महिलाको स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू अझै पनि लाज, संकोच, डर तथा सामाजिक अपहेलनाको भयका कारण खुलेर व्यक्त हुन सकिरहेका छैनन्। यस्ता समस्यामध्ये एक महत्वपूर्ण तर प्रायः लुकाइने समस्या हो-पेल्भिक अर्गन प्रोल्याप्स अर्थात् पाठेघर, मूत्रथैली वा मलाशय आफ्नो प्राकृतिक स्थानबाट तल झर्ने अवस्था।
सामान्य भाषामा यसलाई 'आङ खस्ने' वा 'पाठेघर झर्ने' समस्या भनेर चिनिन्छ। तर वास्तवमा यो समस्या पाठेघरमा मात्र सीमित हुँदैन। विभिन्न कारणले मूत्रथैली, पाठेघर वा मलाशयसमेत तल झर्न सक्छन्, जसले महिलाको दैनिक जीवन, आत्मविश्वास र जीवनस्तरमा गम्भीर असर पार्न सक्छ।
पेल्भिक अर्गन प्रोल्याप्स के हो?
महिलाको कम्मर र हिपको बीचमा रहेको हड्डीको संरचना अर्थात पेल्भिक भित्र रहेका पाठेघर, मूत्रथैली र मलाशयलाई पेल्भिक फ्लोरका मांसपेशी, लिगामेन्ट तथा संयोजी तन्तुहरूले आफ्नो स्थानमा अड्याएर राखेका हुन्छन्। जब यी संरचनाहरू कमजोर हुन्छन् वा तिनमा क्षति पुग्छ, तब ती अंगहरू तल झर्न थाल्छन्। यही अवस्थालाई पेल्भिक अर्गन प्रोल्याप्स भनिन्छ।
किन हुन्छ यो समस्या?
पेल्भिक अर्गन प्रोल्याप्स विभिन्न कारणले हुन सक्छ, जसमध्ये प्रमुख कारणहरू निम्न छन्:
धेरै पटक वा कठिन प्रसूति हुनु
लामो समयसम्म प्रसव पीडा हुनु
भ्याकुम वा फोर्सेप्स प्रयोग गरी प्रसूति गराइनु
दीर्घकालीन खोकी, दम वा श्वासप्रश्वाससम्बन्धी समस्या
लामो समयसम्म कब्जियत रहनु
रजोनिवृत्ति (मेनोपज) पछि एष्ट्रोजन हर्मोनको कमी हुनु
मोटोपना
बारम्बार भारी सामान उठाउने बानी
मेरुदण्डसम्बन्धी समस्या
जन्मजात कोलाजेन वा संयोजी तन्तु कमजोर हुनु
कतिपय अवस्थामा जन्मजात मांसपेशी तथा संयोजी तन्तु कमजोर भएका युवतीहरूमा प्रसूति नभए पनि किशोरावस्थादेखि नै यो समस्या देखिन सक्छ।
प्रोल्याप्सका प्रकार
कुन अंग प्रभावित भएको छ भन्ने आधारमा पेल्भिक अर्गन प्रोल्याप्सलाई विभिन्न प्रकारमा विभाजन गरिन्छ:
सिस्टोसिल : मूत्रथैली तल झर्ने अवस्था।
युटेरिन प्रोल्याप्स : पाठेघर तल झर्ने अवस्था।
रेक्टोसिल : मलाशय योनीतर्फ झर्ने अवस्था।
भजाइनल भल्ट प्रोल्याप्स : पाठेघर निकालिसकेपछि योनिको माथिल्लो भाग तल झर्ने अवस्था।
के–कस्ता लक्षण देखिन्छन्?
योनीमा केही बाहिर निस्किएजस्तो वा अड्किएजस्तो महसुस हुनु
भित्री वस्त्रमा केही घस्रिएजस्तो अनुभव हुनु
तल्लो पेट वा कम्मर दुख्नु
पिसाब गर्न कठिनाइ हुनु वा पिसाब पूरा ननिख्रिएजस्तो महसुस हुनु
बारम्बार पिसाब लाग्नु वा पिसाब चुहिनु
दिसा गर्न कठिनाइ हुनु
यौनसम्पर्कका क्रममा असहजता हुनु
योनीबाट गन्हाउने वा असामान्य स्राव बग्नु
समयमै उपचार नभएमा समस्या चौथो चरण सम्म पुग्न सक्छ, जहाँ पाठेघर वा अन्य अंगहरू योनीबाहिर नै निस्किन सक्छन्। यसले महिलाको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा गम्भीर असर पुर्याउन सक्छ।
गाउँमा मात्र होइन, सहरमा पनि उत्तिकै समस्या
पाठेघर झर्ने समस्या ग्रामीण क्षेत्रका महिलाहरूमा मात्र हुन्छ भन्ने धारणा अझै पनि पाइन्छ। वास्तवमा ग्रामीण महिलाहरू बढी जोखिममा भए पनि यो समस्या सहरका महिलाहरूमा पनि उत्तिकै देखिन्छ।
अध्ययनहरूले करिब ४० प्रतिशत महिलामा कुनै न कुनै तहको पेल्भिक अर्गन प्रोल्याप्स देखिन सक्ने बताएका छन्, यद्यपि सबैमा लक्षण नदेखिन सक्छ। धेरै महिलाले यसलाई रोगका रूपमा नबुझ्ने, 'बच्चा जन्माएपछि यस्तै हुन्छ' भनेर सामान्य मान्ने वा लाजका कारण उपचारका लागि नआउने गरेको पाइन्छ। कतिपय अवस्थामा अन्य समस्याको जाँचका लागि अस्पताल आएका बिरामीहरूको नियमित स्त्रीरोग परीक्षणका क्रममा मात्रै प्रोल्याप्स भएको पत्ता लाग्ने गरेको छ।
हालै ८० वर्षीया एक महिला मुटुसम्बन्धी समस्याको उपचारका लागि अस्पताल आउनुभएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उहाँमा लामो समयदेखि पाठेघर झरेको समस्या रहेको पत्ता लाग्यो। तर उहाँले वर्षौंदेखि यो समस्या लुकाएर राख्नुभएको रहेछ। यो उदाहरणले महिलाहरू अझै पनि यस्ता समस्याबारे खुल्न कति कठिन महसुस गर्छन् भन्ने स्पष्ट देखाउँछ।
कसरी गरिन्छ निदान?
पेल्भिक अर्गन प्रोल्याप्स रगत वा पिसाबको परीक्षणबाट पत्ता लाग्दैन। यसको निदानका लागि स्त्रीरोग विशेषज्ञ वा युरोगाइनोकोलोजिष्टद्वारा विस्तृत शारीरिक तथा पेल्भिक परीक्षण आवश्यक हुन्छ।
उपचार के छ?
सुखद पक्ष के हो भने पेल्भिक अर्गन प्रोल्याप्सको प्रभावकारी उपचार सम्भव छ। रोगको अवस्था र गम्भीरताअनुसार उपचारका विधिहरू फरक–फरक हुन सक्छन्:
१. पेल्भिक फ्लोर एक्सरसाइज (केगल एक्सरसाइज): सुरुआती चरण (पहिलो र दोस्रो स्टेज) मा किगल एक्सरसाइज अत्यन्त प्रभावकारी हुन सक्छ। यसले पेल्भिक फ्लोरका मांसपेशीलाई बलियो बनाउँदै अंगहरूलाई आफ्नो स्थानमा अड्याउन सहयोग पुर्याउँछ। तर यो व्यायाम प्रशिक्षित पेल्भिक फ्लोर फिजियोथेरापिस्टको निगरानीमा सही तरिकाले गर्नु अत्यन्त आवश्यक छ।
२. रिङ पेसरी : शल्यक्रिया गर्न नमिल्ने वा तत्काल शल्यक्रिया सम्भव नभएका महिलाहरूमा रिङ पेसरी प्रयोग गर्न सकिन्छ। गाउँघरमा यसलाई 'चुरा राख्ने' विधिका रूपमा पनि चिनिन्छ। यो स्थायी उपचार होइन, तर लक्षण कम गर्न र दैनिक जीवन सहज बनाउन उपयोगी विकल्प हो।
३. शल्यक्रिया : तेस्रो र चौथो स्टेज प्रोल्याप्समा सामान्यतया शल्यक्रिया आवश्यक हुन्छ। आधुनिक शल्यक्रिया प्रविधिहरूको प्रयोगबाट प्रभावित अंगलाई पुनः आफ्नो प्राकृतिक स्थानमा स्थापित गरी दीर्घकालीन समाधान प्रदान गर्न सकिन्छ।
भजाइनल भल्ट प्रोल्याप्स पनि उपचारयोग्य छ
कतिपय महिलामा पाठेघर निकालिसकेको वर्षौंपछि योनिको माथिल्लो भाग तल झर्ने समस्या देखिन सक्छ, जसलाई भजाइनल भल्ट प्रोल्याप्स भनिन्छ। धेरै महिलाले यसको पुनः उपचार सम्भव छैन भन्ने सोच्ने गर्छन्। तर आधुनिक युरोगाइनोकोलोजी सेवामार्फत यसको सफल उपचार सम्भव छ।
पेल्भिक अर्गन प्रोल्याप्स महिलाहरूमा अत्यन्त सामान्य तर प्रायः लुकाइने समस्या हो। यो बुढ्यौलीको स्वाभाविक प्रक्रिया वा प्रसूतिपछिको सामान्य अवस्था मात्र होइन, उपचार गर्न सकिने चिकित्सकीय समस्या हो। लाज, संकोच वा डरका कारण समस्या लुकाएर बस्नुको सट्टा समयमै विशेषज्ञसँग परामर्श लिएर उचित उपचार गराउनु आवश्यक छ। समयमै पहिचान र उपचार गर्न सके महिलाले पुनः सहज, आत्मविश्वासी र गुणस्तरीय जीवन बिताउन सक्छन्।
-(युरोगाइनोकोलोजिष्ट डा. केनुशादेवी तिवारी नर्भिक इन्टरनेशनल अस्पतालमा कार्यरत छिन्।)