काठमाडौं- नेपाल लिटरेचर फेस्टिवलमा सुर्तीजन्य पदार्थ उत्पादकको सहयोग नलिइएको भन्दै आयोजकले ढाँटेको पाइएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेललगायत स्वास्थ्य क्षेत्रकालाई पठाइएको निमन्त्रणा पत्रमा सुर्तीजन्य पदार्थ उत्पादकको कुनैपनि प्रकारको सहयोग नलिइएको बेहोरा उल्लेख भएको पाइएको हो।
आयोजक बुकवर्म फाउन्डेसनका तर्फबाट फेस्टिवल निर्देशक निरज भारीले पठाएको पत्रमा उक्त बेहोरा छ। कानुन विपरित सुर्तीजन्य पदार्थ उत्पादकको सहयोग लिनुका साथै लोगो प्रबर्द्धन गरेका विषयमा प्रश्न उठेपछि बुधबार आयोजकले औपचारिक पत्र पठाएर त्यस्तो बताएको हो।
पत्रमा त्यस्तो उल्लेख भएपनि फेस्टिवलको एउटा सेसनको प्रस्तुतकर्ता नै सुर्तिजन्य पदार्थ उत्पादक सूर्य टोबाको रहेको छ। जसको आयोजक आफैंले केही दिनअघि सामाजिक सञ्जालमार्फत् पोष्टरसहित घोषणा गरिसकेको छ।
-1740554132.png)
पत्रमा भनिएको छ, 'यस कार्यक्रमका लागि सुर्तीजन्य उत्पादनसँग सम्बन्धित कुनै पनि कम्पनीबाट वित्तीय वा अन्य कुनै प्रकारको सहयोग महोत्सवले नलिएको कुरामा हामी तपाईंलाई आश्वस्त गर्न चाहन्छौं। हामी नेपाल सरकारद्वारा निर्धारित कानुनहरु पूर्ण रूपमा पालना गर्न प्रतिबद्ध छौँ।' आयोजक संस्थाले मन्त्री पौडलको सहभागिताको क्रममा समस्या सृजना हुने कुनै विषयवस्तुमा छलफल नहुने सुनिश्चित गरेको छ।
आयोजक संस्थाले सहयोग नलिइएको उल्लेख गरेको छ। जबकी सामाजिक सञ्जालमा समेत कानुन विपरित सूर्य टोबाकोको लोगो, संकेत, चिन्ह राखेर प्रबर्द्धन गरिरहेको छ।
मन्त्रालयले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० उल्लेख गर्दै भनेको छ, 'उत्पादक लगायत कसैले पनि अन्तरक्रिया कार्यक्रम, होडिङबोर्ड, भित्ते लेखन, लोगो, संकेत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाउने प्रावधान छ।'
नेपाल लिटरेचर फेस्टिवलको अघिल्लो संस्करणको प्रायोजक नै सूर्य टोबाको रहेको थियो। कानुन उलंघन भएको कुरा उठेपछि यसपल्ट 'सेसनको प्रस्तुतकर्ता'का रुपमा सहयोग लिइएको हो। मन्त्रालयले नै त्यस्तो गर्न नपाइने र पाइएमा कारबाही गर्ने बेहोराको बिज्ञप्ति जारी गरेपछि आयोजक संस्थाले उक्त विषय उल्लेख गरेर पत्र पठाएको हो।
सार्वजनिक निकायका पदाधिकारी सहभागी हुन नपाउने
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ सार्वजनिक निकायका पदाधिकारीहरुले सहभागी हुन नपाउने भनिएको छ।
जहाँ उल्लेख छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सूर्ति उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सूर्ति उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सूर्ति उद्योगको सहयोगमा वा सूर्ति उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन।’
फेस्टिवलमा सूर्य टोबाको 'सेसन प्रस्तुतकर्ता' रहेको अवस्थामा मन्त्री पौडेललगायतको उपस्थिति समेत कानुनविपरित हुने देखिन्छ।
महोत्सव-जात्रामा सुर्तीजन्य पदार्थ उत्पादकको संलग्नता प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, सेड्युलमा स्वास्थ्य मन्त्रीको नाम !