काठमाडौं - पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन्।
सरकारले सुरु गरेको पोठघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप अभियानबाट ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएका हुन्। उक्त खोप अभियानबाट सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीहरुले खोप लगाएका छन्। त्यहाँ सबैभन्दा धेरै २ लाख १९ हजार ८३ जनाले खोप लगाएको परिवार कल्याण महाशाखाले जनाएको छ।
सबैभन्दा कम खोप लगाउने संख्या कर्णाली प्रदेशमा छ। त्यहाँ ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन्। यस्तै, मधेश प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको महाशाखाको तथ्यांक छ।
जनसंख्याका आधारमा बागमती प्रदेश धेरै र कर्णाली प्रदेशमा खोप लगाउने किशोरीको संख्या कम देखिएपनि सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा भने कोशी प्रदेशमा धेरै र मधेश प्रदेशमा कम देखिएको छ।
महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमले खोपलको उपलब्धिका आधारमा कोशी प्रदेशमा धेरै देखिएको बताए।
उनले भने, ‘बागमती प्रदेशमा धेरै जनसंख्या छ। त्यसैले त्यहाँ खोप लगाउने पनि धेरै हुन्छन्। तर हामीले हाम्रो लक्षित वर्ग हेर्छौ। उपलब्धिका आधारमा कति प्रतिशतले खोप लगाए भनेर हेर्दा यो प्रतिशत देखिएको हो।’
यो खोप अभियान माघ २२ गतेदेखि सुरु भएको थियो। सो समयमा सरस्वती पुरा परेकाले पनि मधेश प्रदेशमा अभियान केही दिन प्रभावित भएको उनले बताए।
‘मधेशमा सरस्वती पुजालाई धुमधामका साथ मनाउने रहेछ। त्यो समयमा केही दिन विद्यालयहरु बन्द भए। अभियानको सुरुका दिन प्रभावित भएका कारण पनि मधेशमा उपलब्धि तुलनात्मक रुपमा कम भयो।’ उनले भने।
कर्णाली प्रदेशमा अझै पनि मनाङ, मुस्ताङ हुम्ला र डोल्पामा खोप अभियान सुरु हुन बाँकी नै रहेको उनले जानकारी दिए। आजसम्म खोप लगाउन किशोरीको संख्या १२ लाख पुग्ने उनको अनुमान छ। पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप १४५ देशले लगाइसकेकाले ढुक्क भएर लगाउन उनको आग्रह छ। यो खोप कुनै पनि किसिमको ट्रायलको लागि नभई क्यान्सर रोगबाट बचाउनका लागि सुरु गरिएको उनले स्पष्ट पारे।
‘यो खोपलाई लिएर जति पनि हल्लाहरु फैलिएका छन्। त्यो सबै निराधार हुन्। यो खोप कुनै पनि ट्रायलको लागि लगाइएको होइन। यो खोप सुरक्षित छ। सबैले ढुक्क भएर लगाउन म अनुरोध गर्छु,’ उनले भने।
माघ २२ गते सुरु भएको यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म किशोरीहरुलाई सरकारले एपपिभी खोप लगाइरहेको छ।