पोखरा- गण्डकी मेडिकल कलेजमा 'इथिक्स इन याक्सन : ब्रिजिङ मेडिसिन एन्ड ल' शिर्षकको निरन्तर मेडिकल शिक्षा (सिएमई) सम्पन्न भएको छ। सो कार्यक्रममा चिकित्सा नैतिकता र मेडिको-लिगल जिम्मेवारीहरूबारे महत्वपूर्ण छलफल र ज्ञान सत्रहरू आयोजना गरिएको थियो।
सिएमई कार्यक्रम मेडिको-लिगल सोसाइटी अफ नेपाल र गण्डकी मेडिकल कलेजको फरेन्सिक मेडिसिन विभागको संयुक्त आयोजनामा गरिएको थियो।
कार्यक्रममा समावेश गरिएका विषयहरू वर्तमान चिकित्सा अभ्यासमा अत्यावश्यक रहेको नैतिक सिद्धान्त, उचित मेडिकल रेकर्ड-रखाइ र कानुनी पक्षलाई समेटिएका थिए।
कार्यक्रमको शुभारम्भ डा नीलु हिरचनद्वारा स्वागत सम्बोधन र अतिथि तथा वक्ताहरूको परिचयबाट भयो। त्यसपछि देवदह मेडिकल कलेजका डा शर्मिला गुरुङले चिकित्सा नैतिकताको समग्र अवलोकन पेश गरेकी थिइन्।
नेपाल मेडिकल काउन्सिलको कोड अफ एथिक्सबारे लुम्बिनी मेडिकल कलेजका डा आलोक अत्रेयाले जानकारी दिँदै नैतिक मूल्य र मान्यताहरूलाई उजागर गरे।
पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका डा सृजना कुँवरद्वारा मेडिकल रेकर्ड-रखाइको महत्व, उत्कृष्ट अभ्यासका उपायहरू र सम्भावित त्रुटिहरूलाई उजागर गरिएको थियो।
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पंकज कुमार सिंहद्वारा मेडिकल नेग्लिजेन्सको सन्दर्भमा केस-स्टडीहरू, कानूनका उदाहरणहरू र कर्तव्य र मापदण्डका बारेमा विस्तृत छलफल गरिएको थियो।
मेडिको-लिगल सोसाइटी अफ नेपालका अध्यक्ष तथा गण्डकी मेडिकल कलेजका फरेन्सिक विज्ञ डा नुवादत्त सवेदीद्वारा नेपालको चिकित्सा सम्बन्धि कानुन र चिकित्सकको जिम्मेवारीबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरिएको थियो।
कार्यक्रमको अध्यक्षता गण्डकी मेडिकल कलेजका प्राचार्य तथा प्रमुख कार्यकारी अधिकृत डा रविन्द्र प्रसाद श्रेष्ठद्वारा गरिएको थियो र कार्यक्रमको विशेष अतिथि मेडिकल सुपेरीटेनडेन्ट डा टुमाया घले थिइन्।
समापन सम्बोधनका क्रममा डा रवीन्द्र प्रसाद श्रेष्ठले आजको परिवर्तनशील स्वास्थ्य क्षेत्रमा नैतिक निर्णयप्रक्रियाको महत्वलाई उजागर गरे।
कार्यक्रममा सहभागीहरूले चिकित्सा नैतिकता, मेडिको-लिगल जिम्मेवारी र कागजातिकरणका सर्वोत्तम अभ्यासहरूको बारेमा बहुमूल्य ज्ञान प्राप्त गरे। वास्तविक घटनाहरूमा आधारित केस-स्टडीहरू मार्फत सहभागीहरूलाई मेडिकल नेग्लिजेन्स र कागजातिकरणका त्रुटिहरूले उत्पन्न गर्ने कानुनी समस्याहरूको गहिरो बुझाइ प्राप्त भयो।