काठमाडौं- महोत्सव-जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादकको संलग्नता भएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।
भनिएको छ, 'केही मेला, महोत्सब जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादकको संलग्नता भएको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । कानून विपरितको कामकारवाही नगर्नु नगराउनुहुनको साथै सो विपरितको कामकारवाही भएमा कानून बमोजिम कारवाही हुने जानकारी गराइन्छ।'
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, इन्टरनेट, इ-मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङबोर्ड, भित्ते लेखन, लोगो, संकेत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाउने रहेको प्रति ध्यानाकर्षण गराएको छ।
'नेपाल लिटरेचर फेस्टिवल २०८०' मा सूर्य टोबाकोको निर्बाध प्रबर्द्धन गरिएको थियो भने यसपल्ट पनि 'सेसन स्पोन्सर'का रुपमा उक्त सुर्तिजन्य उत्पादक कम्पनी रहेको आयोजक संस्थाले 'सगर्व' उल्लेख गरेको छ।
-1740554132.png)
सूर्तिजन्य पदार्थको सहयोग समेत लिन नहुने तथा सार्वजनिक व्यक्तित्वले त्यस्ता कार्यक्रममा सहभागी हुन नपाउने पनि कानुनमा व्यवस्था छ। त्यस विपरित गत वर्ष मन्त्री, पूर्वमन्त्री, पूर्वप्रधानन्यायाधिश र बहालवाला सांसद्हरु सहभागी भएका थिए। जसको सार्वजनिक रुपमा विरोध भएको थियो।
मन्त्रालयको विज्ञप्ति, मन्त्रीको नाम सेसनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गरेपनि मन्त्री प्रदीप पौडेलले उक्त कार्यक्रममा सहभागिता बारे कुनै प्रतिक्रिया दिएका छैनन्।
आयोजक बुकवर्म फाउन्डेसनले भने फागुन १६ गतेको पहिलो सेसनमा मन्त्री पौडेल नै वक्ता रहेको बताएको छ। उसले जारी गरेको सेड्युलअनुसार दोस्रो दिनको पहिलो सेसनमा 'स्वास्थ्य सेवामा जनताको पहुँच'मा मन्त्री पौडेल सहभागी हुनेछन्।
यही मन्त्री परिषद्मा रहेका संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले भने सूर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालको सहयोग स्वीकार गरिएको काठमाडौं कलिङ लिटरेरी फेस्टिबलमा प्रमुख अतिथि बन्न अस्वीकार गरेका थिए।

सुर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालको प्रायोजनमा हुने साहित्य सम्मेलनमा पर्यटनमन्त्री पाण्डे नजाने
त्योबेला स्वास्थ्य मन्त्रालय मातहतकै निकाय कर कोषले उक्त कार्य ऐन विपरित रहेको बताएको थियो। सरकारकै एउटा निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ऐनविपरित कार्य भइरहेको बताएकाले आफूले कार्यक्रममा उपस्थित नहुने निर्णय लिएको पाण्डेले बताएका थिए।
मन्त्रालयका अनुसार सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र यस्ता पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने जनाएको छ। जसलाई रोक्न सूर्तिजन्य पदार्थको (नियंन्त्रण र नियमन गर्ने) ऐन, २०६८ र सूर्तिजन्य पदार्थको (नियंन्त्रण र नियमन गर्ने) नियमावली, २०६८ र सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ जारी गरिएको उल्लेख गरिएकव छ।
नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट बार्षिक लाग्ने अनेकन दिर्घ रोगहरू, उत्पन्न रोगहरूको उपचारमा अरबौं रूपैयाँ खर्च र ३७,००० भन्दा बढीको मृत्यु हुने तथ्यांकले देखाएको मन्त्रालयको भनँइ छ । तसर्थ उपरोक्त ऐन, नियमावली, निर्देशिकामा भएका व्यवस्थाहरुको पालना गर्न गराउनु हुन मन्त्रालय अपिल गरेको छ।