काठमाडौं- रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उद्धार, उपचार, रोग निगरानी तथा सम्भावित स्वास्थ्य प्रकोप नियन्त्रणलाई एकीकृत रूपमा अघि बढाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्याउन आपत्कालीन चिकित्सा टोलीदेखि मानसिक स्वास्थ्य सहायता, मातृ–नवजात सेवा, शव व्यवस्थापन, पानीको गुणस्तर निगरानी र सम्भावित हैजाको जोखिम नियन्त्रणसम्मका कार्यक्रम सञ्चालनमा छन्।
बाढी आउनुअघि नै गरेको पूर्वतयारीका कारण विपद्पछिको स्वास्थ्य संकटलाई समयमै व्यवस्थापन गर्न सहज भएको मन्त्रालयको भनाइ छ। सम्भावित जोखिमको पूर्वानुमान गरी आवश्यक औषधि, स्वास्थ्य सामग्री, जनशक्ति तथा आपतकालीन स्वास्थ्य संयन्त्र तयारी अवस्थामा राखिएकाले बाढीपछि स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउन नदिन सहयोग पुगेको मन्त्रालयले जनाएको छ।
बाढीपछि तत्कालीन उपचारमा मात्र केन्द्रित नभई दूषित पानीबाट फैलिन सक्ने हैजा तथा अन्य पानीजन्य रोग, संक्रामक रोग, मानसिक स्वास्थ्य समस्या, मातृ तथा नवजात स्वास्थ्य जोखिम र महामारीको सम्भावनालाई समेत ध्यानमा राखेर पूर्वसक्रिय स्वास्थ्य प्रतिकार्य अघि बढाइएको छ।
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइको ६ सेप्टेम्बर २०२६ को स्थिति प्रतिवेदनअनुसार साँझ ५ बजेसम्म विभिन्न स्वास्थ्य संस्थामा बाढी प्रभावित ३२३ जना उपचारका लागि पुगेका छन्। तीमध्ये ६२ जना उपचाररत, २२७ जना डिस्चार्ज र ३० जना अन्य स्वास्थ्य संस्थामा रिफर भएका छन्। उपचारका क्रममा विभिन्न अस्पतालमा चार जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
रसुवा जिल्ला अस्पतालमा सबैभन्दा बढी बिरामी
प्रतिवेदनअनुसार रसुवा जिल्ला अस्पताल धुन्चेमा सबैभन्दा बढी ८१ जना उपचारका लागि पुगेका छन्। तीमध्ये २७ जना उपचाररत छन् भने ५३ जनालाई अन्यत्र रिफर गरिएको छ। एक जना डिस्चार्ज भएका छन्।
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ८० जना बिरामी पुगेकामा ३० जना उपचाररत, ४९ जना डिस्चार्ज र उपचारका क्रममा एक जनाको मृत्यु भएको छ।
राष्ट्रिय ट्रमा सेन्टर महाबौद्धमा ५० बिरामी पुगेका थिए। त्यहाँ ११ जना उपचाररत, एक जना रिफर, ३७ जना डिस्चार्ज र एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
त्रिशूली अस्पताल नुवाकोटमा १८ बिरामीमध्ये एक जना उपचाररत, एक जना रिफर, १५ जना डिस्चार्ज र एक जनाको मृत्यु भएको छ।
नुवाकोटको आयुर्वेदिक अस्पताल पिपलटारमा उपचारका लागि पुगेका २० जना सबै डिस्चार्ज भएका छन्। नर्सिङ तथा सामाजिक सुरक्षा/वीर अस्पतालमा २३ बिरामी पुगेकामा चार जना उपचाररत र १९ जना डिस्चार्ज भएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा १६ जना बिरामी पुगेका थिए भने चार जना उपचाररत र १२ जना डिस्चार्ज भएका छन्। नेपाल एपीएफ अस्पताल बलम्बुमा सात जनामध्ये दुईजना उपचाररत छन्। ग्रिनसिटी अस्पताल टोखामा चार बिरामीमध्ये दुई जना उपचाररत, एकजना रिफर र एक जना डिस्चार्ज भएका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, नर्भिक, शुभम्, ह्याम्स, चिरायु, ग्रान्डी, बी एन्ड बी र आदमघाट अस्पतालमा समेत बाढी प्रभावित बिरामी उपचारका लागि पुगेको प्रतिवेदनमा उल्लेख छ।
सम्भावित हैजासहित पानीजन्य रोगको जोखिममा विशेष निगरानी
बाढीपछि तत्काल देखिने चोटपटक र अन्य स्वास्थ्य समस्यासँगै पानीजन्य तथा संक्रामक रोगको जोखिमलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ।
पछिल्लो २४ घण्टामा २० वटा ज्वरोका केस रिपोर्ट भएका छन्। ज्वरो र खोकीसहितका इन्फ्लुएन्जा-जस्ता रोगका १२ केस तथा तीव्र ग्यास्ट्रोइन्टेराइटिसको एक केस पहिचान भएको छ। ज्वरोसँगै शरीरमा दाना आउने केस भने शून्य रहेको प्रतिवेदनमा उल्लेख छ।
रसुवा र नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा नियमित रोग निगरानी भइरहेको छ। यसका लागि सर्भिलेन्स, आउटब्रेक रेस्पोन्स म्यानेजमेन्ट एन्ड एनालाइसिस सिस्टम प्रयोग गरिएको छ।
स्थानीय तहसँग समन्वय गरी शंकास्पद केसको व्यवस्थापन, प्रतिकार्य र थप जनस्वास्थ्य अनुसन्धान अघि बढाइएको छ।
सम्भावित हैजाको प्रकोप रोक्न रसुवाका लागि २१ हजार डोज ओरल कलेरा भ्याक्सिन ढुवानी गरिएको छ। प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा विशेषगरी बालबालिकामा ज्वरो, झाडापखाला र खोकीजस्ता लक्षणको निगरानीलाई प्राथमिकता दिइएको छ।
प्रदेश सरकारसँगको समन्वयमा प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा पानीको गुणस्तरसमेत निगरानी भइरहेको छ। बाढीका कारण खानेपानीका स्रोत दूषित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै पानीजन्य रोगको जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्ने प्रयास गरिएको मन्त्रालयले जनाएको छ।
२,६८९ जनाले पाए होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा
बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरिएको छ। नुवाकोटमा ११ वटा स्वास्थ्य सेवा टोलीले १५ स्थानमा सेवा दिँदा २,६८९ जना लाभग्राहीले स्वास्थ्य सेवा पाएका छन्।
स्वास्थ्य टोलीले होल्डिङ सेन्टर तथा अस्थायी आश्रयस्थलमा पुगेर स्वास्थ्य परीक्षण, उपचार तथा आवश्यक औषधि उपलब्ध गराएका छन्।
नुवाकोटको विदुर–३, सिर्खालीमा भोटेकोशी बाढी प्रभावित समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरबाट २०० जनाले सेवा लिएका थिए। तीमध्ये १०१ जना ज्येष्ठ नागरिक थिए।
शिविरमा स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श तथा औषधिसहित २५ जनालाई मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको थियो। प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरीका लागि आवश्यक औषधिसमेत उपलब्ध गराइएको छ।
मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता
बाढीले शारीरिक क्षतिसँगै नागरिकमा मानसिक तनाव, त्रास, शोक तथा दीर्घकालीन मनोसामाजिक असर पार्न सक्ने भएकाले मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि प्रतिकार्यको महत्वपूर्ण हिस्सा बनाएको छ।
प्रतिवेदनअनुसार ७ हजार ३५० जनासम्म मनोवैज्ञानिक प्राथमिक सहायता पुर्याइएको छ भने ३ हजार ८१३ जनाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सेवा प्राप्त गरेका छन्।
यसका लागि १५५ जना मानसिक स्वास्थ्यसम्बन्धी जनशक्ति परिचालन गरिएको छ। उनीहरूमा दुईजना मनोचिकित्सक, दुई जना क्लिनिकल साइकोलोजिस्ट तथा १२१ जना काउन्सेलर तथा पीएफए स्वयंसेवक छन्।
२४ घण्टा सञ्चालन हुने मानसिक स्वास्थ्य हेल्पलाइनमार्फत ८६ वटा कलसमेत सम्हालिएको छ।
नुवाकोट, रसुवा, काठमाडौं र धादिङमा एमएचपीएसएस तथा पीएफए सेवा जारी छ। बालबालिका, किशोरकिशोरी तथा प्रभावित परिवारलाई समूहगत परामर्श र मनोसामाजिक सहयोग प्रदान गरिएको छ। विशेषीकृत मानसिक स्वास्थ्य सेवा तथा रिफरल संयन्त्रलाई थप सुदृढ बनाउने कामसमेत भइरहेको मन्त्रालयले जनाएको छ।
मातृ तथा नवजात स्वास्थ्य सेवा अवरुद्ध हुन दिइएन
बाढी तथा विस्थापनका कारण गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सेवा प्रभावित हुन नदिन प्रजनन, मातृ, नवजात तथा बाल स्वास्थ्य प्रतिकार्य योजना तयार गरिएको छ।
परिवार कल्याण महाशाखा, युएनएफपीए तथा साझेदार संस्थाले आवश्यक जनशक्ति र यौन तथा प्रजनन स्वास्थ्य तथा मातृ–नवजात स्वास्थ्य सामग्री परिचालन गरेका छन्।
नुवाकोटका विदुर र किस्पाङ नगरपालिकाका होल्डिङ सेन्टर तथा आपत्कालीन शिविरमा मोबाइल स्वास्थ्य टोली परिचालन गरिएको थियो। टोलीले सामान्य स्वास्थ्य परीक्षण, एएनसी/पीएनसी, परिवार नियोजन, एसटीआई व्यवस्थापन तथा उच्च जोखिमको गर्भावस्था र प्रसूति जटिलताका बिरामीलाई रिफर गर्ने सेवा दिएको थियो।
यी सेवाबाट २७८ जनाले लाभ लिएका छन्, जसमा २०२ महिला र ७६ पुरुष छन्।
शव व्यवस्थापनमा पनि विशेष तयारी
बाढीपछि मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन, पहिचान तथा शव व्यवस्थापनपछि वातावरणीय डिकन्टामिनेसनका लागि विशेष टोली परिचालन गरिएको छ।
स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र (एचईओसी)ले आवश्यक सामग्रीको समन्वय गरेको छ। मृतकको पहिचानमा सहयोग पुर्याउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले १ हजार वटा डीएनए नमुना सङ्कलन कन्टेनर उपलब्ध गराएको छ।
शव व्यवस्थापनका लागि शव ब्याग, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), पोस्टमार्टम तथा फरेन्सिक सामग्री, शव ट्याग, जिपलक ब्याग, रजिस्टर, मार्कर, दाँत निकाल्ने उपकरण तथा डक्ट/वाटर टेपलगायत सामग्री परिचालन गरिएको छ।
११ आपतलीन स्वास्थयका लागि टोली परिचालन
बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्याउन ११ वटा आपतकालीन चिकित्सा टोली परिचालन गरिएको छ। यी टोलीमार्फत ४ हजार ७ सयभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।
प्रभावित क्षेत्रमा औषधि, आईभी फ्लुइड, क्यानुला, ट्रमा तथा घाउ उपचार सामग्री, एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधि, ओआरएस, पीपीई तथा संक्रमण रोकथामका सामग्री, अक्सिजन उपकरण, नसर्ने रोगका औषधि, शव व्यवस्थापन सामग्री तथा मातृ–नवजात स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ।
स्वास्थ्य संस्थामा क्षति, पहुँचमा अवरोध
बाढीका कारण स्वास्थ्य सेवा पूर्वाधारसमेत प्रभावित भएको छ। स्याफ्रुबेँसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य डेस्क रसुवागढी, मेलुङ सामुदायिक स्वास्थ्य इकाइ, बैरेनी अस्पताल, चारौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्र, बैरेनी आयुर्वेद औषधालय, धादिङ अस्पताल र त्रिशूली अस्पताल प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
कतिपय स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति पुगेको छ भने केही स्थानमा सडक तथा पहुँच अवरुद्ध हुँदा सेवा सञ्चालनमै चुनौती देखिएको छ। यस्तो अवस्थामा वैकल्पिक स्वास्थ्य टोली तथा आपत्कालीन आपूर्ति व्यवस्थामार्फत सेवा निरन्तर राख्ने प्रयास गरिएको छ।
बाढीपछि आउन सक्ने स्वास्थ्य संकटका लागि पनि तयारी
मन्त्रालयको प्रतिकार्य तत्कालीन उद्धार र उपचारमा मात्र सीमित छैन। बाढीपछि केही दिन तथा हप्तामा देखिन सक्ने पानीजन्य रोग, संक्रामक रोग, कुपोषण, मानसिक स्वास्थ्य समस्या, चोटपटकका जटिलता तथा मातृ–शिशु स्वास्थ्य जोखिमलाई समेत ध्यानमा राखेर निगरानी र तयारीलाई निरन्तरता दिइएको छ।
दूषित पानी र कमजोर सरसफाइका कारण झाडापखाला तथा हैजा फैलिन सक्ने सम्भावना, भीडभाडयुक्त होल्डिङ सेन्टरमा श्वासप्रश्वासजन्य रोग फैलिन सक्ने जोखिम तथा लामो समयसम्म विस्थापित रहँदा मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलाई मन्त्रालयले प्रतिकार्यको महत्वपूर्ण हिस्सा बनाएको छ।
यसका लागि रोग निगरानी, पानीको गुणस्तर परीक्षण, आवश्यक औषधि तथा ओआरएसको उपलब्धता, ओसीभी तयारी, स्वास्थ्य टोलीको परिचालन तथा स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको छ।
यसरी हेर्दा मन्त्रालयले बाढीपछि ‘बिरामीको उपचार’ मात्र होइन, ‘सम्भावित स्वास्थ्य संकट आउन नदिने’ रणनीतिमा समेत काम गरिरहेको देखिन्छ।
१११५ स्वास्थ्य हटलाइन, १०२ एम्बुलेन्स
विपद्बाट प्रभावित नागरिकका लागि स्वास्थ्य मन्त्रालयले १११५ स्वास्थ्य हटलाइन सञ्चालनमा राखेको छ। यसबाट तत्काल स्वास्थ्य सहायता, चिकित्सकीय उद्धार समन्वय तथा अस्पतालमा बेडको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ।
त्यस्तै आपत्कालीन उद्धार तथा उपचारका लागि प्रभावित क्षेत्रमा १०२ नम्बरमार्फत एम्बुलेन्स परिचालन गरिएको छ।
रसुवा बाढीपछि स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिकार्यले तत्कालीन उद्धार र उपचारसँगै रोगको सम्भावित प्रकोप रोकथाम, पानी तथा खाद्य स्वच्छता, मानसिक स्वास्थ्य, मातृ–नवजात स्वास्थ्य र महामारीपूर्व तयारीलाई समेत समेटेको छ।