काठमाडौं - दीर्घकालीन दुखाइ व्यवस्थापन र उपचार सम्बन्धी एक दिने तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
भारत लगायतका देशहरुका चिकित्सकको सहभागितामा शनिबार उक्त सम्मेलन सम्पन्न भएको हो। करिब ७० देखी ८० दुखाइ विशेषज्ञहरु सम्मेलनमा सहभागी थिए। भारतका दुखाइ विशेषज्ञहरुले त्यहाँको उचार प्रविधिका विषयमा जानकारी र अनुभव साटेका थिए।
सम्मेलन अगाडि प्रि-कन्फरेन्स वर्कशप समेत सम्पन्न गरिएको थियो। जसमा नेपालमा रहेका दुखाइ विशेषज्ञहरुलाई तालिम समेत प्रदान गरिएको थियो। जसमा टाउको, घाँटी, काँध,गोडा तथा पैताला दुखाइ सम्बन्धी भिडियो एक्सरे परीक्षण तथा दुखाइ गराउने संरचनाबारे परीक्षण तथा जाँच गराइएको नेपाल एशोसियन फर द स्टडी अफ पेनमा कोषाध्यक्षका रुपमा कार्यरत्त डा हरि रिजालले जानकारी दिए।
नेपालमा दुखाइ विशेषज्ञ एक उदाउँदो विधाका रुपमा देखिएको छ। दीर्घकालीन दुखाइमा बाँचिरहेका मान्छेहरु धेरै ठाउँमा गएर ठीक नहुँदा दुखाइबाट छुटकारा दिएर स्वस्थ बनाउने औषधि उपचारदेखि इन्टरभेन्सन समेत दुखाइ विशेषज्ञले गर्ने गर्छन्।
'गुणस्तरीय दुखाइ व्यवस्थापनतर्फ अगाडि बढ्दै' नाराका साथ आयोजित सम्मेलनमा दुखाइको हेरचाहको मापदण्डहरूलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित भएको थियो।
संस्थाकी अध्यक्ष डा रेणु गुरुङको नेतृत्वमा भएको सम्मेलनमा अल्ट्रासाउन्ड-गाइडेड मस्कुलोस्केलेटल प्रक्रियाहरूका विषयमा भएको कार्यशालाले सहभागीहरुलाई बढी आकर्षित गरेको डा रिजालले जानकारी दिए।
नेपालमा ५/६ वर्ष अगाडि दीर्घकालीन दुखाइ सम्बन्धी ज्ञान कतिपय चिकित्सकहरुलाई समेत थिएन। अहिले भने प्राय सबै चिकित्सकहरु यो विधासँग जानकार रहेको पाइएको छ। यद्यपि दीर्घकालीन दुखाइ बारेको ज्ञान समुदायस्तरसम्म पुग्न नसकेकोले यो सम्मेलन गर्नुपरेको डा रिजालले बताए।