एमआरआईको संक्षिप्त नामले परिचित म्याग्नेटिक रिजोनेन्स इमेजिङ्ग शक्तिशाली चुम्बकीय क्षेत्र तथा रेडियो-फ्रीक्वेन्सि रेन्जको विद्युत-चुम्बकीय विकिरणको प्रयोग गरि शरीरका विभिन्न भागहरुको आन्तरिक एवं तहगत तस्वीरहरु उत्पन्न गर्ने आधुनिक चिकित्सा प्रतिविम्बन प्रविधि हो।
कुनै चिरफार एवं छेडछाड बिना मानव शरीरका विभिन्न भाग तथा अंगहरुको आन्तरिक बनावट, अवस्था, अव्यवस्था, रोग तथा समस्याहरुको चित्रण, पहिचान तथा निदान गर्न आधुनिक चिकित्सा विज्ञानमा यो प्रविधि प्रयोग गर्ने गरिन्छ । सिटि स्क्यान, न्युक्लियर मेडिसिन, एक्स रे प्रविधिमा जस्तो हानीकारक विकिरणको प्रयोग नहुनु तथा बहुआयामिक प्रविधि मार्फत विभिन्न रोग र समस्याहरुको सहि एवं सटीक निदान प्रदान गर्ने सक्ने क्षमताका कारण एमआरआईको उपयोगिता र प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ।
मस्तिष्क तथा मेरुदण्ड, हाडजोर्नी तथा नसा सम्बन्धि विभिन्न रोग र समस्याहरुको चित्रण लागि अत्यावश्यक मानिने यो प्रविधि कलेजो तथा पित्त प्रणाली, महिला प्रजनन प्रणाली, विभिन्न ग्रन्थि तथा नरम तन्तुहरुको चित्रण र रोग तथा समस्याहरुको पहिचान एवं निदानका लागि समेत उपयोगी हुने गर्दछ।
टाउको, ढाड कम्मर,मेरुदण्ड तथा हाडजोर्नीहरु दुखाई तथा चोटपटक, पित्त थैली, पित्तनलि जस्ता भागहरुको पत्थरी, साधुराइ देखी लिएर यी लगायत विभिन्न भागहरुको अव्यवस्था, संक्रमण, क्यान्सर जस्ता जटिल समस्याहरुको पहिचान, निदान, चित्रण मात्र नभइ ति समस्याहरुको व्यवस्थापन गर्ने गरिने शल्यक्रिया तथा औषधोपचारको पुर्व तयारी तथा व्यवस्थापनको प्रभावकारिता र सुधारको निरीक्षण गर्न समेत यो प्रविधि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। छोटकरी भन्नुपर्दा, आधुनिक चिकित्सा अभ्यासमा "चक्कर लाग्ने देखि ठक्कर लाग्ने" समस्यासम्म एम आर आइ प्रयोग गर्ने प्रचलन बढ्दो छ।
परिणामस्वरूप, नेपाल लगायत विश्वभरि नै एमआरआई मेसिन तथा एमआरआई परिक्षणहरुको संख्यामा गुणात्मक रुपमा वृद्धि हुदै गइरहेको छ। त्यसैले वर्तमान परिप्रेक्ष्यमा एम आर आइलाई आधुनिक चिकित्सा विज्ञानको एउटा आँखा भनिदा अतिशयोक्ति नहोला।
एमआरआईजन्य घातक दुर्घटनाहरु
अन्य समकालीन समकक्षी निदानात्मक तथा प्रतिविम्बन प्रविधि भन्दा तुलनात्मक रुपमा बढि उपयोगी मात्र नभइ सुरक्षित समेत मानिएको यो प्रविधिको प्रयोगका क्रममा विश्वका विभिन्न देशहरुमा केहि दु:खद एवं घातक दुर्घटनाहरु घटेका छन्।
दुर्घटना १:
सन् २००१ जुलाई, माइकल कोलम्बिनी नाम भएका ६ वर्षीय बालकलाई एमआरआई गर्नका लागि अमेरिकाको न्युयोर्क राज्यस्थित वेस्टचेस्टर मेडिकल सेन्टरको एम आर आइ शाखामा लगियो। उनको मस्तिष्कमा रहेको गैरक्यान्सरजन्य ट्युमरको अपरेसन प्रश्चातको स्थिति बुझ्नका लागि डाक्टरहरुले उनको टाउकोको एमआरआई गर्न सुझाएका थिए। बालकलाई बेहोस गरि एम आर आइ गर्ने क्रममा बेहोस गर्ने स्वास्थ्यकर्मीले भुलबस एमआरआई कक्षमा अक्सिजनको सिलिन्डर लगे। एम आर आइ मेसिनको शक्तिशाली चुम्बकले फलामबाट बनेको सो अक्सिजन सिलिन्डरलाई आफुतिर जोडले तान्यो। मेसिन र सो अक्सिजन सिलिन्डरको बिचमा ति बालकको टाउको थिचियो। सो दुर्घटनाबाट खप्पर र मस्तिष्कमा गम्भीर चोट लागेका ति बालकको उपचारको क्रममा दुई दिनपछि निधन भयो। स्रोत: द न्युयोर्क टाइम्स
दुर्घटना २:
सन् १९९२ मा अमेरिकामा एक जना ७४ वर्षिया महिलाको एम आर आइ टेबलमा राखि एमआरआई गर्ने तयारी गर्दै गर्दा चुम्बकीय क्षेत्रको खिचावले गर्दा उनको मस्तिष्कको रक्तनलिमा राखिएको एन्युरिजन क्लिप राखिएको ठाउँबाट अन्यत्र सर्यो। जसका कारण मस्तिष्कको रक्तनली फुट्न गइ अत्याधिक रक्तस्राव भएर उनको मृत्यु भयो। स्रोत: एबिसि न्युज
दुर्घटना ३:
सन् २०१४ नोभेम्बर ८ तारिख, भारतको मुम्बई स्थित टाटा मेमोरियल अस्पतालको वार्डमा भर्ना भएका एक जना पुरुषलाई एम आर आइ परिक्षणका लागि एम आर आइ कक्षमा लगियो। परिक्षणका दौरान चिकित्सकले सो बिरामीलाई अक्सिजन लगाउनुपर्ने भन्दै सो बिरामी लिएर आएका वार्ड सहयोगीलाई अक्सिजन मास्क ल्याउन अह्राए। एम आर आइमा पहिले कहित्यै काम नगरेका ति वार्ड सहयोगीले अक्सिजन सिलिन्डर ल्याउन अह्राएको बुझी अक्सिजन सिलिन्डर लिएर एमआरआई कक्ष भित्र प्रवेश गरे। तुरुन्तै एम आर आइको शक्तिशाली चुम्बकीय क्षेत्रले सो अक्सिजन सिलिन्डरलाई जोडले आफुतिर तान्यो। सो खिचावका कारण उनिसहित त्यहाँ उपस्थित एम आर आइ स्वास्थ्यकर्मी एमआरआई मेसिनमा सिलिन्डरले थिचिन पुगे। दुर्भाग्यबस, सो घटनामा सो एम आर आइ मेसिनको चुम्बकीय क्षेत्र हटाउने इमर्जेन्सी क्वेन्चिङ्ग बटनले काम नगर्दा एम आर आइ स्वास्थ्यकर्मी र वार्ड सहयोगी चार घण्टासम्म च्यापिएर बस्नु पर्यो। पछि एम आइ आइ मेसिनको उत्पादक कम्पनीका इन्जिनियर स्वयं नै आइ चुम्बकीय क्षेत्र हटाइ उनीहरुको उद्दार गरियो। सो घटनामा वार्ड सहयोगीको पाखुराको हड्डी भाचियो भने एमआरआई स्वास्थ्यकर्मीको मृगौला, मुत्र थैलि लगायतका अङ्गहरुमा चोट लाग्यो र व्यापक मात्रामा आन्तरिक रक्तस्राव भयो। चार घण्टासम्म च्यापिएका कारण उनको कम्मर भन्दा तलको भागहरुमा रक्तसञ्चार अवरुद्ध भइ कम्मर भन्दा तलको भाग प्यारालाइज्ड हुन पुग्यो। स्रोत: टाइम्स अफ इन्डिया
दुर्घटना ४:
सन् २०१७ जुन ३ तारिख, भारतको लखनउ स्थित डा. राम मनोहर लोहिया ईन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उत्तर प्रदेश सरकारका एक मन्त्रीको एम आर आइ परिक्षण गराउने क्रममा मन्त्रीका सुरक्षाकर्मी गोली सहितको पिस्तोलसहित एम आर आइ कक्षमा प्रदेश गर्छन्। एमआरआई मेसिनको शक्तिशाली चुम्बकीय क्षेत्रको खिचावका कारण सो पिस्तोल उनको शरीरबाट तानिएर एमआरआई मेसिनमा टासिन पुग्छ। भाग्यबस, कुनै मानवीय चोटपटक र क्षति हुँदैन। तर सो पिस्तोललाई सुरक्षित रुपमा निकाल्न सो मेसिनको चुम्बकीय क्षेत्र हटाउनुपर्ने हुँदा सो मेसिन मर्मत गरी पुनः संचालनमा ल्याउँदा करिव ४० देखि ५० लाख भारतीय रुपैयाँ क्षति पुग्न जान्छ। स्रोत: हिन्दुस्थान टाइम्स
यी प्रतिनिधि घटनाहरुका अलवा अन्य एमआरआईजन्य घातक दुर्घटनाहरुका कारण केहि बिरामीहरुले ज्यान गुमाउनुपरेको छ भने केहिको अङ्गभङ्ग समेत भएको छ। अस्पताल तथा मेडिकल सेन्टरहरुले समेत पीडित पक्षलाई क्षतिपूर्ति स्वरुप तिर्नु पर्ने ठुलो धनराशीका अलवा दुर्घटनाका क्रममा मेसिनमा पुगेको क्षति र उद्धारका क्रममा मेसिन अवरुद्ध पारि पुनःसञ्चालन गर्न लाग्ने समय र खर्चका कारण ठुलो नोक्सानी व्यहोर्नुपरेको देखिन्छ। नेपालको सन्दर्भमा, हालसम्म मानवीय क्षति नै हुने गरि कुनै दुर्घटना घटेको रिपोर्ट नभएता पनि सानातिना दुर्घटनाहरु हुन गरेका तर बाहिर चर्चा र रिपोर्टिङ नहुने गरेको पाइएको छ।
यी दुर्घटनाहरुबाट केहि पाठ सिक्दै विकसित देशहरुमा एमआरआई सुरक्षा जोखिम न्यूनीकरण गर्न विभिन्न मापदण्ड, नितिनियम तथा सुरक्षा प्रबन्ध विकास गरी प्रयोगमा ल्याइएको छ। यसका बाबजुद, पछिल्ला अध्ययन अनुसन्धानहरुले यस्ता दुर्घटनाहरुको आवृत्ति र जोखिम दुबै बढेको देखाएका छ्न। त्यसकारण, एमआरआईको चुम्बकीय क्षेत्रको क्षमता तथा मेसिन एवं परिक्षणहरुको संख्या बढ्दै जाँदा एमआरआईजन्य दुर्घटनाहरुको जोखिम समेत बढ्दै गइरहेको छ।
एमआरआईजन्य सुरक्षा जोखिम
एम आर आरमा सुरक्षा जोखिमहरु, विशेष गरि ज्यानै जाने खालका घातक दुर्घटनाहरु, मुख्यतः यसमा प्रयोग गरिने शक्तिशाली चुम्बक र सो चुम्बकको शक्तिशाली स्थिर चुम्बकीय क्षेत्रका कारण सिर्जना हुने गर्दछन्। त्यस अलवा एम आर आइमा प्रयोग हुने रेडियो- फ्रिक्वेन्सी पल्स र स्थिर चुम्बकीय क्षेत्रको शक्तिलाई समय र स्थान अनुसार परिवर्तन गर्ने एम आर आइ ग्रेडियन्टका कारण समेत केहि गम्भीर स्वास्थ्य जोखिमहरु उत्पन्न हुन्छन्।
शक्तिशाली स्थिर चुम्बकीय क्षेत्रजन्य जोखिम
एम आर आइ मेसिनहरुमा पृथ्वीको चुम्बकीय क्षेत्र भन्दा दशौं हजार गुणा शक्तिशाली चुम्बकीय क्षेत्र भएका चुम्बकहरुको प्रयोग गरिएको हुन्छ। यस्ता चुम्बकहरुले फलाम, कोबाल्ट, निकेल जस्ता चुम्बकीय तत्व र यी तत्वबाट बनेका चुम्बकीय वस्तुहरुलाई आफुतर्फ खिच्ने गर्दछ्न। यहि खिचाव नै एम आर आइजन्य दुर्घटनाहरुको मुख्य कारण हो। एम आर आइमा प्रयोग गरिने चुम्बकहरुको शक्ति टेस्लामा मापन गरिन्छ र सोहि स्थिर चुम्बकीय क्षेत्रको शक्तिको आधारमा एमआरआई मेसिनको नामाकरण गरिएको हुन्छ। जस्तै ०.३५ टेस्ला, ०.५ टेस्ला, १.५ टेस्ला, ३ टेस्ला एम आर आइ आदि । टेस्लाको संख्या जति बढी हुन्छ चुम्बकीय क्षेत्रको शक्ति र एम आर आइ मेसिनको उपयोगिता र गुणस्तरसमेत बढ्दै जान्छ, सङ्गसंगै मेसिनको चुम्बकले चुम्बकीय वस्तुहरुलाई तान्ने खिचाव शक्ति पनि।
एमआरआईजन्य दुर्घटनाहरुको इतिहास र पृष्ठभुमिलाई नियाल्ने हो भने अधिकांश घातक दुर्घटनाहरु फलामबाट बनेका अक्सिजन सिलिन्डरहरु एमआरआईको चुम्बकीय कक्षमा पुर्याइएका कारण भएका छन्। बिरामी ओसार्न प्रयोग गरिने साधारण ट्रली र व्हीलचियरहरु, बिरामीको धड्कन, शरिरमा अक्सिजनको मात्रा आदि नाप्न प्रयोग हुने पल्स अक्सिमिटर, मनिटरका कारण सिर्जित दुर्घटना र जोखिमहरु समेत उल्लेख्य छन्। विभिन्न रोग, समस्या र चोटपटकको उपचार र व्यवस्थापनका लागि बिरामीको शरीरका विभिन्न भागहरुमा राखिने विद्युतीय वा चुम्बकीय वस्तुहरुबाट बनेका पेशमेकर, रड, प्लेट, तार, कृत्रिम जोर्निहरु, सुन्ने यन्त्र, एन्युरिजम क्लिप, स्टेन्ट जस्ता उपकरण एवं कृत्रिम अंगहरु राखेका व्यक्तिहरु एमआरआईको शक्तिशाली चुम्बकीय क्षेत्रमा प्रवेश गर्दा अङ्गभङ्ग हुने र ज्यानै समेत जाने जोखिम रहन्छ।
पछिल्लो समयमा भारत र ब्राजिलमा सट गन (बन्दुक)सहित एम आर आइको चुम्बकीय कक्षमा प्रवेश गरेका कारण भएको दुर्घटनाले त्यी अस्पताल र मेडिकल सेन्टरहरुको एमआरआई सुरक्षा प्रबन्ध माथि प्रश्न चिन्ह मात्र खडा गरेको छैन एम आर आइजन्य जोखिमको त्रासदिपुर्ण पाटोलाई समेत उजागर गरिदिएको छ। त्यसबाहेक हामीले दैनिक जीवनमा प्रयोग गर्ने मोबाइल, घडी, चाबि, सिक्का, कैचि, नङ्ग कटर, लाइटर, कपालमा लगाउने काँटा र क्लिपहरु, माला, ताविज तथा बुटिहरु, किल्ला काँटिहरु जस्ता चुम्बकीय वस्तुयुक्त सामानहरु एम आर आइको चुम्बक कक्षमा पुग्नु घातकसिद्ध हुन सक्छ। चुम्बकीय धर्सा सहितका एटिम कार्ड लगायतका विद्युतिय एवं चुम्बकीय उपकरणहरु एम आर आरको शक्तिशाली चुम्बकीय क्षेत्रका कारण बिग्रीने सम्भावना उच्च रहन्छ।
आधुनिक एमआरआई मेसिनहरुको सो शक्तिशाली चुम्बकलाई अरु उपकरण जस्तो सामान्यतया बन्द गर्न नमिल्ने हुँदा एमआरआई परिक्षण नचलेको बेलामा समेत चुम्बकीय क्षेत्र चौविसै घण्टा सातै दिन चालु अवस्थामा रहने भएकाले एम आर आइ सुरक्षा थप चुनौतीपूर्ण मानिन्छ।
रेडियो-फ्रीक्विन्सि पल्स तथा ग्रेडियन्टजन्य जोखिम
रिजोनेन्स उत्पन्न गर्न जाँच हुदै गरेको भागमा पठाइने रेडियो-फ्रीक्विन्सि पल्स एक प्रकारको विद्युत-चुम्बकीय विकिरण हो। साधारणतथा हानिरहित मानिने यो विकिरण एमआरआई परिक्षणका क्रममा जाँच भइ रहेको भागमा बारम्बार पठाइने हुँदा यसले शरिरको सो भागको तापक्रम बढाउन सक्दछ। एउटै भाग तथा एउटै बिरामीको लगातार लामो समयसम्म जाँच गरिरहँदा शरीरमा पोलेर घाउ हुन सक्दछ। रक्तसंचार न्युन हुने आँखा तथा अण्डकोषहरुमा यस्तो पल्सका कारण उत्पन्न तापले बढी असर गर्दछ। त्यस बाहेक शरीरमा भएको ट्याटु, शरीर भित्र राखिएका उपकरण, इसिजि र पल्स अक्सिमिटरको लिड जोडिएको भाग, एमआरआई मेसिन र यसका विभिन्न उपकरणको प्रत्यक्ष सम्पर्कमा रहेका भागहरुमा तापका कारण घाउ हुन सक्दछ। एम आर आइ परिक्षणका क्रममा बिरामीको शरिरको एउटा नाङ्गो भाग अर्को नाङ्गो भाग सङ्ग जोडिएर बन्ने सुचालक बन्द पथमा परिवर्तित चुम्बकीय क्षेत्रद्वारा उत्पन्न हुने विद्युत प्रवाह र अवरोधका कारण उच्च ताप उत्पन्न भइ पोलेर घाउचोट हुन सक्दछ। शरिरका विभिन्न भागमा रहेका गरगहना, घातु जडित वा घातुको माइक्रो फाइबरले बनेका लुगा लगाएर एम आर आइ परिक्षण गर्दा पोल्ने डाम्ने हुन सक्दछ।
त्यस्तै ग्रेडियन्ट फिल्डका कारण एमआरआई परिक्षणका क्रममा चर्को आवाज उत्पन्न हुन्छ, जसले कानमा क्षति पुर्याउन सक्दछ। ग्रेडियन्टकै कारण एमआरआई परिक्षणको क्रममा मांशपेशि तथा नशाहरुमा उत्तेजना पैदा हुने, काउकुति र करेन्ट लागे जस्तो झमझमाए जस्तो हुन सक्दछ तर यस्ता असरहरु अल्पकालीन हुन्छन् र साधारणतया एमआरआई परिक्षणको समाप्ति सँगै हराएर जान्छन्।
एमआरआई कन्ट्रास्ट मिडियाजन्य जोखिम
एमआरआई परिक्षणका क्रममा कतिपय बिरामीहरुमा रक्तनलि मार्फत ग्याडोलिनियममा आधारित विशेष प्रकारको औषधि हालि परिक्षण गर्नुपर्ने हुन्छ। सो औषधिलाई एम आर आइ कन्ट्रास्ट मिडियम भनिन्छ। साधारणतथा सुरक्षीत मानिने एम आर आइ कन्ट्रास्ट मिडियाले कतिपय बिरामीहरुमा वाकवाकी लाग्ने, बान्ता हुने, चिलाउने, एलर्जि हुने जस्ता समस्या पैदा गर्न सक्दछन। केहि दुर्लभ अवस्थाहरुमा एम आर आइ कन्ट्रास्ट मिडियाका कारण नेफ्रोजेनिक सिस्टेमिक फाइब्रोसिस (एनएसएफ) भन्ने घातक अव्यवस्था पैदा हुन सक्दछ जुन हालसम्म मृगौलाले राम्रोसँग काम नगरेका बिरामीहरुमा मात्र हुने गरेको पाइएको छ।
एमआरआई सुरक्षा प्रबन्ध र नेपालको अवस्था
एमआरआईमा विद्यमान सुरक्षा जोखिम, विशेष गरि शक्तिशाली स्थिर चुम्बकीय क्षेत्रका कारण सिर्जित जोखिमलाई न्यूनीकरण गर्ने र कार्य व्यवस्थापन सहज गराउन एम आर आइ ४ वटा क्षेत्रमा विभाजन गरिएको हुन्छ। पहिलो क्षेत्रमा बिरामी, बिरामीका आफन्त लगायतका सर्वसाधारण विना रोकावट सहज रुपमा प्रवेश र आवातजावत गर्न मिल्ने र पालो कुरेर बस्ने गरि प्रबन्ध मिलाइएको हुन्छ। यो क्षेत्र पुर्ण रुपमा एम आर आइजन्य जोखिममुक्त रहेको हुन्छ। दोस्रो क्षेत्र, सहज प्रवेश गर्न मिल्ने पहिलो क्षेत्र र नियंत्रित प्रवेशमात्र गर्न मिल्ने तेस्रो क्षेत्र बिचको भाग हो। यो क्षेत्रमा सोधपुछ तथा स्वागत कक्ष, बिरामीको एम आर आइ सुरक्षा चेक जाँच (स्क्रिनिङ्ग) कक्ष, बिरामीको कपडा परिवर्तन गर्ने तयारी कक्ष र बिरामीको सरसामान राख्ने लकर राखिएको हुन्छ। यो क्षेत्र एम आर आइ शाखाका कर्मचारीको प्रत्यक्ष निगरानीमा रहनुपर्ने क्षेत्र हो।
एमआरआईको तेस्रो क्षेत्र पहिलो र दोस्रो क्षेत्रबाट पर्खाल र ढोकाको माध्यमद्वारा छुटाइएको हुन्छ र यो क्षेत्रमा दोस्रो क्षेत्रमा आवश्यक सुरक्षा चेक जाँच गरि अनुमति प्रदान गरिएका बिरामी र सम्बन्धित व्यक्तिहरुले मात्र प्रवेश पाउने व्यवस्था गरिएको हुन्छ। यो क्षेत्रमा एम आर आइ मेसिनको सञ्चालन तथा नियन्त्रण कक्ष रहेको हुन्छ र यहि क्षेत्र मार्फत एमआरआईको अति सुरक्षा संवेदनशिल क्षेत्र अर्थात चौथो क्षेत्रमा प्रवेश गर्ने प्रबन्ध मिलाइएको हुन्छ। एम आर आइको तेस्रो र चौथो क्षेत्र एम आर आइ टेक्नोलोजीष्टको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहनुपर्ने क्षेत्रहरु हुन्।
एम आर आइको चौथो क्षेत्र एम आर आइ चुम्बक कक्ष हो। यो क्षेत्रमा शक्तिशाली चुम्बकीय क्षेत्र रहेको हुन्छ र यो क्षेत्र नै एम आर आइजन्य दुर्घटना हुने अति संवेदनशिल जोखिम क्षेत्र हो। यो क्षेत्रमा सुरक्षा चेक जाँच गरि एम आर आइ परिक्षणका लागि पुर्णरुपमा तयार पारिएका बिरामी, यो क्षेत्रमा प्रवेश गराउन र प्रयोग गर्न उपयुक्त हुने अनुमति प्राप्त उपकरणहरु मात्र सम्बन्धित एम आर आइ टेक्नोलोजीष्टको, जो आफै समेत सम्पूर्ण रुपमा सो क्षेत्रमा प्रवेश गर्न सुरक्षित हुने गरि तयार भएका हुन्छन, निर्देशन र साथमा मात्र प्रवेश गर्न पाउछ्न। यो क्षेत्रभित्र रहेको चुम्बकीय क्षेत्र चौबिसै घण्टा र सातै दिन चालु रहेको हुन्छ। त्यसैले यो क्षेत्रको ढोका भित्र प्रदेश गर्दा र बाहिर निस्किदा बाहेक अरु सबै समयमा पुर्ण रुपमा बन्द राखिनुपर्छ र चाबि वा सुरक्षा कोड मार्फतमात्र खोल्न मिल्ने प्रबन्ध मिलाइएको हुन्छ।
एमआरआई परिक्षण गर्न सिफारिस गरिएको बिरामी निदानात्मक एवं सुरक्षा जोखिमका दृष्टिकोणले एम आर आइ गर्न उपयुुक्त र सुरक्षित छ छैन भन्ने यकिन गर्न एमआरआई सिफारिस गर्ने चिकित्सकले अनिवार्य रुपमा बिरामीको संक्षिप्त जानकारी, सिकायत, समस्या, अपेक्षित निदान र एम आर आइ सुरक्षा चेक जाँच सूचीसहितको एम आर आइ माग फारम भर्नुपर्ने हुन्छ। एम आर आइ टेक्नोलोजीष्ट एवं रेडियोलोजीष्टले सम्पुर्ण सुरक्षा चेक जाँच र तयारीको विस्तृत अनुगमन र अनुमोदन गरि बिरामी पक्षको सुचित मन्जुरीनामा पछि मात्र एम आर आइ परिक्षण गर्ने बहुपक्षीय सुरक्षा प्रबन्धको अभ्यास विकास गरिएको हुन्छ। यस अन्तर्गत बिरामीको शरिर भित्र एम आर आइ गर्न अनुपयुक्त मानिने पेशमेकर, न्युरो ट्रान्समिटर जस्ता उपकरण, चुम्बकीय पदार्थहरुले बनेका रड, प्लेट, तारहरु, गोलि, गोलिका छर्रा आदि नभएको यकिन गरिन्छ। कन्ट्रास्ट मिडिया लगायतका औषधिहरु प्रयोग गरि गर्नुपर्ने परिक्षणका लागि सो औषधिहरु प्रयोग गर्न सुरक्षीत भए नभएको यकिन गर्न रगत लगायत अन्य थप परिक्षण र सोधपुछ गरिन्छ। एम आर आइ एम आर आइ गर्न मिल्ने खालका उपकरण तथा सामाग्रीहरुको सन्दर्भमा सो को दोहोरो पुष्टि र परिक्षण पक्षहरुको आवश्यक समायोजन गरेर मात्र परिक्षण अगाडि बढाउनुपर्ने हुन्छ।
त्यसबाहेक, एमआरआई कक्ष बाहिर सजिलै देखिने र बुझिने गरि एमआरआईका जोखिम र अनाधिकृत प्रवेश निषेध बुझाउने चिन्ह, सङ्केत र आवश्यक जानकारी समावेश गरिएको बोर्ड र पम्पेल्ट राखि सर्वसाधारणहरुलाई सचेत बनाउने व्यवस्था गरिएको हुन्छ।
परिक्षणका क्रममा बिरामीहरुलाई आइ पर्न सक्ने असहजता र पोल्ने, दुख्ने जस्ता समस्याको संकेत गर्न बिरामीको हातमा थिचेर संकेत गर्ने बजर प्रदान गरिएको हुन्छ। एम आर आइ परिक्षण क्रममा उत्पन्न हुने चर्को आवाजबाट हुन सक्ने क्षति तथा असहजता कम गर्न बिरामीलाई हेडफोन लगाइदिने र सो मार्फत गीत संगीत बजाइदिने वा कानमा रुइ राख्न लागाउने गरिन्छ।
अक्सिजन लगाउनुपर्ने बिरामीहरुलाई केन्द्रिय आपूर्ति लाइन वा चुम्बक कक्ष बाहिरको अर्को कक्षमा अक्सिजन सिलिन्डर राखेर भित्तामा रहेको सकेट मार्फत अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाइएको हुन्छ। लट्ठयाउनुपर्ने, बेहोस गर्नुपर्ने वा मुटुको चाल, शरीरमा अक्सिजनको मात्रा आदिको निरन्तर निरीक्षण गर्नुपर्ने अवस्थाका लागि एम आर आइको सो शक्तिशाली चुम्बकीय क्षेत्रमा प्रयोग गर्न मिल्ने र सहि रुपमा काम गर्न सक्ने गरि विकसित गरिएका एम आर आइ मैत्री वा एम आर आइ कम्प्याटिबल सरसामान र उपकरणहरुको मात्र प्रयोग गर्नुपर्ने हुन्छ।
एमआरआई सेवालाई अत्यन्त सुरक्षीत एवं सहज बनाउनका लागि स्थापित गरिएका यी सबै अन्तर्राष्ट्रिय सुरक्षा प्रबन्धका बाबजुद विभिन्न समयमा विश्व परिवेशमा घटेका दुर्घटनाहरुले सुरक्षा प्रबन्धको अबमुल्यन र गम्भीर लापरबाहीको चिन्ताजनक अवस्थालाई इङ्गित गर्दछ।
नेपालको परिवेशलाई हेर्ने हो भने त स्थिति झनै भयावह देखिन्छ। उपलब्ध सिमित एम आर आइ सेवा प्रदायक मध्यका केहिमा स्वास्थ्य संस्थाहरुमा त ४ क्षेत्रमा आधारित आधारभूत सुरक्षा प्रबन्ध नै लागु गरिएको छैन। ती मध्य केहिमा त एम आर आइको चुम्बक कक्षको मुल ढोका नै सिधै बिरामी र सेवाग्राहीको प्रत्यक्ष आवतजावत हुने तथा एक्स-रे, सिटि स्क्यान लगायतका अन्य सेवा कक्षमा जाने मुल बाटो मै अवस्थित छन्।
भौतिक रुपमा उपयुक्त सुरक्षा प्रबन्ध भएका ठाउँहरुमा पनि जनशक्तिको अभावमा सोधपुछ तथा स्वागत कक्ष, बिरामीको सुरक्षा चेक जाँच तथा तयारी कक्षमा कर्मचारी नभएका कारण एउटै एमआरआई टेक्नोलोजीष्टले बिरामीको सुरक्षा चेक जाँच, तयारी, परिक्षण देखि रिपोर्ट वितरणसम्म गर्नुपर्ने अवस्था छ।
त्यसमाथि कहिकतै केहि नहेरि, एकछिन पनि नपर्खी, कसैलाई केही नसोधी, बिना अनुमति जता ढोका र बाटो देख्यो त्यतै छिर्ने हाम्रो नेपाली जनप्रवृतिले ठुलो सुरक्षा चुनौति थपेको छ। एमआरआई सुरक्षा मामिलामा सर्वसाधारण मात्र नभै अस्पताल मै कार्यरत अधिकांश चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सहयोगी एवं सफाइ कर्मचारीहरु समेत अनविज्ञ रहेको हाम्रो परिप्रेक्ष्यमा एकै छिन ध्यान र सावधानी हट्दा पनि ठुला दुर्घटना घट्ने जोखिम उच्च छ।
यसका अलवा, एमआरआई सुरक्षा चेक जाँच र बिरामीको सिकायत सङ्कलन प्रति परिक्षण सिफारिस गर्ने चिकित्सकदेखि एमआरआई स्वास्थ्यकर्मी सम्मको उदासीनता, बिरामीका पुर्व जाँच उपचार र शल्यक्रियासम्बन्धि जानकारी एवं कागजातको अउपलब्धता, अर्धदक्ष र असंवेदनशिल जनशक्तिद्वारा एम आर आइ सेवा सञ्चालित हुनुले नेपालमा एम आर आइ सुरक्षा चासोको चित्रलाई थप प्रस्टाउछ। परिस्थिति यस्तो देखिन्छ कि मानौँ हामी एम आर आइ नामको पासो थापेर दुर्घटना कुरेर बसिरहेका छौं।
पछिल्लो समयमा नेपालमा उल्लेख संख्यामा एमआरआई मेसिन र एम आर आइ परिक्षणहरु थपिएको छ्न। सरकारी र सार्वजनिक स्वास्थ्य संस्थाहरुमा समेत ठुलै संख्यामा एम आर आइ मेसिनहरु उपलब्ध हुदैछ्न। निदानात्मक सेवाहरुको क्षमता वृद्धि र सार्वजनिक सेवा प्रवाहका दृष्टिकोणले यसलाई अत्यन्त सुखद पक्ष मान्दै गर्दा एमआरआई सुरक्षा प्रतिको विद्यमान असंवेदनशिलता र न्युन चासोलाई उचित निति निर्देशिका, मापदण्ड र सोको प्रभावकारितामा कार्यान्वयन मार्फत सम्बोधन नगर्ने हो भने निकट भविष्य मै नेपाल पनि घातक एम आर आइ दुर्घटनाको सुचिमा देखिन सक्ने उच्च जोखिम रहेको छ।
जोखिम न्यूनीकरणमा विभिन्न पक्षहरु भूमिका तथा सुझाव
एमआरआईजन्य दुर्घटना र जोखिम न्यूनीकरणको एकमात्र उपाय भनेको एम आर आइ सुरक्षा प्रबन्धको अधिकतम र प्रभावकारी कार्यान्वयन नै हो। सोका लागि एम आर आइ सेवाको संरचनागत सुरक्षा प्रबन्धको अवलम्बन, पर्याप्त दक्ष जनशक्तिको उपलब्धता र सुरक्षीत सेवा प्रवाहका लागि आवश्यक उपयुक्त उपकरण एवं स्रोत साधनको सुनिश्चितता गर्नु सम्बन्धित स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व हो।
एमआरआई सुरक्षा र जोखिम न्यूनीकरणमा एम आर आइ टेक्नोलोजीष्टको केन्द्रीय भुमिका रहन्छ। उपलब्ध श्रोतसाधनको अधिकतम प्रयोग गर्दै बिरामीको उचित सुरक्षा चेकजाँच र अन्य सुरक्षा प्रबन्ध अवलम्बन गरि बिरामीलाई सुरक्षित एम आर आइ सेवा प्रदान गर्नु एम आर आइ टेक्नोलोजीष्टको मुख्य कर्तव्य हो। सो क्रममा आफ्नो ज्ञान, सिप, क्षमता र ईच्छाशक्तिको सर्वोत्तम उपयोग गर्दै आँखा र कान खुल्ला राखेर कार्यसम्पादन गर्दा दुर्घटना हुने सम्भावना न्युन रहन्छ।
एमआरआई सुरक्षाको पहिलो कदम बिरामीलाई चेकजाँच र उपचार गर्ने तथा एम आर आइ परिक्षण सिफारिस गर्ने चिकित्सकबाट सुरु हुन्छ। बिरामी, बिरामीको रोग, अवस्था र बिगतका उपचारको बारेमा सम्बन्धित चिकित्सकले नै सबैभन्दा धेरै जानकारी र सिकायत संकलन गरेका हुन्छ्न। तसर्थ, एम आर आइ सिफारिस गर्नु अघि सो बिरामी एम आर आइका परिक्षण लागि उपयुुक्त र सुरक्षीत छ छैन भन्ने निर्क्योल गर्नु र एम आर आइ माग फारममार्फत सार्न्दभिक जानकारी सहित बिरामीलाई एमआरआई परिक्षणका लागि पठाइ सम्बन्धित चिकित्सकले एम आर आइ दुर्घटनाको जोखिम न्यूनीकरणमा भुमिका खेल्न सक्दछन्।
विभिन्न रोग र समस्याहरुको निदानका लागि एम आर आइको अपरिहार्यता बढ्दै गइरहेको सन्दर्भमा शल्यक्रिया गरि कृतिम अङ्ग, उपकरण, रड, प्लेट, तार, क्लिप, स्टेन्ट आदि राखिएका बिरामीहरुको शल्यक्रिया रिपोर्ट एवं डिस्चार्ज रिपोर्टमा शरीरमा राखिएको उपकरण तथा इम्प्लान्टको नाम, नाप, आकार, प्रकार, उत्पादक र सम्भव भएसम्म सो इम्प्लाम्ट एम आर आइ गर्न मिल्ने (एमआरआई कम्प्याटिबल) हो वा होइन सो समेत खुलाउन सके आकस्मिक अवस्थामा त्यस्ता बिरामीहरुलाई छिटोछरितो र सुरक्षीत सेवा प्रदान गर्न सम्भव हुन्छ। एम आर आइ सुरक्षामा चिकित्सकको भुमिकालाई प्रभावकारी बनाउन चिकित्सकहरुको पाठ्यक्रममा एम आर आइ परिक्षण सिफारिस गर्नुपर्ने अवस्था (इन्डिकेसन), एम आर आइ रिपोर्टका अलवा एम आर आइ सुरक्षा सम्बन्धि पाठ्यसामग्री समेत सङ्लग्न गर्नु उपयुक्त हुन पहलकदमी हुन सक्दछ।
एमआरआई मेसिन राखिएका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत सम्पुर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सहयोगी तथा सफाइ कर्मचारीहरुलाई अनिवार्य एम आर आइ जोखिम तथा सुरक्षासम्बन्धि सचेतना तालिम प्रदान गर्दा दुर्घटनाको जोखिम धेरै कम हुन जान्छ।
एमआरआईजन्य जोखिम न्यूनीकरण तथा सुरक्षा प्रबन्ध सम्बन्धि अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासहरुलाई अनिवार्य एवं बाध्यतात्मक रुपमा कार्यान्वयनमा लैजान एम आर आइ परिक्षण सिफारिस तथा सेवा प्रवाह, सुरक्षा प्रबन्ध, जनशक्तिको योग्यता, नियमित व्यावसायिक विकास तालिम तथा पुर्न:ताजगी तालीम एवं गोष्ठी लगायतका विषयवस्तु समेटिएका बहुआयामिक राष्ट्रिय निर्देशिका तयार पारी सो को प्रभावकारी कार्यान्वयन मार्फत एमआरआईजन्य दुर्घटना जोखिम न्यूनीकरण गर्न पहलकदमी लिनु संघिय स्वास्थ्य मन्त्रालय र सरकारको उत्तरदायित्व हो।
अन्त्यमा, एमआरआई सेवा र एमआरआईइजन्य दुर्घटना एवं जोखिमविरुद्धको सुरक्षा दुबैको केन्द्रमा बिरामी र बिरामीको आफन्तको रुपमा पुग्ने आम सेवाग्राही नै रहेका हुन्छ्न। जोखिम एवं दुर्घटनाको पिडा तथा क्षति र सुरक्षीत एवं गुणस्तरीय सेवाको लाभ दुवै प्रत्यक्षरुपमा आम सेवाग्राही नै भोग्नुपर्ने हुन्छ। तसर्थ, सेवाग्राहीको रुपका एमआरआई लगायतका सेवा लिन अस्पताल तथा स्वास्थ्य संस्थाहरु पुग्दा संवेदनशिल क्षेत्रहरुमा जथाभावी, बिना अनुमति प्रवेश नगर्ने, कुनै पनि ठाउँ प्रवेश गर्नुपुर्व त्यहाँ राखिएका सूचना, चेतावनी र संकेतहरुलाई हेर्ने वा पढ्ने, भिडभाड र हो-हल्ला नगरि धैर्यतापुर्वक पालो र स्वास्थ्यकर्मीहरुको निर्देशन तथा अनुमतिको प्रतीक्षा गर्ने, स्वास्थ्यकर्मीहरुले दिएको निर्देशन र सरसल्लाह इमानदारीतापूर्वक पालना गर्ने र आफूलाई स्पष्ट रुपमा जानकारी नभएको वा शंका लागेका कुराहरुमा अड्कलबाजी भरमा कुनै क्रियाकलाप गर्नुको सट्टा सम्बन्धित स्वास्थ्यकर्मीसंग परामर्श लिने गरेमा एम आर आइ सेवा मात्र नभइ अन्य स्वास्थ्य सेवा लिने क्रममा समेत सुरक्षित रहन मद्धत मिल्दछ।
(लेखक मेडिकल इमेजिङ्ग टेक्नोलोजीष्ट तथा रेडियोग्राफी प्रशिक्षक हुन्। )