संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार घोषणा गरेका हुन्। उनले वैश्विक स्वास्थ्य निकायले कोभिड-१९ महामारी तथा अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य संकटहरूको खराब व्यवस्थापन गरेको आरोप लगाउँदै बाहिरिने प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
ट्रम्पले विश्व स्वास्थ्य संगठन स्वतन्त्र रूपमा कार्य गर्न असफल भएको बताएका छन्। ' विश्व स्वास्थ्य संगठन सदस्य राष्ट्रहरूको अनुचित राजनीतिक प्रभावमा परेको छ,' उनले भने। साथै, उनले अमेरिकाले विश्व स्वास्थ्य संगठनमा अन्य ठूला देशहरू (चीनको तुलनामा) अन्यायपूर्ण रूपमा बढी आर्थिक योगदान गर्नुपरेको आरोप लगाए।
'विश्व स्वास्थ्य संगठनले हामीलाई ठग्यो, सबैले अमेरिकालाई ठग्छन्। अब यस्तो हुने छैन,' ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भने।
विश्व स्वास्थ्य संगठनले मंगलबार यस कदममा दु:ख व्यक्त गर्यो। 'हामी आशा गर्छौं, संयुक्त राज्य अमेरिका पुनर्विचार गर्नेछ र हामी साँच्चै आशा गर्छौं कि सबैका फाइदाका लागि सकारात्मक संवाद हुनेछ,' विश्व स्वास्थ्य संगठनका प्रवक्ता तारिक जसारेभिकले जेनेभामा पत्रकारहरूलाई बताए।
यस निर्णयअनुसार, अमेरिका १२ महिनाको सूचना अवधिपछि विश्व स्वास्थ्य संगठनबाट पूर्ण रूपमा बाहिरिनेछ र संगठनलाई दिने सबै आर्थिक सहयोग बन्द गर्नेछ। संयुक्त राज्य अमेरिका हाल विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता हो, जसले संगठनको कुल बजेटको करिब १८ प्रतिशत योगदान दिन्छ। विश्व स्वास्थ्य संगठनको हालको दुई वर्षको बजेट ६.८ अर्ब डलर रहेको छ।
स्वास्थ्य कार्यक्रमहरू जोखिममा
संयुक्त राज्य अमेरिका बाहिरिएमा, संगठनका विभिन्न महत्वपूर्ण कार्यक्रमहरू संकटमा पर्नेछन्। विश्व स्वास्थ्य संगठन भित्र र बाहिरका विज्ञहरूका अनुसार, यसले विशेषगरी क्षयरोग, एचआईभी र अन्य स्वास्थ्य आपतकालीन कार्यक्रमलाई गम्भीर असर पार्न सक्छ।
'यो वैश्विक स्वास्थ्यका लागि अहिलेसम्मकै सबैभन्दा अँध्यारो दिन हो,' जर्जटाउन विश्वविद्यालयका ग्लोबल हेल्थ कानुनका प्राध्यापक तथा विश्व स्वास्थ्य संगठन सहकार्य केन्द्रका निर्देशक लरेन्स गस्टिनले भने, 'ट्रम्पले अर्को महामारीको बीउ रोपिरहेका छन्।'
ट्रम्पको आदेशअनुसार, प्रशासनले विश्व स्वास्थ्य संगठनको महामारी सम्झौतासम्बन्धी वार्ताहरू रोक्नेछ। विश्व स्वास्थ्य संगठनसँग कार्यरत अमेरिकी सरकारी कर्मचारीहरू फिर्ता बोलाइनेछन् र आवश्यक विश्व स्वास्थ्य संगठन गतिविधिहरू अन्य साझेदारहरूलाई हस्तान्तरण गर्ने प्रयास गरिनेछ। साथै, अमेरिकी सरकारको २०२४ ग्लोबल हेल्थ सेक्युरिटी रणनीति पुनरावलोकन गरी प्रतिस्थापन गरिनेछ।
विश्व स्वास्थ्य संगठनको अर्को ठूलो दाता बिल एण्ड मेलिंडा गेट्स फाउउन्डेशन हो, तर यसको मुख्य फोकस पोलियो उन्मूलनमा छ। यसको प्रमुख कार्यकारी मार्क सुज्मानले एक्स (पहिलेको ट्विटरमा )मा संस्थाले विश्व स्वास्थ्य संगठनलाई कमजोर बनाउने होइन, अझ सशक्त बनाउने पक्षमा वकालत गर्ने उल्लेख गरेका छन्। विश्व स्वास्थ्य संगठनलाई आर्थिक रूपमा सहयोग गर्ने अर्को ठूलो राज्य दाता जर्मनी हो, जसले करिब ३ प्रतिशत योगदान दिन्छ।
जर्मनीका स्वास्थ्य मन्त्रीले मंगलबार बर्लिनले ट्रम्पलाई यस निर्णयबाट फिर्ता गराउने प्रयास गर्ने बताए। युरोपियन युनियनले यसबारे चिन्ता व्यक्त गरेको छ।
चीनको पर्यटक मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलनमा यसबारे सोध्दा भने कि विश्व स्वास्थ्य संगठनको भूमिकालाई अझ सशक्त बनाइनु पर्छ, कमजोर होइन।
'चिनले विश्व स्वास्थ्य संगठनलाई यसको जिम्मेवारी पूरा गर्न समर्थन गर्न जारी राख्नेछ, र अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य सहकार्यलाई अझ गहिरो बनाउनेछ,' प्रवक्ता गुओ जियाकुनले भने।
ट्रम्पको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय अप्रत्याशित भने होइन। उनले २०२० मा आफ्नो पहिलो कार्यकालमा पनि विश्व स्वास्थ्य संगठनबाट बाहिरिने प्रयास गरेका थिए, जसमा उनले विश्व स्वास्थ्य संगठनले चीनलाई कोभिडको उत्पत्तिबारे विश्वलाई भुलाउने प्रयासमा सहायता गरेको आरोप लगाए।
विश्व स्वास्थ्य संगठनले ती आरोपहरू अस्वीकार गर्दै आएको छ र बेइजिङलाई दबाब दिइरहेको छ ताकि कोभिडको उत्पत्तिबारे थप डेटा साझा गरियोस् । चाहे त्यो संक्रमित जनावरहरूको सम्पर्कबाट आएको हो वा स्थानीय प्रयोगशालामा गरिएका अनुसन्धानहरूका कारण भएको हो।
अमेरिकी कानुनअनुसार, विश्व स्वास्थ्य संगठन छोड्न एक वर्षको सूचना दिनुपर्छ र बाँकी बक्यौता भुक्तान गर्नुपर्छ। ट्रम्प प्रशासनले सन् २०२० मा यस निर्णयलाई कार्यान्वयन गर्न थाले पनि, जो बाइडेनले राष्ट्रपति पद सम्हालेपछि पहिलो दिनमै उक्त निर्णय उल्ट्याएका थिए।
भविष्यका सम्भावित असरहरू
१. स्वास्थ्य कार्यक्रमहरूमा प्रभाव:
अमेरिकाको विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णयले विकासशील देशहरूमा चलिरहेका एचआईभी, क्षयरोग, मलेरिया नियन्त्रण, मातृ-शिशु स्वास्थ्य र खोप कार्यक्रमहरू संकटमा पार्न सक्छ।
२. महामारी व्यवस्थापनमा जोखिम
विश्वभरि नयाँ महामारीहरू फैलनसक्ने सम्भावना उच्च नै छ। विश्व स्वास्थ्य संगठनको कोष कम हुँदा, भविष्यमा महामारी नियन्त्रण तथा खोप वितरणमा ढिलाइ हुनसक्छ।
३. नेपाल लगायत अन्य देशहरूमा असर
नेपालजस्ता विकासशील देशहरू विश्व स्वास्थ्य संगठनको प्राविधिक तथा आर्थिक सहयोगमा धेरै निर्भर छन्। यदि विश्व स्वास्थ्य संगठन कमजोर भयो भने, नेपालमा हुने खोप कार्यक्रम, मातृ-शिशु स्वास्थ्य सेवा र महामारी आपतकालीन सहायता प्रभावित हुनसक्छ।
४. अन्तर्राष्ट्रिय स्वास्थ्य कूटनीतिमा परिवर्तन
संयुक्त राज्य अमेरिकाको यो कदमले विश्व स्वास्थ्य संगठनको नेतृत्वमा अन्य राष्ट्रहरूको प्रभाव बढाउन सक्छ, विशेषगरी चीन, युरोपेली युनियन र अन्य अन्तर्राष्ट्रिय संस्थाहरू।
५. अमेरिका स्वयंमा प्रभाव
संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिएपछि, अमेरिकामा पनि संक्रमण रोग नियन्त्रण, औषधि अनुमोदन र अनुसन्धान सहकार्य मा असर पर्नसक्छ।
ट्रम्पको यो निर्णयले वैश्विक स्वास्थ्य सुरक्षालाई कमजोर बनाउने, विकासशील देशहरूलाई ठूलो प्रभाव पार्ने, र भविष्यका महामारी नियन्त्रणका लागि चुनौती सिर्जना गर्ने देखिन्छ।
नेपाल लगायतका देशहरूले वैकल्पिक स्वास्थ्य सहायता स्रोतहरू खोज्नुपर्ने स्थिति आउन सक्छ।