काठमाडौं - मेडिकल व्यवसायी तथा उद्यमी खुमा प्रसाद अर्याल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश खुलातर्फ तीन पदका लागि भएको निर्वाचनमा अर्यालले २ हजार २८७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल लामो समयदेखि कांग्रेसको राजनीति, स्वास्थ्य शिक्षा, उद्योग तथा सामाजिक क्षेत्रमा सक्रिय छन्। उनले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पार्टीभित्र उनले कार्यवाहक कोषाध्यक्ष र आर्थिक संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी यसअघि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए।
पेशागत रूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका अर्याल स्वास्थ्य तथा मेडिकल शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवसायीका रूपमा परिचित छन्। उनी युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस), भैरहवा, गण्डकी मेडिकल कलेज, पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज तथा सञ्जीवनी मेडिकल कलेजलगायतका स्वास्थ्य शैक्षिक संस्थामा लगानीकर्ताका रूपमा संलग्न छन्।
स्वास्थ्य र शिक्षाबाहेक अर्यालको लगानी कृषि, कुखुरापालन, खाद्य उत्पादन तथा अन्य उत्पादनमूलक क्षेत्रमा पनि विस्तार भएको छ। उनले स्याङ्जामा आधुनिक पोल्ट्री फार्म र जनकपुरमा लेयर्स फार्म सञ्चालन गरेका छन्। विभिन्न व्यवसायमार्फत रोजगारी सिर्जना गर्नुका साथै उनले ‘खुमा अर्याल फाउन्डेसन’ मार्फत शिक्षा, स्वास्थ्य, रोजगारी र खेलकुदका क्षेत्रमा सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आएका छन्।
कांग्रेसको केन्द्रीय नेतृत्वमा पुगेका अर्यालले आफ्नो व्यावसायिक अनुभवलाई पार्टीको आर्थिक व्यवस्थापन, आर्थिक सुशासन, उद्यमशीलताको विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका नीतिगत विषयमा उपयोग गर्ने बताएका छन्