विराटनगर- कोशी प्रदेशमा क्यान्सरको उपचार सेवा अहिले फैलिँदो क्रममा छ। विभिन्न मेडिकल कलेजले छुट्टै क्यान्सर सेन्टर बनाएका छन्। त्यहाँका बिरामीको त्यहीँ उपचार गर्ने र भारतीय सीमाका नागरिकलाई भित्र्याउने योजनाअनुरुप उनीहरुले सेवा विस्तार गरिरहेका छन्। त्यसैमध्येको एक हो विराट मेडिकल कलेज, जुन पछिल्ला वर्षहरुमा क्यान्सर उपचारमा केन्द्रित हुँदै गएको छ। क्यान्सरमा केन्द्रित हुने आँटका पछाडिका आडभरोसा डा शिवराज शर्माहरु हुन्।
विगत दुई वर्षदेखि विराटनगर केन्द्रित उपचार सेवा दिइरहेका क्यान्सर सर्जन डा शर्मा आमजनमा उति सुनिइसकेको नाम होइन, तर क्यान्सरमा उपचारमा उनले अवलम्बन गरेको मार्ग प्रशंसनीय रहेको उनलाई चिन्ने-जान्नेहरु बताउँछन्। त्यही कारण उनी बिरामीहरुको भरोसा जितिरहेका छन्।
क्यान्सर सर्जरीमा प्रतिबद्ध उनी हरेकपल्ट प्रतिबद्धता दोहोर्याउँछन्- वान ब्रान्ड वन इमेज लिएर हिँड्छु। त्यो भनेको अन्कोसर्जन हो। मलाई न दायाँ गर्नुछ, न बायाँ गर्नुछ। यसैमा केन्द्रित हुनुछ।'
त्यसो गर्दा बिरामीले सही उपचार पाउने उनी ठान्छन्। विदेशमा क्यान्सर उपचारले फड्को मार्नुको कारण उपचारमा विशेषज्ञले अपनाउने 'डेडिकेसन' मुख्य रहेको उनले बुझेका छन्। उनी भन्छन्, 'विदेशीहरु अघि हुनुको मुख्य कारण निश्चित पद्धति बनाएका छन्, त्यसैमा केन्द्रित भएर काम गरेका छन्। हामीले पनि विदेशको एक्सपोजर पाएका छौं भने त्यो अपनाउँ। त्यसको नतिजा राम्रै आउँछ।'
सुरुमा उनले आफू 'क्यान्सर सर्जरी भन्दा दायाँबायाँ' नगर्ने बताउँदा उनका शुभचिन्तक, अग्रजहरुले सुझाउँथे- 'धत्, यति सानो ठाउँमा त्यस्तो भनेर हुन्छ? कति आउलान् क्यान्सरको सर्जरी गराउन? सर्जरी जानेकै छ, जनरल सर्जरी पढेकै छौं, अरु पनि शल्यक्रिया गर्दै गर।'
सुरुमा दैनिक एक/दुई जना मात्रै हुन्थे, तरपनि उनले धेर्यै गरे। कहिलेकाहिँ बिरामीको सानो संख्या र धेरै भन्दा धेरैलाई उपचार सेवा दिने उनको हुटहुटीबीच द्वन्द्व पनि हुन्थ्यो। तर, उनी धैर्यताले त्यसलाई परास्त गर्थे। अहिले आफूसँग दैनिक १२/१३ जना रहेको बताउँछन्। गएको डेढ वर्षमा ४०० जना भन्दा बढीलाई सेवा दिएका छन्।
उनले उपचार सेवा दिएका बिरामीले नै अन्य बिरामीलाई उनीकहाँ पठाउने गरेका छन्। वरिष्ठ फिजिसियनहरुले विश्वास गरेर उनीकहाँ रिफर गर्न थालेका छन्।
डा शर्मा एउटा कुरामा विशेष जोड दिन्छन्। त्यो हो, क्यान्सर उपचार प्रोटोकलमा आधारित हुनुपर्छ। उनी निर्मम भाषामा भन्छन्, 'क्यान्सरमा कतिपय अवस्थामा आज पत्ता लाग्यो भने भोलि नै काटिदिने (सर्जरी गर्ने) चलन छ। सर्जरी गर्नुअघि यकिन गर्नुपर्छ। उपचारका आधुनिक प्रणाली अपनाउँदै त्यहाँसम्म पुग्नुपर्छ।'
उनले अहिले विराटमा बसाउने खोजेको थिति भनेकै उपचार प्रोटोकल हो। जहाँ उनी मात्रै होइन, ट्युमर बोर्ड (चिकित्सकको समूह) नै संलग्न हुन्छ। उनलाई लाग्छ- हामी भगवान होइनौं, मृत्युबाट नै जोगाउने ग्यरेन्टी गर्न सक्दनौं तर कोशिस गर्छौं। त्यसैले उपचारको योजनामा कहीँ गडबडी हुनुहुँदैन।'
डा शर्माले विराटनगरमा पेटको क्यान्सर, पित्तथैली र नलीको क्यान्सर, प्यान्क्रियाज क्यान्सर र स्तन क्यान्सर, सानो-ठूलो आन्द्रा, एपेन्डिक्स आदिको क्यान्सरको उपचारबाट गरेका थिए। यसक्रममा उनले महशुस गरे, 'लेट स्टेज'का बिरामी धेरै आउँछन्। विश्वमा 'स्टेज ४ पेरिटोनियल सर्फेस अन्कोलोजी' भन्ने नयाँ अवधारणा अनुसार उपचार भइरहेको छ। स्टेज ४ मा पुगेको पाठेघरको क्यान्सर, पेटको क्यान्सर, आन्द्रा पित्तथैलीको क्यान्सर शरीरका अन्य भाग वा अंगमा पनि फैलिएको हुन्छ। त्यसको पनि उपचार गर्ने विधि छन्। उनले भारतको टाटा मेमोरियल क्यान्सर सेन्टरमा क्यान्सर सर्जरीको तालिम लिँदा हाइपेक सर्जरीबारे थाहा पाएका थिए। उनले यसबारे थप ज्ञान भने नेशनल क्यान्सर सेन्टर सिंगापुर पुगेर लिए र फ्रान्समा नौ महिना कसरी चौथो स्टेजको क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने थप अध्ययन गरे।
त्यसपछि उनले 'लेट स्टेज' क्यान्सर बिरामी लक्षित उपचार पद्धति हाइपेक विराटनगरमा सुरु गरे। उनका अनुसार हाइपेक भक्तपुर क्यान्सर अस्पताल र विराट मेडिकल कलेजसँग मात्रै छ। काठमाडौंमा डा दिप लामिछाने र बाहिर आफूले सुरु गरेको उनको दाबी छ। क्यान्सर फैलिसकेर चौथो चरणमा पुगिसकेका बिरामीहरुका लागि शल्यक्रिया गरेर क्यान्सरको सम्पूर्ण कोषिका निकाल्ने तथा शल्यक्रियाकै क्रममा पेट भित्र केमोथेरापी दिने क्रममा प्रयोग हुने प्रविधि नै हाइपेक हो। डा शर्मा भन्छन्, 'आँखाले देख्ने क्यान्सर जहाँ हुन्छ, त्यो हामी काटेर फाल्छौं। जहाँ देखिदैन, त्यहाँ हामी मेसिनबाट केमो दिन्छौं। केमो डोजमा दिएपछि क्यान्सर मार्ने काम गर्छ।'
यसको प्रयोगबाट राम्रो नतिजा प्राप्त गरेका छन्। हालसालै एकजना २५ वर्षे युवा जसले राजीव गान्धी पुगेर कोलेरेक्टल क्यान्सरको उपचार गराएका थिए, उनलालाई फेरि यही प्रविधिबाट उपचार गरेका छन्। ती युवा यसबारे जानकार थिएनन्। चिकित्सकले नबताउँदा समस्या फर्किर आयो। उनले यसको प्रयोग गरेको बताउँछन्। यहीँनेर जोड दिन्छन्, 'क्यान्सरकै तालिम लिएको सर्जन किन चाहिन्छ त? यस्तैका लागि रोग फर्केर पनि आउँछ । सर्जरी त अन्य सर्जनले पनि गर्छन् । तर, कुन विधि, पद्धति र प्रविधिले उपचार गर्दा बिरामीलाई राम्रो हुन्छ भन्ने निर्णय त्यसैमा विशेषज्ञता गरेको सर्जनले मात्रै गर्न सक्छ।'
सर्जनका रुपमा आफूभन्दा धेरैजना नै अब्बल र अनुभवी रहेको बताउँदै प्रोटोकलअनुसार अघि बढ्नुपर्नेमा जोड दिन्छन्। 'उपचार प्रोटोकल अनुसार गरिएन भने हामीले क्यान्सर हेरेर काट्दिहाल्छौं। फेरि ११ महिनामा फर्किहाल्छ,' उनले भने, 'हामीले हिलोमै हिँड्ने होइन, पहिले सुकाउनुपर्छ।'
क्यान्सर उपचारमा पहिले 'सबथोक' चलिरहेको बताउँदै अब भने प्रश्न उठ्न थालेको उल्लेख गर्छन्। क्यान्सर उपचार टिम एप्रोच र प्रणालीमा आधारित रहेको बिर्सिन नहुने उनको भनाइ छ। उनले अहिले गरिरहेको नै त्यही हो। जसले सर्जिकल अन्कोलोजीको विकास हुनुका साथै बिरामी पनि त्यत्तिकै खुशी रहेको बताउँछन्। उनले भने, 'पूर्वका बिरामीलाई प्रोटोकल अनुसार गुणस्तरीय उपचार दिने हो। एउटा विश्वास जगाउन खोजेको हो। सुरुमा केही विचलित पनि हुन्थें। तर धैर्य गरियो। अहिले त्यसैको प्रतिफल प्राप्त भएको छ।'
आफूलाई यो तहको आत्मविश्वास जगाइदिनुको श्रेय कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि दिन्छन्। क्यान्सरका लागि बलियो विभाग बनाइदिएकाले अपेक्षित नतिजा आइरहेको उनको भनाइ छ। 'हामीसँग दुई/तीन जना इन्टरभेन्सन रेडियोलोजिस्ट छन्। त्यो विभाग बलियो बनाउनुभएको छ। अन्को प्याथोलोजी, फिजियोथेरापी बलियो छ। बायोप्सीका लागि फ्लोजन सेक्सन छ। हामी अप्रेसन गर्दा गर्दै त्यो ४ किल्लामा क्यान्सर छ, छैन भन्ने पत्ता लगाउन सक्छौं, ' उनले भने, 'यसैगरी क्यान्सर कस्तो प्रकार हो, त्यो सीटी एमआरआईबाट हुन्छ।' उपचारमा प्रविधिसँगै हिँड्नुपर्ने उनको मान्यता छ।
क्यान्सरमा रुचि उनको रेसिडेन्सीका क्रममा जागेको हो। वीरगञ्जको नेशनलमा मेडिकल कलेजमा रेसिडेन्सी गरेका उनले त्यहाँ यसबारे जानकारी पाएनन्। कलेज नै ठीकठाकै चलिरहेकाले ठूलो अप्रेसनमा पनि त्यति अनुभव लिन पाएनन्। जब म पोस्टिङ लिएर गएको भरतपुर क्यान्सर अस्पताल पुगे, त्यसपछि उनको दिलदिमागमै क्यान्सर सर्जन बन्ने कुरा कब्जा जमायो। त्यहाँ कार्यरत डा गंगा सापकोटाले उनको त्यो रुचिमा मलजल गरे। त्यहीँ जाने, क्यान्सर र त्यसको शल्यक्रिया बारे।
त्यसपछि अष्ट्रियाको भियानामा कन्फ्रेन्सका लागि पुगेको समयमा टाटा मेमोरियल क्यान्सर अस्पतालका एकजना चिकित्सक भेट्नु अर्को टर्निङ प्वाइन्ट बन्यो। उनकै सल्लाहमा टाटा मेमोरियलमा तालिका लागि दिएको आवेदन स्वीकृत भयो। विराटनगरकै स्थानीय उनले स्कुलसम्म त्यही पढेका हुन् भने प्लस टु काठमाडौं र एमबीबीएस नेपालगञ्ज मेडिकल कलेजबाट गरेका हुन्।
अहिले उनी विराट मेडिकल कलेजमा अन्कोसर्जनका साथै असिस्टेन्ट प्रोफेसर छन्। आफूले अन्को सर्जरीमै केन्द्रित गरिरहेका उनी अन्कोलोजीमै असिस्टेन्ट प्रोफेसर प्राप्त गर्नुलाई सफलताको एउटा सिँढीका रुपमा लिन्छन्।