काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न सरकारले काम गरिरहेको बताएका छन्।
शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको प्रयोग बढाउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
प्रधानमन्त्री शाहको शुभकामना सन्देश प्रहरी महानिरीक्षक कार्कीले वाचन गरेका थिए।
सन्देशमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम तथा पूर्वाधारका क्षेत्रमा थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले आन्तरिक शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्नेमा जोड दिएका छन्।
‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ। प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बुद्धिमत्ता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ,’ सन्देशमा भनिएको छ।
प्रधानमन्त्री शाहले प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मित्रराष्ट्र तथा विकास साझेदारहरूप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।