काठमाडौं- नेपालमा विष सम्बन्धी समन्वयात्मक उपचार सेवा प्रदान गर्ने पहिलो संस्थागत प्रयासका रूपमा स्थापना गरिएको विष सूचना केन्द्रको प्रोजेक्टले बिएमजे साउथ एसिया अवार्ड २०२४-२५ पाएको छ।
भारतको नयाँ दिल्लीमा मार्च २९ मा आयोजित एक समारोहमा केन्द्रका प्रतिनिधिलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा दक्षिण एसियाका विभिन्न देशका स्वास्थ्य सेवा नेतृत्वकर्ताहरूले आफ्ना परियोजनाहरू निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए।
नेपालबाट परियोजनाको तर्फबाट डा रामु खरेल (परियोजनाका प्रमुख अनुसन्धानकर्ता), डा. राजेश शर्मा (पूर्व एसपिआई) र अञ्जना थापा (अनुसन्धान संयोजक) सहभागी भएका थिए।
'बिएमजे दक्षिण एसियाबाट प्राप्त यो मान्यता हाम्रो टोली, साझेदारहरू र समर्थकहरूको समर्पण र सहकार्यको प्रमाण हो,' अवार्ड पाएपछि डा खरेलले भने, 'यो सम्मानले हाम्रो सफलतालाई मात्र होइन, नेपालमा विष सेवा विस्तार र दीगो प्रणाली निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई पनि थप सुदृढ बनाएको छ।'
'बिएमजे दक्षिण एसिया अवार्ड' दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित स्वास्थ्य सेवा पुरस्कारहरूमध्ये एक हो। स्वास्थ्य सेवा, अनुसन्धान र नवीनतामा उत्कृष्ट योगदान दिने परियोजनाहरूलाई यो अवार्डबाट सम्मानित गरिन्छ।
नेपालमा सन् २०२३ बाट यो परियोजना पायलट प्रोजेक्टका रुपमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फार्माकोलोजी विभाग अन्तर्गत प्रारम्भ गरिएको थियो। जसमा विभागका डा राकेश घिमिरेले टिचिंग अस्पतालबाट स्थानीय नेतृत्व प्रदान गरेका छन्।
यस परियोजनामा डा रामु खरेलले अमेरिकास्थित ब्राउन विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागबाट प्राप्त अनुदानमार्फत नेतृत्व गरेका छन्। साथै, स्थानीय गैर-नाफामूलक संस्था आस्क फाउन्डेसनबाट महत्वपूर्ण समन्वय, लजिस्टिक र थप आर्थिक सहयोग प्राप्त भएको थियो।
हाप्सा नेपाल र आस्क फाउन्डेसनको सहयोगमा कोभिड-१९ महामारीको समयमा विकास गरिएको हटलाइन पूर्वाधारलाई उपयोग गर्दै र बलियो स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारीको माध्यमबाट टोलीले चौबिसै घण्टा र सातै दिन सेवा दिने मोडेल निर्माण गरेको हो। जसले देशभरिका स्वास्थ्य सेवा प्रदायकहरूलाई विष सम्बन्धी आपतकालीन अवस्थामा तत्काल सुझाव र मार्गदर्शन प्रदान गर्छ।
केन्द्रका अनुसार पायलट परियोजनाको कार्यान्वयन सफलतापूर्वक डिसेम्बर २०२४ मा सम्पन्न भएको थियो। र अहिले पनि त्रिवि शिक्षण अस्पतालको क्लिनिकल फार्माकोलोजी विभागले विष सूचना केन्द्रको टेलिफोन सेवा सञ्चालन भइरहेको छ।