कारकहरू थपिँदा जोखिम ९ गुणा बढी हुनसक्छ।
अमेरिकामा गरिएको फ्रामिंघम हर्ट स्टडीका निष्कर्षले देखाएको छ कि उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरूमा हृदयाघातको सम्भावना दोब्बर हुन्छ। नेपालमा पनि यस्तै जोखिम कारकहरू बढ्दै गइरहेका छन्।
रोकथामका लागि प्रारम्भिक र प्राथमिक दृष्टिकोण
प्रारम्भिक रोकथाम
प्रारम्भिक रोकथामले जोखिम कारकहरू विकास हुनै नदिनेतर्फ ध्यान केन्द्रित गर्छ।
• नीतिगत सुधार:
o अस्वस्थ खाना, चुरोट र रक्सीमा उच्च कर लगाउने।
o स्वस्थ आहार र शारीरिक गतिविधिलाई प्रोत्साहित गर्ने नीतिहरू।
• सामाजिक सचेतना:
o विद्यालयस्तरमा स्वास्थ्य शिक्षाको विस्तार।
o स्थानीयस्तरमा योग र व्यायाम केन्द्रहरूको प्रवर्द्धन।
• पर्यावरण सुधार:
o प्रदूषण नियन्त्रणका लागि हरित क्षेत्रको विकास।
o स्वच्छ खानेपानी र हावाको सुनिश्चितता।
प्राथमिक रोकथाम
पहिले नै जोखिममा परेका व्यक्तिहरूमा रोग विकास रोक्न प्राथमिक रोकथाम प्रभावकारी हुन्छ।
• स्वास्थ्य शिक्षा र जनचेतना
o धूम्रपान र मद्यपानको जोखिमबारे जानकारी दिने।
o नियमित व्यायाम र सन्तुलित आहारको महत्त्व।
• नियमित स्वास्थ्य परीक्षण:
o रक्तचाप, कोलेस्ट्रोल र रक्त ग्लुकोजको नियमित जाँच।
o जोखिममा परेका व्यक्तिहरूका लागि व्यक्तिगत परामर्श।
नेपालमा रोग नियन्त्रणका चुनौती र सम्भावना
चुनौतीहरू:
• स्वास्थ्य सेवाको सीमित पहुँच: ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव।
• आर्थिक र सांस्कृतिक बाधा:
o स्वस्थ आहार र नियमित स्वास्थ्य परीक्षणका लागि आर्थिक स्रोतको अभाव।
o परम्परागत अस्वस्थ जीवनशैली।
• नीतिगत कमजोरी: गैर-संक्रामक रोगहरूको रोकथामलाई प्राथमिकतामा नराख्नु।
सम्भावना:
• समुदायको सहभागिता: स्थानीय क्लब र संघ-संस्थामार्फत् स्वास्थ्य सचेतना अभियान।
• डिजिटल प्रविधिको प्रयोग: मोबाइल एप्स र टेलिमेडिसिनमार्फत् स्वास्थ्य सेवा।
• नीतिको कार्यान्वयन: गैर-संक्रामक रोगहरूको रोकथामका लागि प्रोत्साहन कार्यक्रम।
अनुसन्धानले देखाएको भविष्य
नयाँ अनुसन्धानहरूले प्रारम्भिक र प्राथमिक रोकथाममा लगानी गर्दा दीर्घकालीन रूपमा स्वास्थ्य सेवा खर्च घट्ने देखाएको छ। उदाहरणका लागि, फिनल्यान्डमा गरिएको एक अध्ययनले स्वास्थ्य शिक्षामा लगानीका कारण हृदयाघातका घटनाहरूमा ५० प्रतिशत कमी आएको थियो।
निष्कर्ष
गैर-संक्रामक रोगहरूको नियन्त्रण बहुक्रियात्मक रोकथाम रणनीतिबाट मात्र सम्भव छ। रोग लाग्नुभन्दा रोकथामको उपाय अपनाउनु दीर्घकालीन र दिगो समाधान हो। प्रारम्भिक र प्राथमिक रोकथाममा लगानी गरेर समाजमा दीर्घकालीन स्वास्थ्य सुधार ल्याउन सकिन्छ।
'स्वास्थ्य हाम्रो सम्पत्ति हो' भन्ने नाराका साथ, हरेक व्यक्तिले आजैबाट आफ्नो जीवनशैली सुधार गर्दै समाजलाई स्वस्थ बनाउन पहल गर्नुपर्छ।