काठमाडौं- काठमाडौं-४ बाट लगातार जित्दै आएका नेपाली कांग्रेसका सभापति तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले यसपालि आफ्नो परम्परागत निर्वाचन क्षेत्र छाड्दै सर्लाही-४ बाट उम्मेदवारी दिएका छन्। उनको यो निर्णयले मधेस केन्द्रित राजनीति र राष्ट्रिय स्तरको शक्ति सन्तुलन दुवैमा चासो र बहस बढाएको छ।
गगनसँगै यस क्षेत्रमा अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा छन्। सिंह यसअघि दुई पटक कांग्रेस र एक पटक स्वतन्त्र उम्मेदवारका रूपमा यही क्षेत्रबाट निर्वाचित भइसकेका छन्।
सर्लाही-४ मा आगामी फागुनमा हुने निर्वाचनको प्रतिस्पर्धामा गगन र अमरेशसिहत नेकपा एमालेबाट अमनिस यादव, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रगनिस राय यादव र जनता समाजवादी पार्टी नेपालबाट रामेश्वरराय यादव पनि छन्। एमालेले सुरुमा रविसिंह कुशवाहालाई टिकट दिएको थियो तर पछि अमनिस यादवलाई उम्मेदवार बनाएको हो।
२०७९ को प्रतिनिधिसभा निर्वाचनको समयमा पनि गगन थापाले सर्लाहीबाट उम्मेदवारी दिने चर्चा चलेको थियो। तर त्यसबेला काठमाडौं ४ मा उनले उम्मेदवार बनाउन चाहकेका स्वर्णीम वाग्लेले टिकट नपाउने अवस्था आएपछि गगन काठमाडौं-४ मा नै बसेका थिए।
यसपटक भने गगनले काठमाडौँ–४ मा युवा नेता सचिन तिमल्सेनालाई छाड्दै सर्लाही-४ रोजेका छन्। जेन–जी आन्दोलनपछि फेरिएको राजनीतिक परिस्थिति र कांग्रेसमा सभापति बनेपछि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गगनको निर्णयलाई कतिपयले साहसिक चुनौती भनेका छन् भने कतिपयले काठमाडौँमा असुरक्षित देखिएपछि मधेसमा सुरक्षित क्षेत्र खोजेको पनि भनिरहेका छन्।
सर्लाही-४ : परम्परागत गढ तर बदलिँदो शक्ति सन्तुलन
सर्लाही-४ लाई लामो समयदेखि कांग्रेसको परम्परागत गढकै रुपमा चिनिन्छ। २०४८ देखि २०५६ सम्म लगातार जितेका महन्थ ठाकुर कांग्रेस छाडेपछि त्यहाँ अमरेशकुमार सिंह प्रभावशाली बने। अमरेशले २०७० र २०७४ मा कांग्रेसबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका थिए।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने तत्कालीन मधेसी जनअधिकार फोरमका शिवपूजन राय विजयी भएका थिए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार उम्मेदवार बनेका थिए। तर पनि उनले जित हासिल गर्न सकेका थिएनन्। उनले १८ हजार २५३ मत ल्याउँदा अमरेशकुमार सिंहले २० हजार १७ मतसहित विजय हासिल गरे। गठबन्धनमै रहे पनि माओवादी नेता शिवपूजन रायले आफ्नी छोरी मधुमाला कुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए। उनले १४ हजार ६२२ मत ल्याइन्। अहिले उनै शिवपूजनका छोरा अमनिस यादव एमालेबाट उम्मेदवार बनेका छन्।
स्थानीय तह र समानुपातिक मत
समानुपातिकतर्फ २०७९ मा कांग्रेस पहिलो पार्टी बनेको थियो। कांग्रेसले १६ हजार २८ मत ल्याउँदा जनमत पार्टीले १२ हजार ५०० मत पाएको थियो। प्रत्यक्षतर्फ भने जनमत पार्टीका उम्मेदवारले अपेक्षाकृत कम मत ल्याएका थिए। माओवादी केन्द्र र एमालेको समानुपातिक मत करिब बराबर देखिएको थियो।
स्थानीय तह निर्वाचन परिणाम हेर्दा पनि सर्लाही-४ मा कांग्रेसको उपस्थिति बलियो देखिन्छ। यस क्षेत्रअन्तर्गतका ५१ वडामध्ये कांग्रेसले १९ वडा जितेको छ। माओवादी केन्द्रले १२, एमालेले १०, लोसपाले ८ र जसपाले २ वडा जितेका छन्। वडाध्यक्षहरूले पाएको कुल मतमा पनि कांग्रेस अग्रस्थानमा छ- २३ हजार १४३ मत। माओवादी केन्द्र १८ हजार ५२४ मतसहित दोस्रो स्थानमा छ।
तर स्थानीय तह र संसदीय निर्वाचनबीच मतदाताको व्यवहारमा उल्लेख्य अन्तर देखिएको छ। स्थानीय तहमा बलियो देखिएका माओवादी, लोसपा र कांग्रेस सबैको समानुपातिक मत घटेको छ भने जनमत पार्टीको मत भने उल्लेख्य रूपमा बढेको छ।
सर्लाही-४ को चुनावी अंकगणित हेर्दा कांग्रेस अझै पनि बलियो संरचनात्मक आधार भएको पार्टी देखिन्छ। तर अमरेशकुमार सिंहको व्यक्तिगत प्रभाव, रास्वपाको नयाँ अपिल, मधेस केन्द्रित दलहरूको भूमिका र मतदाताको बदलिँदो मनोविज्ञानले यो निर्वाचन क्षेत्रलाई अत्यन्त प्रतिस्पर्धात्मक बनाएको छ। गगन थापाका लागि यो निर्वाचन जित मात्र होइन, मधेसमा राष्ट्रिय नेताको हैसियत स्थापित गर्ने कडा राजनीतिक परीक्षा पनि बनेको छ।
गगनको उपस्थितिका कारण सर्लाही-४ अहिले सबैको चासो र चर्चाको केन्द्र बनेको छ। कांग्रेसबाट प्रधानमन्त्रीका रुपमा अगाडि बढाइएको उक्त क्षेत्रमा धेरैको नजर परेको देखिन्छ।