काठमाडौं- विश्व एन्डोडोन्टिक दिवसको अवसरमा कन्जर्भेटिभ डेन्टिस्ट्री एन्ड एन्डोडोन्टिक्स एसोसिएसन अफ नेपाल (सीडीईएएन) ले शुक्रबार काठमाडौंमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
अक्टोबर १६ अर्थात् विश्व एन्डोडोन्टिक दिवसका अवसरमा खुलामञ्चमा योग तथा जुम्बा कार्यक्रम गरिएको थियो। त्यसपछि आयोजित प्रभातफेरी आर्मी अफिसर्स क्लब पुगेर समापन भएको थियो।
‘स्वस्थ दन्त चिकित्सक, स्वस्थ अभ्यास : आज आत्महेरचाह, भोलि उत्कृष्ट बिरामी सेवा’ भन्ने नाराका साथ आयोजित कार्यक्रमले दन्त चिकित्सकको शारीरिक तथा मानसिक स्वास्थ्य, आत्महेरचाह र मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिएको थियो।
एसोसिएसनका अध्यक्ष प्रा. डा. रीमा जोशीका अनुसार नेपालमा हाल करिब ९० जना एन्डोडोन्टिस्ट अर्थात् दाँतको जरासम्बन्धी उपचारका विशेषज्ञ छन्। तीमध्ये ८७ जना एसोसिएसनमा आबद्ध छन्।
एसोसिएसनका महासचिव डा. समा प्रधानले व्यस्त पेसागत जीवनका बीच दन्त चिकित्सकले आफ्नो स्वास्थ्य र शारीरिक तन्दुरुस्तीलाई पनि प्राथमिकता दिनुपर्ने बताइन्। चिकित्सकको शारीरिक तथा मानसिक स्वास्थ्यले बिरामीलाई प्रदान गरिने उपचार सेवाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
कार्यक्रम संयोजक तथा कार्यसमिति सदस्य डा. वर्षा जोशीका अनुसार कार्यक्रमले व्यावसायिक जिम्मेवारीसँगै व्यक्तिगत स्वास्थ्य र तन्दुरुस्तीमा ध्यान दिनुपर्ने सन्देश प्रवाह गरेको छ।
कन्जर्भेटिभ डेन्टिस्ट्री एन्ड एन्डोडोन्टिक्स एसोसिएसन अफ नेपाल दाँतको संरक्षण, जराको नलीको उपचार (रुट क्यानल) तथा आधुनिक एन्डोडोन्टिक उपचार पद्धतिको प्रवर्द्धनमा क्रियाशील संस्था हो। एन्डोडोन्टिक्स दन्त चिकित्साको यस्तो विधा हो, जसले दाँतको भित्री भाग, दन्तमज्जा तथा जरासम्बन्धी रोगको निदान र उपचारमा केन्द्रित भएर काम गर्छ।

-1792132509.jpeg)

-1792132509.jpeg)